अटेरी व्यापारी
विराटनगरको मुख्य चोकमध्येको गुद्री बजार तरकारी पसलमा लाग्ने भीडले कोलाहलमय हुन्छ । त्यसमाथि फोहोरको दुर्गन्ध । महानगरपालिकाले तोकेको स्थानमा मात्र नभई सडकमै तरकारी बेच्दा सडक नै अस्तव्यस्त हुने गरेको छ ।
सरकारले गुद्री बजारबाट करीब दुई किमि उत्तरपूर्व कटहरी गाउँपालिका–१ सिंघिया खोला किनारामा नयाँ फलफूल तथा तरकारी थोक बजार बनाएर सार्न खोजे पनि व्यापारीले अटेर गरेका छन् ।
विश्व ब्याङ्कको रु.१६ करोड ८८ लाख सहयोगमा बनेको कृषि बजार एक वर्षदेखि अलपत्र छ । खोलाको किनारा भएको र अपायक पर्ने बहाना बनाउँदै व्यापारी त्यहाँ सर्न नमानेको कटहरी–१ का वडाध्यक्ष समेत रहेका बजार व्यवस्थापन समिति सदस्य कपुरलाल माझी बताउँछन् ।
बजार व्यवस्थापन समितिले ७२ वटा स्टल भाडामा दिन गएको २९ कात्तिकमा २० दिने सूचना प्रकाशित गरेको थियो । तर, निर्धारित मितिमा १५ वटा मात्रै आवेदन परेकाले पुनः सूचना प्रकाशनको तयारी गरिरहेको माझी बताउँछन् ।
विराटनगर महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको गुद्री बजारको तरकारी बजार नयाँ ठाउँमा सार्न ५ मंसीरमा ३५ दिने सूचना प्रकाशित गर्यो ।
तर व्यापार नै चौपट हुने गरी गाउँमा बजार सार्न खोजिएको भन्दै व्यापारीले आन्दोलन थालेका छन् । संघर्ष समितिका सचिव अहमद गुड्डु भन्छन्, “हामीले महानगरलाई ज्ञापनपत्र बुझएर नसर्ने जनाइसकेका छौं । जबर्जस्ती हटाए गुद्री बजारमा नै निजी जग्गा भाडामा लिएर तरकारी बजार चलाउँछौं ।”
विराटनगर गुद्री बजारका फलफूल तथा तरकारी व्यवसायीले सर्न अटेर गर्दा कटहरी–१ सिंघिया खोला किनारामा बनाइएको नयाँ कृषि बजार अलपत्र छ।
विराटनगरका मेयर भीम पराजुली भने व्यापारीहरू राज्यले उपलब्ध गराएको ठाउँमा जानै पर्ने बताउँछन् । उनी भन्छन्, “सरकारी सम्पत्ति खाली गर्दिनँ भन्न पाइँदैन, अटेर गरे छाड्न बाध्य बनाउँछौं ।” गुद्री बजारस्थित तरकारी बजार रहेकै स्थानमा महानगरले नयाँ व्यावसायिक भवन बनाउने र अहिलेकै व्यवसायीलाई पनि स्टल दिन सकिने पराजुली बताउँछन् ।
महानगरको वित्तीय व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधान अहिले गुद्री बजारका तरकारीका स्टल सस्तो भाडामा लिई व्यापारीलाई महङ्गोमा दिने विचौलियाका कारण खाली गराउन समस्या भएको बताउँछन् ।
यस्तो छ नयाँ बजार
जनप्रिय मावि र तत्कालीन कटहरी गाविसको पाँच बिघा दुई कट्ठा जग्गा ५० वर्षलाई भाडामा लिएर व्यावसायिक कृषि तथा व्यापार आयोजनाले तरकारी बजार निर्माण गरेको हो । त्यहाँ थोक तथा खुद्रा व्यापारका लागि फरक भवन छन् ।
प्रत्येक भवनमा ३६ का दरले जम्मा ७२ स्टल बनाइएको छ । स्थानीय किसानका लागि आफ्नो उत्पादन आफैं बिक्री गर्ने छुट्टै स्थान पनि बनाइएको छ ।
निर्माण सम्पन्न भएको ६ महीनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ३ चैत २०७५ मा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई बजारको साँचो हस्तान्तरण गरेका थिए । प्रदेश सरकारले नियुक्त गरेका तरकारी बजारका कार्यकारी निर्देशक पशुपति पोखरेल संघीय सरकारले संचालन प्रक्रिया विनै बजार हस्तान्तरण गरेकाले संचालनमा ढिलाइ भएको बताउँछन् ।
प्रदेश सरकारले थोक बजार संचालन नियमावली बनाएर कृषि मन्त्रालय, कृषि सेवा विभाग, वडाध्यक्ष, उपभोक्ता र किसान प्रतिनिधि सहितको बजार व्यवस्थापन समिति पनि गठन गरिसकेको छ ।