विप्लव समूहका नेता कार्यकर्ता हतियार र विस्फोटक पदार्थसहित पक्राउ
प्रदेश १ का मोरङ, सुनसरी र ताप्लेजुङबाट प्रहरीले भूमिगत नेकपा विप्लव समूहका केन्द्रीय नेतासहित ६ जनालाई हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको छ ।
मोरङमा पक्राउ परेका तीन जनालाई आइतबार मोरङ प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैंचा १० निवासी पार्टीको जिल्ला इन्चार्ज कृष्ण चौलागाईं (५०), विराटनगर ८ निवासी जिल्ला सदस्य क्षितिज पौडेल (३०) र पथरी शनिश्चरे ३ का चिरञ्जीवि धिताल (५६) छन् ।
चौलागाईं र पौडेल दुई दिन अघि र धिताल आइतबार पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार, उनीहरू विभिन्न ठाउँमा गरिएको बम विस्फोटनमा संलग्न थिए ।
उनीहरूलाई पक्राउ गरिएपछि लुकाएर राखेको कटुवा पेस्तोल र ब्रिटिस ३०३ लेखिएको दुई राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।
चौलागाईंको साथमा ५ थान मोबाइल र १२ थान सिमकार्ड फेला परेको प्रहरीको भनाइ छ । जिल्ला इन्चार्ज चौलागाईंले गत २१ भदौमा इटहरीको गोदावरी बोर्डिङ स्कूल र २३ भदौमा झापा बिर्तामोडको सहारा नेपाल सहकारीमा विस्फोट गराएको प्रहरीले दाबी गरेको छ । धितालको साथबाट प्रहरीले २ हजार १ सय थान पार्टीका प्रचार सामग्री फेला पारेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका चन्द्रबहादुर बस्नेत (३१) लाई कटुवा पेस्तोल र विष्फोटक पदार्थ सहित पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले बस्नेतको घरबाट पेस्तोल, इलेक्ट्रिक डेटोनेटर ७ थान, नन इलेक्ट्रिक डेटोनेटर १७ थान, टाइम सेटिङ डिभाइस, रिमोट कन्ट्रोल सेट ३ थान बरामद गरेको छ ।
यस्तै ब्याट्री सेट २ थान, जिलेटिन ५४ थान, सेफ्टी फ्युज वायर साढे ३ फिट र दस्तावेजहरू पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ । यसैगरी सुनसरी बराहक्षेत्रबाट हतियार सहित विप्लव समूहकी केन्द्रीय नेतृ उमा भुजेललाई शुक्रबार पक्राउ गरेको छ ।
गोरखा अजिरकोट काफल डाँडा निवासी भुजेललाई १ थान रिभल्बर र ५ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरीले बताएको छ । स्कूटरमा पछाडि बसेकी भुजेल र चालक झापा दमक बेलडाँगीका सुमनसिंह पौडेल (३०) लाई चेकजाँचका क्रममा पेस्तोल पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।