एक विद्रोहीको बकपत्र
– राजेन्द्र पराजुली
नागरिकलाई स्वतन्त्र बनाउन र मुलुकलाई समृद्ध पार्न नेपालमा थुप्रै पटक आन्दोलन भइसकेका छन् । तर, जनजीविकामा उल्लेखनीय परिवर्तन आएको छैन । आन्दोलनबाटै देश र जनताको मुहार परिवर्तन हुन्छ भन्ने मान्यता सहित नेपाली काङ्ग्रेसले राणाशासन र पञ्चायत विरुद्ध ठूलो सङ्घर्ष गरेको थियो । पञ्चायती निरङ्कुशता अन्त्य गर्न त्यस बखतका युवाले विमान अपहरण जस्तो दुस्साहस पनि गरे । त्यही राजनीतिक घटनाका एक दुस्साहसी पात्र हुन्– दुर्गा सुवेदी ।
सत्ता विरुद्ध सङ्घर्ष गर्न आवश्यक पैसा जोहो गरेर आन्दोलन बलियो पार्ने उद्देश्य थियो, विमान अपहरणको योजना । राजनीतिक आन्दोलनमा विमान अपहरण विरलै हुने गरेको विश्व–इतिहास छ । निर्दलीय पञ्चायती व्यवस्थामा यस्तो जोखिमपूर्ण विद्रोहको अग्रपङ्क्तिमा उभिएका सुवेदीको राजनीतिक बयान हो– विमान विद्रोह (एउटा राजनीतिक अपहरणको बयान) ।
भारतीय रुपैयाँ ३० लाख बोकेको विमान अपहरण गर्नेताका सुवेदी २७ वर्षका थिए । काङ्ग्रेसका शीर्ष नेता विश्वेश्वरप्रसाद कोइरालाको आदेशमा उनी विमान अपहरणको योजनामा सामेल भएका थिए ।
उनीसँगै अन्य दुई युवा काङ्ग्रेसी पनि थिए । काङ्ग्रेसले बोकेको समाजवादी नीतिले अपहरण, हत्या, सशस्त्र सङ्घर्ष जस्ता विद्रोहका रूप स्वीकार गर्दैन । यद्यपि सत्ताले शान्तिपूर्ण आन्दोलनलाई लामो समयसम्म बेवास्ता गर्दै जनताको अधिकारलाई कुण्ठित पारिरहेपछि आन्दोलनले आफ्नो रुप परिवर्तन गर्छ । त्यसैको एउटा कडी हो, काङ्ग्रेसले गरेको विमान अपहरण ।
दुर्गा सुवेदी विमान अपहरणमा मात्र संलग्न विद्रोही नेता होइनन्, उनी अन्य थुप्रै आन्दोलनमा सक्रिय सहभागी भएका छन् । लामो समय नेपाल र भारतको जेलमा बसेका छन् । तर, जेजति त्याग र सङ्घर्षका माध्यमबाट राजनीतिक परिवर्तन भए पनि स्वयम् काङ्ग्रेस पार्टी र आमजनतामा कुनै परिवर्तन नआउँदा सुवेदी पार्टीभित्रै प्रतिपक्षी बन्न पुगेका हुन् । उनी पार्टीको आजका शीर्ष नेताहरूको शैली र सोचप्रति विमति राख्छन् ।
सङ्घर्षको बेला आफूले सास्ती खेपेर भए पनि उनले पार्टीका नेताहरूलाई जोगाएका छन् । सुवेदी जस्ता त्यागी नेताले राजनीतिक परिवर्तनले मुलुकको मुहार नफेरिंदा र नेताहरू चरम भ्रष्टाचार, पदलोलुपता, नातावाद आदिको दलदलमा फसेको दृश्य टुलुटुल हेरिरहन सक्दैनन् ।
पार्टीले आफ्नो त्यागको अवमूल्यन गरेको असह्य भएपछि नै पार्टी छाडेका उनले त्यही असन्तुष्टिको विस्फोटस्वरूप पनि जीवनको उत्तराद्र्धमा संस्मरण लेखेका हुन् । पुस्तकले पार्टीभित्रका कतिपय बेमेल, लोकतन्त्रको नाममा मौलाएको अलोकतान्त्रिक चरित्रलाई पनि सतहमा ल्याएको छ । विद्रोहको बलमा सत्तामा पुगेको पार्टीले विद्रोहीलाई बिर्सिएको तीतो यथार्थ यसमा छ ।
पुस्तकमा सुवेदीले विशेषगरी विमान अपहरणको घटनालाई उल्लेख गरेका छन् । विमान अपहरणको कथा समेटिएको ‘त्यो ३० मिनेट’ शीर्षकको नौ पृष्ठको पहिलो अध्याय निकै रोमाञ्चक छ । पुस्तकको मूल पाठ र महत्वपूर्ण अध्याय यही भएकाले यो संस्मरण अलि लामो भइदिएको भए हुन्थ्यो भन्ने पाठकलाई लाग्छ ।
त्यसपछि एक दशक लामो माओवादी हिंसात्मक विद्रोह, नेपालका केही राजनीतिक आन्दोलन र जीवनसङ्गिनी (नेपालको प्रथम महिला प्रधानन्यायाधीश) सुशीला कार्कीबारे रोचक प्रसंग उद्घाटन गरिएको छ । पञ्चायतकालमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेतासँगै सुवेदी पनि भारत निर्वासनमा थिए । प्रवासको कठिन जीवनबारे पनि उनले बयान गरेका छन् ।
पुस्तकको अन्त्यमा सुवेदीलाई चिन्नेहरूले उनीबारे गरेका मूल्याङ्कन समावेश गरिएको छ । त्यसमा डा.बाबुराम भट्टराई, प्रदीप गिरी जस्ता व्यक्तिले शब्द खर्चेका छन् । यस्तो आलेखले पक्कै पनि प्रशंसाको पुल नै बाँध्ने हो, त्यसैले यो अध्याय पुस्तकमा खासै जरुरी देखिंदैन ।
डा.बाबुरामले उल्लेख गरे जस्तै इतिहास निर्माण र इतिहास लेखन फरक कुरा हुन् । तर, दुर्गा सुवेदीले एउटा अप्ठेरो समयमा विमान अपहरण जस्तो दुस्साहसपूर्ण कार्य गरेर इतिहास निर्माण गरेका छन् र त्यो इतिहासलाई लेख्ने काम पनि गरेका छन् ।
यो विरलै प्राप्त हुने एउटा संयोग हो । पुस्तकले नेपाली राजनीतिको अनुहार बुझ्न सघाउने मात्र होइन, खासगरी युवा वर्गलाई परिवर्तनप्रतिको विश्वास र उत्साहको सञ्चार पनि गरिदिन्छ । देशले सही नेतृत्व पाए समृद्धिका साथै बोल्ने, लेख्ने अधिकार बलियो हुने विश्वास पुस्तकको टुङ्ग्याउनीमा गरिएको छ, यसमा शायदै कसैको विमति होला ।
पुस्तक: विमान विद्रोह
लेखक: दुर्गा सुवेदी
विधा: संस्मरण
प्रकाशक: किताब पब्लिसर्स
पृष्ठ: ३०२
मूल्य रु.७५० (हार्डकभर)