अपाङ्गता भएकाहरूको हस्तकला प्रदर्शनी
प्रदेश १ का विभिन्न जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूले उत्पादन गरेका हस्तकलाको विराटनगरमा प्रदर्शनी गरिएको छ ।
१५ वटा स्टलमा राखिएको प्रदर्शनी ५ हजार जनाले अवलोकन गरेका थिए । सामाजिक विकास मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले संयुक्त रूपमा गरेको प्रदर्शनीमा सजावटका सामग्रीहरू बढी राखिएको थियो ।
राष्ट्रिय अपांग महासंघ प्रदेश १ का कार्यक्रम अधिकृत विमल बस्नेतका अनुसार, रु ८० देखि रु ५ हजारसम्म मूल्य पर्ने हस्तकलाका सामग्री प्रदर्शनी मार्फत बिक्री भएका छन् ।
यस्ता उत्पादनलाई प्रयोगकर्ताले माया गरे अपाङ्गता भएका व्यक्तिहरूको जीविकोपार्जन उक्सने बस्नेतले बताए । राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ की अध्यक्ष पार्वता श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूका उत्पादनलाई बजारीकरण गराउने उद्देश्यले प्रदर्शनी गरिएको बताइन् ।
प्रदर्शनीमा सालको पातबाट बनाइएका सजावटका सामग्रीहरू गमला, घैला, करुवा, ठेकी, पिंजडा तथा हातले बनाइएका जुत्ता, चप्पल पनि राखिएको थियो ।
प्रदेश १ सरकारले अपाङ्गता भएका व्यक्तिहरूका कलात्मक उत्पादनलाई बिक्रीमा सहयोग गर्न विराटनगरमा बिक्री केन्द्र स्थापना गर्ने भएको छ ।
चालु आर्थिक वर्षभित्रमा बिक्री केन्द्र स्थापनाको आश्वासन सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको कार्यक्रम अधिकृत बस्नेतले बताए । यस्ता उत्पादनले बजार नपाइरहेको अवस्थामा बिक्री केन्द्र स्थापना भए अपाङ्गता भएका व्यक्तिहरू व्यावसायिक हुँदै जाने उनी बताउँछन् ।
आइतबार सकिएको तीनदिने प्रदर्शनीमा रु ३ लाखको कारोबार भएको छ । अपाङ्गता भएका व्यक्तिहरूका उत्पादन अरुका उत्पादन भन्दा कमजोर नभए पनि प्रचारको कमीले कारोबार कम भएको आयोजकले जनाएको छ ।