न्यानो पहिरन
हिउँदमा न्यानो लुगा सबै उमेरका उपभोक्ताको प्राथमिकतामा पर्छ । बालबालिका, वृद्धवृद्धा र घरभित्रको काममा रुमल्लिइरहनुपर्ने गृहिणीहरूका लागि त न्याना लुगा चिसोबाट बच्ने उत्तम उपाय हो ।
काठमाडौं, कपनकी मञ्जु बुढाथोकीका अनुसार कठ्याङ्ग्रिंदो चिसोमा न्याना लुगा वरदान नै सावित हुन्छन् । “यस्तो चिसोमा उलनका न्याना लुगा कसलाई मन नपर्ला ? अझ स्कुटरमा हिंड्दा त डाउन ज्याकेट पनि लगाउनुपर्छ” उनले भनिन् ।
कपनमा चाहना ब्यूटीपार्लर सञ्चालन गर्दै आएकी मञ्जु रत्नराज्य लक्ष्मी क्याम्पसको बिहानी सत्रमा अध्ययन गर्न जाँदा चिसोबाट बच्न पञ्जा, टोपी, थर्मकोट, मोजा, गलबन्दी र डाउन ज्याकेट लगाउने गरेको बताउँछिन् ।
साना बालबालिकालाई छिटो चिसो लाग्ने हुँदा अभिभावकले उनीहरूको पहिरनमा विशेष ध्यान दिनुपर्ने बताउँछिन् फेसन डिजाइनर, अरुणा जोशी ।
२५ वर्षदेखि डिजाइनरको रुपमा काम गरिरहेकी उनी बालबालिकाको लागि कटनका कपडा निकै उपयोगी हुने बताउँछिन् । “बालबालिकालाई बाहिरबाट थरीथरीका फ्याब्रिक प्रयोग गरिएका ज्याकेट, स्वेटर, ट्राउजर लगाइदिए पनि भित्र कटनको लुगा लगाइदिनुपर्छ”, पुल्चोकस्थित ए एण्ड ए बुटिककी सञ्चालक जोशी भन्छिन् ।
कुपन्डोलस्थित तुनाज् फेसन एन्ड बुटिककी सञ्चालक कविता पोख्रेल बालबालिकालाई चिसोबाट बचाउन कुन समयमा के लगाउने भन्ने कुराको जानकारी हुनुपर्ने बताउँछिन् । उनी भन्छिन्, “बाहिर हिंड्दा मात्र होइन, बस्दा, सुत्दा समेत लुगाकपडामा विशेष ध्यान दिनुपर्छ ।”
पोख्रेल शरीरलाई न्यानो बनाइराख्न मद्दत गर्ने फ्याब्रिकहरू बजारमा उपलब्ध भए पनि धेरैले छनोट गर्न नजान्दा समस्या भइरहेको बताउँछिन् । उनको भनाइमा घरमा बस्दा उलनको फ्याब्रिक कपडा, भेला, फलाटिन, भेलभेट लगायतको प्रयोग गर्नुपर्छ । फ्याब्रिकको प्रयोग गरी ‘नाइट ड्रेस’ बनाएर लगाउन सकिने उदाहरण दिन्छिन् ।
मौसम विचार गरेर खोज्न जान्नेलाई बजारमा उपलब्ध विभिन्न खालका फ्याब्रिकले चिसोमा धेरै लुगा खापेर लगाउन मन नपराउनेलाई पनि विकल्प दिएको छ।
कतिपयलाई भुवा भएको कपडा र अन्य केही लुगा लगाउँदा ‘एलर्जी’ हुन्छ । उनीहरूलाई नेपाली कपडा निकै उपयोगी हुनसक्छ । नेपालमै बनेका लुगामा ‘पातलो कटन’ कपडा भित्री हालेर आफू अनुकूल ‘नाइट ड्रेस’ बनाउन सकिन्छ । कटन फ्याब्रिक हरेक उमेरलाई निकै उपयोगी भए पनि धेरैले बेवास्ता गरिरहेको उनको भनाइ छ ।
चिसोबाट शरीरलाई बचाइराख्न शिरदेखि पाउसम्म न्यानो बनाउन चाहने तर धेरै लुगा लगाउन मन नपराउनेलाई समेत विभिन्न विकल्प उपलब्ध रहेको बताउँछिन् डिजाइनर रमिला नेमकुल । अचेल बजारमा आउने हरेक पहिरन कामकाजीहरूका लागि भनेर छुट्टै डिजाइनमा समेत उपलब्ध रहेको उनले बताइन् ।
पाटनढोका नजिकै ‘कासा’ फेसन स्टोर सञ्चालन गरिरहेकी नेमकुल भन्छिन्, “पहिला जस्तो न्यानो फर्मल ड्रेसको अभाव छैन, कम लुगा लगाएर पनि चिसोबाट बच्न सकिन्छ ।”
युनिफर्म लगाउने धेरैले चिसो मौसममा फर्मल ड्रेसमा धेरै लुगा लगाउन नमिल्ने गुनासो गर्ने गरेको तर अहिले धेरै लुगा खापेर लगाउनु नपर्ने उनी बताउँछिन् । “भुवा भएका फर्मल प्यान्टमा ओभरकोट लगाउँदा आकर्षक त हुन्छ नै सँगै न्यानो पनि उत्तिकै हुन्छ”, उनी भन्छिन् ।