व्यावसायिक यात्रामा मच्छिन्द्र
१५वर्षअघि काठमाडौंको असन र इन्द्रचोकको बीचमा रहेको मच्छिन्द्र बहालमा ठूलो भोजको आयोजना गरियो । त्यो उत्सव थियो, स्थापनाको ३२ वर्ष लामो संघर्षपछि मच्छिन्द्र क्लब नेपाली क्लब फूटबलको प्रतिष्ठित शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा हुँदाको खुशियाली ।
ए डिभिजनमा सधैंजसो छिमेकी क्लबहरू आरसीटी, न्यूरोड टीम (एनआरटी), संकटा क्लब र ब्वाइज युनियनले वर्चस्व जमाइरहेको वेला बी डिभिजनमा संघर्ष गरिरहेको मच्छिन्द्रका लागि त्यो फड्को उत्सवसरह नै थियो ।
आफ्नो टोल सफा राख्ने र अन्य सामाजिक काम गर्ने उद्देश्यले मच्छिन्द्र बहाल क्लबको रुपमा स्थापित क्लब समय क्रममा फूटबलमा केन्द्रित भयो । २०६० सालमा नाम फेरेर मच्छिन्द्र फूटबल क्लब बनाइयो, जुन अझै छरितो हुँदै मच्छिन्द्र क्लब बनेको छ ।
फूटबलमा समर्पित क्लब ए डिभिजन लिगमा प्रवेश गरेको १५ वर्षपछि अहिले फेरि विगतको झैं उत्सव मनाउने लक्ष्यमा छ । ए डिभिजनको उपाधि जित्ने सपना बुनेको टीमले त्यसलाई साकार पार्ने योजना नै बनाएको छ ।
योजना अन्तर्गत मच्छिन्द्रलाई देशकै अब्बल क्लबको रुपमा स्थापित गर्ने, व्यावसायिक बनाउने र त्यस मार्फत क्लबलाई आम्दानी गराउने लगायत छन् । क्लबका व्यवस्थापक अनिल श्रेष्ठ भन्छन्, “हामी क्लबलाई बेग्लै परिचय दिलाउने अभियानमा छौं ।”
धर्मराउँदै उठ्दा नयाँ जीवन
निरन्तर एक दशक ए डिभिजन लिग खेल्दा उपलब्धि नभेटेको मच्छिन्द्रको लागि २०७० को लिग भने महत्वपूर्ण मोड बनेर आयो । त्यसअघि लिग खेल्दा क्लब लिगको मध्य तालिकामा रहन्थ्यो ।
क्लब चलाउन आवश्यक बजेट जुटाउनमै समय बित्थ्यो । त्यो फलदायी नदेखेपछि क्लब पदाधिकारीहरू फूटबल नै छोडेर सामाजिक काममा लाग्ने मनस्थितिमा पुगे । २०७० को लिग नखेल्ने निर्णय क्लबले गर्यो ।
तर फूटबलमा लगाव राख्ने व्यवस्थापक श्रेष्ठलाई खेल चटक्कै छोड्ने विचार मन परेन । उनले क्लबभित्र एउटा प्रस्ताव राखे, “मलाई २० लाख देऊ, घाटामा नजाने गरी क्लबलाई लिगमा सहभागी गराउँछु ।” उनको प्रस्ताव स्वीकृत भयो ।
नभन्दै लिगमा सहभागी भएको मच्छिन्द्रले उपाधि दावेदार बन्दै दोस्रो स्थान हात पार्यो । त्यसका लागि क्लबले केही नयाँ प्रयोग गरेको थियो । पहिलो पटक विदेशी प्रशिक्षक जोन कालिन (जो अहिले नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक छन्) लाई अनुबन्ध गर्यो, प्रायोजक खोज्यो । जसले नतिजा दियो ।
क्लब फूटबलको नयाँ शक्ति बन्ने उद्देश्य सहित मच्छिन्द्र क्लबले जारी ‘ए’ डिभिजन लिगलाई लक्षित गरेर खेलाडीमाथि ठूलो लगानी गरेको छ।
त्यसपछि भूकम्पका कारण लिग चार वर्ष रोकियो । गएको वर्ष लिग पुनः शुरु गर्दा भने मच्छिन्द्रमा जाँगर देखिएन । रेलिगेशनमा नपर्ने लिग भएकोले क्लब औपचारिकताका लागि मात्र सहभागी भयो ।
मनाङ मस्र्याङ्दीले उपाधि जित्दा मच्छिन्द्र पुछारबाट दोस्रो स्थानमा पर्यो । क्लबको अहिलेको तयारी हेर्दा गएको वर्षको निष्क्रियता यो वर्षका लागि शक्ति सञ्चय रहेछ भन्ने देखिएको छ ।
क्लबले यस पटक टीम चुस्त पारेर लिग जित्ने अभियान नै बनायो, जसका लागि रु.१ करोड ५० लाख आवश्यक पर्ने हिसाब निस्कियो । जसमा क्लबको बैठकले आँट र स्वीकृति दिएपछि अघि बढेको व्यवस्थापक श्रेष्ठ बताउँछन् । २८ फागुनदेखि दशरथ रङ्गशालामा सञ्चालन भइरहेको ए डिभिजन लिग ३ फागुनसम्म चल्नेछ ।
प्रतियोगिताका लागि क्लबले देशका चर्चित खेलाडीहरूलाई नाम चलेका क्लबबाट अनुबन्ध गरेको छ । चर्चित क्लब मनाङ मस्र्याङ्दीबाट ७ जना भित्र्याएको मच्छिन्द्रले थ्री स्टार क्लबबाट ५ जना अनुबन्ध गरेको छ ।
क्लबले भित्र्याइका विदेशी खेलाडीहरू पनि नेपालमा उपलब्धमध्येका राम्रा हुन् । मनाङबाट पूर्व कप्तान विराज महर्जन सहित सुजल श्रेष्ठ, हेमन गुरुङ, विशाल राई, अभिषेक रिजाल, देवेन्द्र तामाङ र अफ्रिकी मूलका एडेलेजा सोमिडेलाईभित्र्याइकाछ । रेजिन सुब्बा र मनाङका पूर्व खेलाडी दीपक राईले पनि मच्छिन्द्रको जर्सी लगाएका छन् ।
यस्तै, थ्री स्टारबाट विजय धिमाल, रञ्जित धिमाल, बुद्ध चेम्जोङ, त्यही क्लबका पूर्व खेलाडी योगेश गुरुङ र विदेशी खेलाडी पिटर सेगुन ल्याइएको छ । खेलाडीहरूको पारिश्रमिक मासिक रु.५० हजारदेखि रु.१ लाख २५ हजारसम्म छ । युवा प्रशिक्षक प्रवेश कटुवाललाई अनुबन्ध गरिएको छ ।
व्यावसायिक यात्रा
खेलाडी भि-याएपछि गर्नुपर्ने व्यवस्थापनको विषयमा पनि मच्छिन्द्र क्लबले उत्तिकै ध्यान दिएको छ ।
खेलाडीहरूलाई त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टरको थ्रीस्टार होटलमा राखिएको छ । खाना र खाजाको व्यवस्था पनि सुविधाजनक ठाउँमा गरिएको छ । व्यवस्थापक अनिल श्रेष्ठ सबै विषयमा व्यावसायिक सूत्र अपनाएको बताउँछन् । “क्लब र खेलाडी दुवैमा व्यावसायिकता खोजेका छौं, राम्रो नतिजा दिने पनि त्यसैले हो”, उनी भन्छन् । उनका अनुसार, फूटबल खेलेर कमाइ गर्ने मच्छिन्द्रको मुख्य अभियान हो ।
मच्छिन्द्रसँग अहिले मुख्य प्रायोजक र तीन वटा सह–प्रायोजक छन् । क्लबलाई गतिशील पारेर उपलब्धि दिलाउने उद्देश्य सुनाउँदै श्रेष्ठ भन्छन्, “हामी अब देशभरिको नकआउट फूटबल खेल्छौं, पुरस्कार जित्छौं र प्रायोजक थप्छौं ।”
चर्चित क्लबहरूले महँगा खेलाडी लिन छोडिरहेको वेला मच्छिन्द्रले गरेको यो आँट साहसिक छ । योजना अनुसार सफल भए मच्छिन्द्रको यात्रा देशका अन्य क्लबहरूको व्यावसायिक कदमका लागि पनि उदाहरणीय बन्नेछ । ल