तेक्वान्दोमा विजयी प्रदेश १ का खेलाडी सम्मानित
गत ३० मंसीरमा रामेछापमा सम्पन्न २० औं राष्ट्रिय सिनियर आईटीएफ तेक्वान्दो प्रतियोगितामा प्रदेश १ बाट विजयी २१ खेलाडीलाई शनिबार सम्मान गरिएको छ ।
१ नम्बर प्रदेश आईटीएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा भएको एक समारोहका बीच खेलाडीलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) ले सम्मान गरे ।
पाँच विधामा भएको प्रतिस्पर्धामा प्रदेश १ का खेलाडीले तीन विधामा स्वर्ण, दुई विधामा रजत र चार विधामा कास्य पदक जितेका थिए ।
महिला एकल प्याटन ब्ल्याक बेल्ट फष्ट डान तर्फ केरिसा आचार्य, गु्रप स्पायरिङ विधामा भुवन मगर, दिलन राई, वीरबहादुर तामाङ, हिराधन राई र सुरज चौधरीले स्वर्ण जितेका थिए । एकल स्पायरिङ तर्फ ८० किलो माथिको तौल समूहमा रोशन मगर र ६५ किलो तौल समूहमा आशीष मगरले स्वर्ण ल्याएका थिए ।
नेपालमा खेलाडीले खेलबाटै नाम र दाम कमाउने समय आउँदै गरेको बताउँदै प्रदेश प्रमुख अधिकारीले खेलले युवालाई अनुशासित र स्वस्थ्य राख्ने बताए ।
मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला आफू राष्ट्रिय खेलकुद परिषदको पदाधिकारी भएको बताउँदै उनले त्यस समयमा ब्ल्याक बेल्ट गर्ने प्रशिक्षक पाउन मुस्किल भएको स्मरण गरे ।
“एक कार्यक्रममा ब्ल्याक बेल्ट गर्ने कोही भए हात उठाउनुस् म तत्कालै प्रशिक्षकको नियुक्ति दिन्छु भन्दा हात उठाउने कोही थिएनन्”, अधिकारीले भने–“अहिले खेलमा त्यो बेलाको जस्तो अवस्था छैन ।” आयोजक संघका अध्यक्ष प्रवीणकुमार कार्कीले रामेछापमा भएको प्रतियोगितामा सात प्रदेशमध्ये प्रदेश १ तृतीय भएको बताए ।