विराटनगरमा खुला सडक दौड प्रतियोगिता हुने
मदन भण्डारी स्पोर्टस् एकेडेमीले भ्रमण वर्ष २०२० को अवसरमा विराटनगरमा खुला सडक दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।
यही १६ पुुुसमा हुने प्रतियोगितामा महिला र पुरुष गरी ५ सयको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
एकेडेमीका प्रदेश १ का अध्यक्ष सागर थापाका अनुसार सुरक्षा निकायका विभागीय खेलाडीले मात्रै दौड जित्ने भएकाले यस दौडमा धेरैलाई पुरस्कृत गरिने छ ।
पहिलो हुने ३ जनालाई जनही रु ११ हजार, दोस्रो हुने ३ जनालाई रु ७\७ हजार, तेस्रो हुंने ३ जनालाई रु ५\५ हजार र ७ जना सान्त्वना हुनेलाई रु ३ हजारका दरले पुरस्कार दिइने थापाले बताए । पुरुष धावकले ५ र महिलाले ३ किलोमिटर दौडने छन् ।
कार्यक्रम संयोजक मनोजविक्रम शाहले भ्रमण वर्षलाई सफल पार्ने संदेशसहित ५ सय जनालाई शहीद रंगशालाबाट दौडाइने बताए ।
पुरस्कारको राशि बढी राख्दा काठमाडौंबाट आउने व्यावसायिक खेलाडीले मात्रै जित्ने गरेकाले स्थानीयलाई बढी सहभागी गराउन कम राशि र धेरैजनालाई पुरस्कार राखिएको आयोजकले जनाएको छ ।