आईसी ८१४ विमान अपहरणको २० वर्ष- ‘मर्छु भन्ने लागेपछि श्रीमतीले टीका लगाइदिन भनिन्’
“प्लेन अपहरणमा परेको भनिसकेपछि मेरो दिमागमा अब ‘कमाण्डो एक्सन’ हुने भयो भन्ने डर लाग्न थाल्यो। यस्तो एक्सनमा को मर्छ, बाँच्छ टुंगो हुँदैन। फेरि हामी दुई जना छौं, कसलाई के होला भन्ने तनाव हुन थाल्यो।”
सूचना प्रविधिको क्षेत्रमा झण्डै १२ वर्षदेखि नेपाल जस्तो अल्पविकसितदेखि विकसित मुलुकहरूमा ‘आउटसोर्सिङ’को काम गरिरहेको कम्पनी हो, एस्ट्रोइड भेञ्चर। यसका प्रमुख कार्यकारी अधिकृत हुन् सञ्जय धिताल।
प्रवेशिका उत्तीर्ण गरेलगत्तै गोरखाबाट काठमाडौं आएका धितालले अन्ततः यतै भविष्य सुरक्षित गरे। उनी अहिले आमा, श्रीमती (रोजिना पाठक), एक छोरा र एक छोरीसँग ललितपुर भैंसेपाटीमा बस्छन्।
११ पुस (डिसेम्बर २७) मा एस्ट्रोइड भेञ्चर कार्यालयमा भेट्दा धिताल गौतम बुद्धको ध्यानस्थ तस्वीरमुनि ल्यापटपमा शान्त देखिन्थे। तर, २० वर्षअघि आजकै दिन उनी र २७ दिनअघि मात्र अर्धाङ्गिनी बनेकी श्रीमती जीवनमरणको सँघारमा थिए।
धिताल दम्पती तिनैमध्येका थिए, जो सन् १९९९ को डिसेम्बर २४ को साँझ काठमाडौंबाट १७१ यात्रु (५ अपहरणकारीबाहेक) र १५ विमान कर्मचारीसहित दिल्लीका लागि उडेको इन्डियन एअरलाइन्सको आईसी–८१४ विमानका यात्री थिए। जुन विमानलाई इस्लामिक बन्दुकधारीले अपहरण गरेका थिए। बदलामा उनीहरु भारतीय जेलमा रहेका आफ्ना सदस्यहरुको रिहाइ चाहन्थे, जसमा एक मौलाना मसुद अजहर थिए।
अपहरणको आठौं दिनमा अपहरणमुक्त भएर दिल्ली हुँदै काठमाडौं आइपुगेका आठ नेपालीमध्येका धितालले लगत्तै हिमाल पाक्षिक (१–१५ माघ २०५६) का लागि शिव गाउँले र मनीष गौतमसँग कष्टसाध्य आठ दिनको अपहरण डायरी सुनाएका थिए।
एक नवदम्पतीको डायरी, बन्धक हुँदाका आठ दिन
दुई दशकपछि हामीले फेरि धिताललाई पुराना कुरा सम्झन आग्रह गर्याैं, जुन उनको स्मृतिबाट शायदै मेटिनेछ। “तर, समय र कामको प्राथमिकताले कतिपय कुरा आफेसआफ दिमागबाट हराएर जाने रहेछ”, यसो भन्दाभन्दै उनले छोटो कुराकानीमा पहिले नबताएका कतिपय नयाँ कुरा पनि गरे, जसले धार्मिक अतिवादको अवधारणामा जटिल बन्दै गएको दक्षिणएशियाको भूराजनीतिक इतिहासको एउटा दुर्लभ घटना बुझ्न थप सघाउ पुर्याउनसक्छ।
पढौं धितालको कथन उनकै शब्दमाः
क्रिसमस इभको ‘ठट्टा’
त्यो वेला म आम्दा (एशोसिएसन अफ मेडिकल डक्टर्स अफ एशिया) कर्मचारीका रुपमा पाकिस्तान र अफगानिस्तानमा काम गर्थें। पाकिस्तानको पेशावरमा बेस अफिस थियो। अफगानिस्तानमा नौ वटा क्लिनिक सञ्चालन गरिरहेका थियौं। अफगान शरणार्थी शिविर र पाकिस्तानका आन्तरिक शरणार्थीको उपचारमा पनि खटिएका थियौं।
बिहे गर्न एक महीनाको छुट्टी लिएर म नेपाल आएको थिएँ। बिहे १५ मंसीरमा भयो। ९ पुसमा श्रीमतीसँगै पेशावर जान पाकिस्तान इन्टरन्याशनल एअरलाइन्स (पीआईए) को टिकट खोजे। तर, पाइएन। ट्राभल एजेन्सीले दिल्ली हुँदै लाहोर अनि पेशावर जाने टिकट थमाइदियो। दिल्ली हुँदै म पहिलो पटक पाकिस्तान जाँदै थिएँ।
पीआईएको टिकट नपाइनु, बिदा गर्दा दिदीले लगाइदिएको माला चुँडिनु, दिउँसो १ः५० मा उड्नुपर्ने प्लेन ४ः३० बजे मात्र उड्नु, अहिले सम्झँदा त्यो संयोग मात्रै थिएन कि जस्तो लाग्छ।
प्लेनमा हामी जस्तै नवविवाहिता भारतीय जोडी धेरै देखिन्थे। महिलाहरू गहनाले सजिएका, मेहन्दीले रंगिएका थिए। शायद नेपालमा हनिमून मनाएर फर्किएका थिए।
झण्डै ५ बजेको थियो। एयर होस्टेजहरू खानेकुरा र पानी ‘सर्भ’ गरिरहेका थिए। हामीले खान मात्रै के लागेका थियौं, एक्कासी ‘हेड डाउन, डन्ट मुभ’ भन्ने आवाज आयो।
अचानक खैलाबैला मच्चियो।
मुख छोपेका र हातमा चक्कु, पिस्तोल बोकेका चार/पाँच जनाले हिन्दी र अंग्रेजी मिश्रित भाषामा थर्काइरहेका थिए। उनीहरूले भने जस्तो नगरे मार्ने धम्की दिइरहेका थिए।
मलाई लाग्यो, क्रिसमस इभको दिन केही छुल्याहा भारतीयहरू ठट्टा गरिरहेका छन्, बाँकी यात्रुलाई मनोरञ्जन दिलाउन चाहिरहेका छन्। बढीसेबढी उनीहरू लुटेरा पो हुन् कि भन्ने पनि लागेको थियो। तर, १० मिनेटजति पछि पाइलटले ककपिटबाट प्लेन अपहरणमा परेको बताएपछि सबै खर्ल्याङखुर्लुङ भए।
रुवाबासी चल्यो। तर, अपहरणकारीहरूले आवाज निकाले ‘सुट’ गर्ने बताएपछि सुँक्क सुँक्क हुन थाल्यो। अपहरणकारीले एयर होस्टेस र अन्य फ्लाइट कर्मचारीलाई सबै यात्रुका आँखामा पट्टी बाँध्न अह्राए। एयर होस्टेसले हतार हतार सिटको कभर निकालेर मेरो आँखामा बाँधिदिइन्।
प्लेन अपहरणमा परेको भनिसकेपछि मेरो दिमागमा ‘कमाण्डो एक्सन’ हुने भयो भन्ने डर लाग्न थाल्यो। यस्तो एक्सनमा को मर्छ, बाँच्छ टुंगो हुँदैन। फेरि हामी दुई जना छौं, कसलाई के होला भन्ने तनाव हुन थाल्यो।
रातभरि प्लेन यता, उता गरिरह्यो। घरि एक्कासी रोकिन्थ्यो, घरि उड्थ्यो। तर, चौथो पटक रोकिएपछि प्लेन उडेन।
पट्टी अलिकति खोलेर हेर्दा घडीमा बिहानको ९ बजेको थियो। हामी कहाँ छौं, किन अपहरणमा पर्यौं, केही थाहा थिएन।
मैले २४ तारिख नै जसरी भए पनि पेशावर पुगेर क्रिसमसअघि नै कर्मचारीलाई तलबभत्ता, छुट्टीको व्यवस्था गर्नुथियो। म अपहरणमा परेको उनीहरुले थाहा पाए, पाएनन्। मैले एक पटक आफ्ना सारा कर्मचारी र साथीहरु सम्झिएँ।
क्रिसमसको त्यो रात १० बजे अपहरणकारीहरुले कडा खालको भात र गेडागुडी दिए। त्यसपछि पट्टी लगाउनु परेन।
२६ तारिख दिउँसो एक बजेतिर रोटी खान दिए। अफगानिस्तानमै काम गर्ने भएकोले मलाई थाहा भयो, यो अफगानी रोटी हो। चम्चामा पनि काबुल एअरलाइन्स लेखिएको थियो। मलाई थाहा भयो, हामी अफगानिस्तानमा छौं।
भोलिपल्ट पहिलो पटक अपहरणकारीले ठूलो स्वरमा आफूहरू कश्मीरी भएको र भारत सरकारसँग माग अघि सारेको कुरा सुनाए। भारत सरकारले आफ्नो मागलाई वास्ता नगरिरहेको र यस्तै गरिरहे जहाजमा भएका सबैलाई एक एक गर्दै मारेर आफूहरु पनि मर्ने बताए।
दिउँसोतिर भने इस्लामावादबाट संयुक्त राष्ट्रसंघका कूटनीतिज्ञ र भारतबाट समेत कूटनीतिज्ञको टोली वार्ताका लागि आउँदै गरेको उनीहरुबाटै सुनियो। हामी बाँच्ने आशाले एकाएक खुशी भयौं।
गब्बर सिंह र कश्मीरी पण्डित
चौथो दिन बाँच्ने थोरै आशा पलाएपछि अपहरणकारी पनि केही रमाइलो मुडमा देखिए। तीमध्ये शंकर नामका अपहरणकारीले नेपाली यात्रु गजेन्द्र ताम्राकारलाई ‘गब्बर सिंह’ भन्दै गब्बरको संवाद बोल्न लगाए। शोले फिल्ममा गब्बर सिंहको हातमा बन्दुक हुन्छ। यहाँ भने अपहरणकारीकै गोलीबाट जीवन अहिले हो कि भोलि हो भन्ने गजेन्द्र गब्बर बनाइए।
तर, जिउ पनि झण्डै गब्बर सिंहकै जस्तो भएका हाम्रा गजेन्द्रले गब्बरकै संवाद भनेर निकै हँसाए। उनले बोल्न थाले कि हामी हाँस्थ्यौं। हाँस्दा बिर्सन्थ्यौं हामी कुन स्थितिमा र कहाँ छौं। हाँसो रोकिएपछि पो झल्याँस्स हुन्थ्यौं।
त्यसको भोलिपल्ट शायद गजेन्द्र उत्साहित भएर अपहरणकारीकै सामु उनीहरुकै ‘क्यारिकेचर’ गरिरहेका थिए। तर, जब ‘भाेला ऐसा बोलता है’ भन्दै नक्कल गर्न थाले, भाेलाले उनलाई आफ्नो पेस्तोलको पछाडिपट्टिको भागले टाउकोमा जोडसँग हिर्काए। त्यसपछि गजेन्द्रको ‘गब्बर सिंह’ गायब भयो।
सातौं दिन वार्ता विफल भएको भन्दै अब एकएक गरी सबैलाई मार्ने घोषणापछि अपहरणकारीले मृत्यु अघिको अन्तिम भोज खुवाउने भए। ‘मर्नु अघि टन्न खाएर मर’ भन्दै खान चाहनेलाई हात उठाउन आग्रह गरियो। तर, कसैको हात उठेन, सिवाय गजेन्द्र। उनले एउटा सिङ्गै चिकेन ढुक्कसँग खाए। गब्बर बनाइएका हाम्रा गजेन्द्र साँच्चै जब्बर रहेछन्।
हाम्रो सिट पछाडि दुई युवा कश्मीरी पण्डित थिए। एकजना भने सधैं बोलिरहने। मलाई सधैं ‘बताओ न् ये लोग कब छोडेंगे?’ भनेर सोधिरहन्थे। पटक पटक सोधेपछि मलाई सारै झर्को लाग्यो। अनि मैले ‘ससुराली आएको हो र, अपहरणमा परेका हौं’ भन्दै के झोंकमा ‘१० दिनसम्म छाड्दैनन्’ भनेछु। त्यो सुन्नेबित्तिकै यसो पछाडि हेर्छु त केटो बेहोश भइसकेछ। यात्रुमध्येकै एक डाक्टरले उनलाई उपचार गर्नुपर्यो।
हाल तो बुरा हे ना?
एक जापानी महिला थिइन्, तनावले सधैं चुरोट पिइरहने। फोटो खिचिरहने। अपहरणकारी पनि उनको व्यवहारले दिक्क भइसकेका रहेछन्। सबैलाई आआफ्नो क्यामेरा बुझाउन भने।
सबैको ब्याग बिजनेश क्लासमा राखिएको थियो। म पनि आफ्नो झोलाबाट क्यामेरा निकाल्न गएँ। क्यामेरा निकाल्दा उनीहरुले झोला पनि हेरे, त्यहाँ दुई हजार जति पाकिस्तानी नोट थियो। अर्को अपहरणकारीले सोधिहाल्यो, ‘तिमी पाकिस्तानी हौ?’
मैले ‘होइन, त्यहाँ काम मात्र गर्ने’ बताएँ।
उसले पासपोर्ट हेर्यो, पाकिस्तान र अफगानिस्तानको भीसाका छाप देखेर होला, पासपोर्ट राखेर आफ्नो सिटमा गएर बस्न भन्यो।
पाँच मिनेटजति पछि सोझै मकहाँ आएर ‘चिफले बोलाउनुभएको छ, आऊ’ भन्यो। श्रीमती अत्तालिइन्। अब मार्ने भयो भन्ने उनलाई लाग्यो। रुन थालिन्। मैले सम्झाएँ। तर हुनेवाला के छ, मलाई पनि थाहा थिएन।
अपहरणकारीका चिफ ककपिटमा बसेका थिए। मलाई छेवैमा बस्न भने, ‘क्या हाल है’ भनेर सोधे। मैले जवाफ दिनै नपाई फेरि ‘हाल तो बुरा हे ना?’ भने।
म केही बोलिनँ।
उनले मलाई आफूहरुको समुदायका लागि काम गरिरहेकोमा धन्यवाद दिए। भारतसँग वार्ता भइरहेको र थप सूचना आए सुनाउने पनि बताए। र अन्तिममा, मलाई राम्रो व्यवहार गर्न अर्का अपहरणकारीलाई निर्देशन दिए।
अमृत सुन्तला
मान्छेले भोक सहन सक्दो रहेछ, तर तिर्खा सहन पटक्कै नसक्ने रहेछ। अपहरणमा परेपछि यो कुरा अनुभूति भयो।
छैटौं दिन वार्ता भइरहेकाले अपहरणकारी पनि केही आशावादी थिए। राति हामीलाई चिकेन चिल्ली, अरु खानेकुरासँगै सुन्तला पनि दिए।
सुन्तला खाँदा मलाई अमृत पाएको जस्तो लाग्यो, अहो कति रसिलो ∕ जीउमा तत्क्षण स्फूर्ति आए जस्तो भयो। सुन्तलासँगै बोक्रा पनि चपाएँ।
पानी माग्दा कहिले सोडा, कहिले बियर दिन्थे। म बियर नपिउने।
‘अपहरणबाट छुटेपछि के गर्छु जस्तो लाग्यो?’ मान्छेहरुले यो प्रश्न मलाई धेरै पटक सोधेका थिए। तर, त्यो वेला मेरो मनमा एउटै कुरा कुरा थियो–अपहरणबाट छुटिहाले सबैभन्दा पहिले एक बोतल पानी एकै सासमा घटघट पिउँछु।
मृत्यु प्रवचन
पाँच अपहरणकारीका कोड नाम थिए– मेनेजर (चिफ), शंकर, बर्गर, भोला र डाक्टर। तीमध्ये डाक्टर अलि नरम जस्तो देखिन्थ्यो। तर, उसको काम भने अचम्मको थियो। ऊ हरेक दिन करीब एक घण्टा हामीलाई मृत्युबारे प्रवचन सुनाउँथ्यो।
ऊ भन्थ्यो, “दुनियाँमा मान्छेलाई केवल तीन चीजको चाहना हुन्छ– एउटा शक्ति, अर्को पैसा अनि आफ्नी श्रीमतीको जवानी। दुई चीज त मानिसले हासिल गर्न सक्छ, तर तेस्रो केही गरे पनि सक्दैन। तर, त्यो चीज पनि जन्नत (स्वर्ग) मा मात्र सम्भव छ।”
श्रीमतीको जवानीको मात्र कुरा गर्दा मलाई यिनीहरु महिलालाई ‘मान्छे’ नमान्ने रहेछन् जस्तो लाग्यो।
अब हामी सबै मर्नुपर्ने पनि हुनसक्ने भएकाले तयार रहन ऊ बारम्बार आग्रह गर्थ्याे।
भक्कानो फुटेको क्षण
सातौं दिनले निराशा लिएर आयो। बिहान साढे आठ बजेतिर बर्गर नामका अपहरणकारी हातमा माइक लिएर आयो। अनुहार न्याउरो पार्दै भन्यो, “हिजो राति १२ बजे वार्ता विफल भयो। भारत सरकारले हाम्रो माग स्वीकारेन। तिमीहरुको अनुहार हेरेर हामीले न्यूनतम मागमै सहमति जनाउने विचार गरेका थियौं। तर, तिमीहरुको सरकारले नै तिमीहरुलाई बचाउन चाहेन। हामी एकैछिनमा एक एकलाई गोली ठोक्न थाल्छौं। कोही पनि नरुनू, अल्लाहको नाम लिनू।”
एकाएक यस्तो खबरले सबैमा सन्नाटा छायो। अब मरिने पक्का भयो भन्ने लाग्यो।
एकैछिनमा एके ४७ लिएर दुई अपहरणकारी देखिए।
यस्तो वेला मलाई चाहिं कोबाट शुरु गर्ने होलान्, कताबाट मार्न शुरु गर्लान्, गोली लागेका मान्छे एकै पटक त मरिहाल्दैन, त्यसलाई कसरी हेर्नु, फेरि हामी त बीचतिर छौं, अगाडिबाट मार्दै आउँछन् कि के गर्छन्, हामी दुईमध्ये पहिले कसलाई मार्छन्, दुबैलाई एकैचोटि मारिदिए त हुने जस्ता सोचाइ आउन थाले। बरु फ्याट्ट मरिहाले केही थाहा नहुँदो हो, तर ‘म अब मर्दैछु’ भनेर पर्खिने स्थिति कस्तो हुन्छ, त्यसको कल्पना शायद त्यसै वेला मात्र हुनसक्छ।
एकाएक भक्कानो फुटेर आँखा भरियो।
त्यही वेला मेरी श्रीमतीले सानो ब्यागबाट टीका लगाउने पेन्सिल जस्तो निकालेर आफूलाई टीका लगाइदिन भनिन्। मरिने नै हो भने श्रीमान्को हातबाट रातो टीका लगाएरै मरौं भन्ने उनलाई लाग्यो होला।
मैले टीका लगाइदिएँ। अनि त आफूलाई थाम्नै सकिनँ। हामी एकसाथ रोयौं।
‘ब्याड पिपल विथ गुड म्यानेजमेन्ट’
अपहरणकारी खराब हुन्। तर, उनीहरुको व्यवस्थापन र व्यवहार भने सोचेजति खराब थिएन।
जहाजमा धेरै नवविवाहिता जोडी थिए। जे पनि गर्नसक्थे। तर, केही नराम्रो गरेनन्। तिमीहरु मरेमा हाम्रो बाध्यता हो भन्थे। जहाजमा तेल हाल्न नदिएकै कारण हुनसक्छ, उनीहरुले दबाब दिन भारतीय युवा रुपन कत्याललाई छुरा प्रहार गरे। तर, मार्ने नै उद्देश्य थिएन जस्तो मलाई लाग्छ।
सातौं दिन अबेर वार्ता सफल भएको सूचना सुनाए। जेलमा रहेका आफ्ना ४० जना साथीमध्ये तीन जनालाई मात्र छाड्न भारत राजी भए पनि ‘तिमीहरुको अनुहार हेरेर सहमति गरेको’ उनीहरु बताइरहेका थिए। भोलि सबैलाई मुक्त गर्ने उनीहरुले घोषणा गरे।
अन्तिम दिन अर्थात् डिसेम्बर ३० बिहानै सबैको अनुहार उज्यालो थियो। अपहरणकारीहरुले आफूलाई माफी गरिदिन पटकपटक आग्रह गरे। हामीलाई सामूहिक रुपमै माफी गरिदियौं भन्न पनि लगाए।
त्यसपछि वार्ता सफल बनाउन अफगानिस्तानको तालिबान सरकारको विशेष भूमिका भएको बताउँदै सामूहिक उपहार दिन आग्रह गरे। यसका लागि एकैछिनमा झण्डै ७१ हजारजति भारु उठ्यो।
कस्तो उपहार दिने त? एकैछिन छलफल भयो।
अन्त्यमा, अपहरित इन्डियन एयरलाइन्सको ‘डमी’ बनाएर दिने कुरा भयो। तर, यस्तो डमी अफगानिस्तानमा बन्ने सम्भावना थिएन। त्यसैले दुई जना भारतीयलाई झण्डै १८\२० हजार पनि दिइयो। बचेका पैसा कान्दाहारकै अस्पतालमा सहयोगस्वरुप दिन मलाई जिम्मा दिए।
तर, छुटेर दिल्ली आइसकेपछि भारतीयहरु यो झमेलामा पर्न चाहेनन्।
अपहरणपछि नेपाल सरकारकै आग्रहमा हामी काठमाडौं फर्कियौं। सबै नेपालीले यति धेरै माया गरे, त्यस्तो माया पाउन दुर्लभ नै हुन्छ। त्यहाँ जात, धर्म, वर्ग थिएन, नेपाली मात्र थियो।
काठमाडौं बसेको दुई सातापछि म र श्रीमती पेशावर जाने भयौं। तर, यस पटक सीधै पीआईएको टिकट लियौं।
प्लेन खाना ‘सर्भ’ गर्न लाग्दा भने त्यस वेला पनि झसंग भइयो।
कराँचीमा विमानको ‘डमी’ बनाउन दिएको थिएँ। तर, टिनको बनाएछन्। त्यसपछि लाहोरमा अर्को डमी बनाउन लगाएँ।
त्यहीबेला आम्दाले आफ्नो कार्यक्रम ‘पुलआउट’ गर्ने घोषणा गर्यो। अफिस बन्द गर्ने चटारो आइलाग्यो।
मैले पाकिस्तानस्थित अफगानिस्तानको कसुन्लेट अफिसमा डमी हस्तान्तरण गर्ने सोच बनाएँ। कन्सुलरसँग कुरा पनि गरेँ। तर, यसो गर्न पनि भ्याइनँ। अन्त्यमा त्यहीँका आम्दाका कर्मचारीलाई हस्तान्तरण गर्न आग्रह गरेर फर्किएँ।
दुई पटक डमी बनाएर बाँकी रहेको झण्डै २३ हजारजति भारु पेशावरस्थित एक अस्पताललाई हस्तान्तरण गरेँ। र, अपहरणको एक वर्षपछि सन् २००० को नोभेम्बरमा पाकिस्तान छाडेँ।
अपहरणपछिको जीवन
धेरैले सोध्छन्, तपाईंलाई त्यो वेला कस्तो अनुभूति भयो? तर, म बताउन सक्दिनँ। किनकि अपहरणमा पर्दा हुने अत्यासलाग्दो अनुभूति बताएर बुझाउन सकिंदैन।
म यति मात्र बताउन सक्छु, त्यहाँबाट बाँचेर फर्किन्छु भन्ने कदापि लागेको थिएन।
म अहिले ५२ वर्ष लागेँ, श्रीमती ४१। छोरा १७ वर्षमा हिंड्दैछ, छोरी १२ वर्षकी भई। छोराछोरी हेर्छौं अनि लाग्छ, त्यो वेलै मरिहालेको भए धर्तीमा यिनीहरुको अस्तित्व हुने नै थिएन। कहिलेकाहीं छोरोछोरी पनि यस्तै कुरा गर्छन्।
हामी श्रीमान्–श्रीमती चाहिँ टीका लगाइदिएको त्यही घटना सबैभन्दा बढी सम्झँदा रहेछौं, जसले अहिले पनि भावुक बनाउँछ, केही बोल्नै नसक्ने हुन्छौं।
२० वर्षअघिको त्यो घटनाले मलाई इमान्दारीको महत्व बुझायो। जीवन आफ्ना लागि मात्रै होइन भन्ने पनि बुझायो। महत्वाकांक्षा र स्वार्थको हद र सीमितता पनि बुझायो।
त्यसैले पनि हुनसक्छ, त्यस यता मैले स्वदेशमै बसेर काम गर्ने निधो गरेँ। अहिले जे जति गर्न सकिरहेको छु, त्यसमा सन्तुष्ट छु।
याे पनि पढ्नुहाेस्–
नेपाल : भारत—पाकिस्तान द्वन्द्वको शिकार !