भारतमै रोकिए नेपाल आउने मालवाहक साधन
भारत अररिया जिल्लाको जोगवनीस्थित मिरगञ्ज पुलको मर्मत थालिएकाले ५ दिनदेखि नेपालतर्फ आउने मालवाहक साधन नाकामै रोकिएका छन् ।
२०७४ साउनको बाढीले पुलमा सामान्य क्षति पुर्याएपछि बेलाबेला भारतीय प्रशासनले ४० टन भन्दा बढीका साधन नेपाल आउनबाट रोक्दै आएको थियो ।
हाल आएर पुल मर्मत थालिएकाले ३ पुसदेखि नेपालतर्फ माल सामान बोकेर आएका साधन त्यसतर्फनै रोकिएका हुन् ।
भारतको नेशनल हाइवेको ठेक्कामा काम गर्दै आएको जेकेएम कम्पनीका एक इन्जिनीयरका अनुसार, पुल सुचारु हुन झण्डै एक महीना लाग्ने छ ।
पुल मर्मतको काम सामान्य भएपनि चिसो मौसममा सिमेन्ट ढलान हुन समय लाग्ने उनको भनाइ छ । पुलको एकतर्फी भागमा मर्मतको काम हुँदै गरेकाले अर्को तर्फबाट साना र हुलुका साधनलाई मात्रै चल्न दिइएको छ ।
एकतर्फ सकिएपछि अर्कोतर्फको मर्मत २४ पुसबाट थालिने उनले जानकारी दिए । भारतीय जनता पार्टीका स्थानीय नेता सफिक अन्सारीले पार्टीले पटक पटक पत्र पठाएर दबाब दिएपछि पुल मर्मत सुचारु भएको बताए ।
दैनिक ४ सयको संख्यामा माल सामान बोकेर आउने साधन भारतमै रोकिएकाले ७ किलोमिटर जतिको क्षेत्रमा मालवाहक साधनको लाइन लागेको छ ।
यसैबीच विराटनगरका उद्योगी व्यापारीले मंगलबार विराटनगर भन्सार प्रमुखलाई भेटेर भारततर्फ रोकिएका साधन सुनसरीको कोशी ब्यारेजस्थित सेतुबन्द भन्सार नाकाबाट नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
उद्योग संगठन, मोरङ व्यापार संघ, विराट व्यापार संघ, भन्सार एजेन्ट संघले विराटनगर भन्सार प्रमुख शिवप्रसाद भण्डारीसँग भारतीय भन्सारलाई पनि आयातमा सहजीकरण गर्न पत्राचार गरिदिन आग्रह गरे ।
भन्सार प्रमुख भण्डारीले विराटनगर भन्सारमा आउने मालवाहक साधन सुनसरीबाट ल्याउन इजाजतका लागि मंगलबारनै भन्सार विभागमा पत्र पठाइएको बताए ।
दैनिक रु ९ करोड राजस्व संकलन गर्दै आएको भन्सारमा भारततर्फबाट आउने साधन त्यसतर्फ नै रोकिंदा राजस्व संकलन प्रभावित भएको छ ।
२ पुससम्म आएका साधनको भन्सार ७ पुससम्ममा संकलन भएको भण्डारीले जानकारी दिए । ८ पुसदेखि भन्सार कार्यालयमा राजस्व संकलन न्यून छ ।
उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले सुनसरीबाट घुमाएर मालवाहक साधन ल्याउँदा सय किलोमिटर भन्दा बढी घुमाउनु पर्ने भएकाले ढुवानीमा खर्च बढ्ने बताए ।
यसअघि पनि भारतीय प्रशासनले सो पुल कमजोर भएको भन्दै पटक पटक नेपालतर्फ आउने साधन रोक्दा यहाँका व्यापारीले ढुवानी खर्च बढाएरै सुनसरी नाकाबाट ल्याउने गरेका थिए ।