सिला बन्दै शिलालेख
सम्पदाको ऐतिहासिक र पुरातात्विक प्रमाण शिलालेख संरक्षणमा पर्याप्त चासो र चिन्ता नगरिंदा भएका अमूल्य शिलालेखहरु पनि हराउने/नष्ट हुने अवस्थामा छन्।
विश्व सम्पदा सूचीमा रहेको विशाल बौद्ध स्तूप ‘खास्ति महाचैत्य’ को प्राचीनता दर्शाउन कोही यसलाई राजा मानदेव (प्रथम) सँग जोड्छन् भने कोही गौतम बुद्धको जन्मभन्दा अघि पुग्छन् ।
प्राचीनता पुष्टि गर्न धेरैले धार्मिक कथा पनि उल्लेख गरेका छन् । तर ऐतिहासिक प्रमाणहरू खोजी गरेको देखिंदैन । गोपाल राजवंशावलीमा यस महाचैत्यको निर्माताका रूपमा राजा शिवदेव प्रथम (इ.सं. ५९०–६०४) को नाम उल्लेख छ तर पुरातात्िवक शिलालेख लगायत कुनै पनि प्रमाण पाइँदैन ।
खास्ति महाचैत्य तीन वटा विशाल मण्डलाकारमाथि बनेको छ । केही वर्ष अघिसम्म तेस्रो तहको मण्डलाकारसम्मै सर्वसाधारणलाई चढ्न दिइए पनि आजभोलि पहिलो तहसम्म मात्रै जान दिइन्छ । उत्तर दिशाको प्रवेशद्वारबाट दोस्रो तहको मण्डला चढ्ने खुड्किलाको देब्रेपट्टि ध्यान मुद्राको बुद्ध मूर्ति छ ।
दायाँबायाँ दुई वटा शिलालेख छन् तर चुना पोतिएका कारण शिलालेखका अक्षर पढ्न सकिंदैन । यो सही कार्य होइन । अन्य सम्पदा क्षेत्रको तुलनामा यहाँ थोरै मात्र अभिलेखहरू छन् । भएका पुरावस्तुहरू पनि यथास्थानमा नभएकाले यताउताबाट ल्याइएको भन्ने जानकारी पाइन्छ । ती पुरावस्तु पनि रङरोगनले छोपिएको हुँदा यसको ऐतिहासिक पक्ष अध्ययन गर्न कठिन छ ।
सम्पदा क्षेत्रका शिलालेख इतिहासको पुरातात्विक प्रमाण हुन् । यसलाई विभिन्न समयका वेग्लावेग्लै सूचना पनि मान्न सकिन्छ । यिनै सूचनाका आधारमा सम्बद्ध सम्पदा क्षेत्र र त्यसको इतिहास पाइन्छ । किंवदन्ती र काल्पनिक आख्यानहरूलाई नै इतिहास मान्ने प्रवृत्तिले सम्पदाको अध्ययन तथा अनुसन्धानमा भ्रम छर्ने काम गरिरहेको छ ।
इतिहास बताउने अमूल्य प्रमाणका रूपमा रहेका कतिपय शिलालेखहरू प्रकाशमा आएकै छैनन् । अझै कति मन्दिर र घर टहराको छिंडीमा शिलालेखहरू मिल्काइएका छन् । जमीनमा पुरिएका शिलालेखको उद्धार हुनै सकेको छैन । सडक छेउमा ठड्याइएका शिलालेखहरू सडकको उँचाइ बढेसँगै पुरिंदै गएका छन् । कतिपय शिलालेखमाथि पोस्टर या पम्प्लेट टाँस्नेसम्मका कुकाम पनि भइरहेका छन् ।
विश्व सम्पदा सूचीमा रहेको स्वयम्भू स्तूप क्षेत्रको हालसम्म प्राप्तमध्ये सबैभन्दा पुरानो शिलालेखको अहिले अत्तोपत्तो छैन । स्वयम्भू स्तूपको उत्तर दिशातिर चुना घोल्ने खाल्डोमा रहेको उक्त शिलालेखमा ‘...रदेव’ अंकित थियो । यसअघि र पछिका धेरै अक्षरहरू खण्डित थिए तर ती राजाले स्वयम्भू विहारका लागि जग्गा दान दिएको कुरा उक्त शिलालेखमा उल्लेख थियो ।
हेमराज शाक्यले आफ्नो पुस्तक ‘श्रीस्वयम्भू महाचैत्य’ मा यो शिलालेखको उतार तस्वीर सहित प्रकाशित गरिसकेका छन् । लिच्छविकालमा ‘...रदेव’ नाम आउने राजा शंकरदेव (राजा मानदेवका बाजे) मात्रै भएको हुँदा यसलाई स्वयम्भू क्षेत्रको मात्रै नभएर नेपालकै सबैभन्दा पुरानो शिलालेख भन्न सकिन्छ । तर यो अभिलेख अहिले यथास्थानमा छैन । यो लगायत अन्य शिलालेखको अभावमा स्वयम्भू महाचैत्यको सही इतिहास पर्गेल्नै सकिएको छैन ।
नेपालको इतिहासबारे जानकारी दिने केही महत्वपूर्ण लिच्छविकालीन शिलालेखहरू काठमाडौं उपत्यकाबाट दक्षिणपश्चिमतिर चित्लाङ–टिष्टुङ क्षेत्रमा पाइएका छन् ।
राजा अंशुवर्माको शेषपछि गद्दीमा को बसेका थिए भन्ने विवाद सुल्झाउन राजा उदयदेवको एउटै मात्र अभिलेख चित्लाङमा पाइएको छ तर त्यो पनि असुरक्षित छ । यसरी नै भेटवाल गाउँको खेतमा रहेको लिच्छविकालीन अभिलेख पनि अलपत्र छ । लिच्छविकालीन अर्को शिलालेख टिस्टुङको एउटा स्कूलको कक्षाकोठाभित्र थन्किएको छ । सम्पदा संरक्षण भनेको मन्दिर, स्तूप लगायतका भव्य संरचनाहरूको प्रस्तुति मात्रै नभएर सम्बन्धित पुरातात्विक वस्तुहरूको सुरक्षा पनि हो ।
खास्ति महाचैत्य परिसरबाट एउटै पनि लिच्छविकालीन शिलालेख प्राप्त नहुनु आश्चर्य हो । महाचैत्य निर्माण गर्नेले शिलालेख अवश्य राखेको हुनुपर्छ किनभने त्यसवेला स–साना निर्माण कार्यमा पनि अभिलेख राख्ने चलन थियो । महाचैत्य परिसरभित्र ढुङ्गाका स–साना लिच्छविकालीन चैत्यहरू पाइन्छन् तर तिनमा पनि चुना पोतिएको हुँदा नयाँ र पुरानो छुट्याउन गाह्रो छ ।
सम्पदाको महत्वमाथि जोड दिंदै स्थापित संघसंस्था तथा व्यक्तिहरू केही सचेत देखिए पनि ऐतिहासिक तथा पुरातात्विक महत्वका प्रमाणहरू बारे भने खासै चिन्तित देखिएका छैनन् । यस अवस्थामा किंवदन्ती तथा काल्पनिक आख्यानहरूलाई भन्दा पुरातात्विक प्रमाणलाई महत्व दिनुपर्ने कुरा सिकाउनु अत्यावश्यक छ ।