इतिहास रच्ने मुक्का
२० वर्षअघि घरैमा भएको आठौं साग यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्न नसकेका बक्सिङ खेलाडीले १३औं सागमा तीन स्वर्ण जित्दै नयाँ युगको संभावना देखाएका छन्।
सन् १९८४ मा काठमाडौंमै भएको पहिलो दक्षिण एशियाली खेलकुद (साफ गेम्स) मा नेपालले कुल चार स्वर्ण जित्दा दुई वटा बक्सिङका थिए । त्यतिवेला स्व. दलबहादुर रानामगर र स्व. पुष्करध्वज शाहीले स्वर्ण दिलाएका थिए । त्यसपछि बक्सिङमा नै स्वर्ण जित्न १५ वर्षपछि घरैमा फर्किएको आठौं साग कुर्नुपर्यो । सन् १९९९ को सो सागमा दाजुभाइ प्रकाश र रामचन्द्र थापामगरले स्वर्ण जिते ।
त्यसयता नेपाली बक्सरले स्वर्ण नजितेको २० वर्ष भइसकेको थियो । नेपालमै हुन गइरहेको १३औं सागमा पनि स्वर्ण जित्नु चुनौतीपूर्ण थियो । चुनौती सामना गर्न प्रशिक्षणको जिम्मेवारी आठौं सागका स्वर्णधारी प्रकाश थापामगरलाई थियो । १३औं सागमा बक्सिङले साख मात्र जोगाएन तीन स्वर्ण जित्दै नयाँ इतिहास नै रच्यो । मिनु गुरुङ स्वर्ण जित्ने पहिलो महिला खेलाडी बनिन् । मिनुसहित भूपेन्द्र थापा र सनिल शाहीले शक्तिशाली भारतीय बक्सरलाई पराजित गरेर स्वर्ण जिते ।
१३औं सागका लागि तयारी थाल्ने पहिलो खेल संघ बक्सिङ नै थियो । खेलाडीलाई विदेशमा सबैभन्दा लामो बन्द प्रशिक्षणमा राख्ने पनि बक्सिङ संघ नै थियो । संघले थाइल्याण्डमा दुई महीना लामो बन्द प्रशिक्षण गरायो भने विदेशी प्रशिक्षक पनि झिकायो । परिणामस्वरुप नौ खेलाडी फाइनलमा पुगे । नेपालले तीन स्वर्णसहित ६ रजत र ६ काँस्य जित्यो ।
फाइनल हारेका ६ जनामध्ये दीपक श्रेष्ठ पनि स्वर्ण नजिक पुगिसकेका थिए । तेस्रो राउन्डसम्म अगाडि रहेका उनी अन्तिम समयमा नकआउट भएपछि रजतमा चित्त बुझाउनुपर्यो । भारतीय खेलाडी विश्वस्तरीय हुनाले उनीहरू विरुद्ध खेल्दा हाम्रा खेलाडी मानसिक दबाबमा पर्ने प्रशिक्षक प्रकाश थापामगर बताउँछन् । तर, यसपटक नेपाली खेलाडीले राम्रो आत्मविश्वास देखाएको उनको भनाइ छ ।
साग तयारीका क्रममा खेलाडीलाई सकेसम्म सुविधा दिएकै कारण सफलता हात लागेको बक्सिङ संघका अध्यक्ष राम अवाले बताउँछन् । उनी भन्छन्, “खेलाडीलाई मनोवैज्ञानिक परामर्श गर्नेदेखि हौसला बढाउन पुरस्कारसम्मको घोषणा गरेका थियौं । खेलाडीहरूले परिणाम पनि दिए ।”
ती तीन भिडन्त
नेपाली सेनाकी मिनु गुरुङले भारतमा भएको १२औं सागमा काँस्य पदक जितेपछि नेपालमै हुने १३औं सागमा स्वर्णको आशा थियो । तर, त्यसको केही समयपछि उनी शान्ति सेनामा एक वर्ष दक्षिण अफ्रिका जानुपर्यो । त्यहाँबाट फर्किंदा उनको तौल बढिसकेको थियो । उनी आफ्नो नियमित ५१ केजी तौल छोडेर ५४ केजीमा प्रतिस्पर्धा गर्न तयार भइन् ।
फाइनलमा उनको प्रतिद्वन्द्वी भारतीय खेलाडी शिक्षा थिइन् । उनले तीनवटै राउण्डमा अग्रता बनाउँदै स्वर्ण जितिन् । “फाइनलमा भारतीय प्रतिद्वन्द्वीसँग खेल्नु अगाडि डर हुन्छ तर, जब रिङमा खेल शुरु भएको घण्टी बज्यो आफू सामुन्ने को छ भन्ने मतलब नराखी खेलें”, गुरुङ भन्छिन् ।
स्वर्णधारी अर्का बक्सर भूपेन्द्र थापाको फाइनल भिडन्त अझ रोचक बन्यो । भारतीय खेलाडी मनीष कौशिकले गत वर्ष कमनवेल्थ गेम्समा रजत जितेका थिए । गत वर्ष नै इन्डोनेशियामा १८औं एशियाली खेलकुद शुरु हुनुअघि आयोजना गरिएको आमन्त्रित एशियन गेम्स टेष्ट इभेन्ट्समा त स्वर्ण नै जितेका थिए । कौशिक साग अन्तर्गत बक्सिङको ६४ किलो तौल समूहमा स्वर्णका प्रबल दाबेदार थिए । उनकै प्रतिस्पर्धी थिए, थापा ।
पछिल्लो दुई वर्षमा भएका दुई वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा थापा भारतीय प्रतिद्वन्द्वीसँगै पराजित भएका थिए । यसपटक पनि उनले पहिलो अन्तर्राष्ट्रियस्तरको स्वर्ण पदकका लागि भारतीय खेलाडीलाई नै पराजित गर्नुपर्ने भयो । विपक्षीको कमजोरी थाहा पाउन उनले गुरुहरूसँगै बसेर यूट्यूबमा कौशिकको खेल हेरे । प्राविधिक खेल र गतिमा कौशिक उत्कृष्ट थिए । प्रशिक्षक थापामगर भन्छन्, “कौशिक भिडेर खेल्न सक्दैनथ्यो । त्यस विपरीत भूपेन्द्र भिड्नमा माहिर छ । यही रणनीति सफल भयो ।”
त्यो फाइनल सम्झिंदै ३० वर्षीय थापा भन्छन्, “मलाई उसको शक्तिशाली पञ्च छल्दै शुरुदेखि नै आक्रामक बन्नु थियो । त्यही अनुसार उसलाई कुनै पनि वेला हावी हुन दिइनँ ।”
अर्का बक्सर २१ वर्षीय सनिल शाहीले नेपालको स्वर्ण संख्या ५० पु¥याइदिए । उनले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जितेका हुन् । उनी भन्छन्, “भूपेन्द्र र मिनुले भारतीय प्रतिद्वन्द्वीलाई नै हराएर स्वर्ण जितिसकेकोले मलाई फाइनल खेल्न पटक्कै असजिलो भएन । हामीलाई प्रशिक्षण दिइरहेका उज्वेकिस्तानका प्रशिक्षक अलिसर राखिमोभ मैले स्वर्ण जित्नेमा मभन्दा बढी विश्वस्त थिए । त्यही हौसलाका साथ खेलें ।”
शाही प्राविधिक रुपमा बलिया छन् । उनी भन्छन्, “गोर्खालीले खेल्छ, ठोक्छ भनेर मात्र जितिने होइन । थुप्रै उपाय जान्नुपर्छ र खेलमा लगाउनुपर्छ ।”