प्रदेश–१ को वार्षिक आम्दानी ४४ अर्ब
प्रदेश १ सरकारले एक वर्षमा रु. ४४ अर्ब १ करोड ८ लाख आम्दानी गरेको छ ।
सरकार गठनको वर्ष दिन पुगेको अवसरमा ३ फागुनमा प्रदेश प्रमुख गोबिन्दबहादुर तुम्बाहाङले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा मालपोत, संघीय सरकारको अनुदान, सवारी कर, निकासी शुल्क, प्राकृतिक स्रोत बिक्री, वन पैदावार, पर्यटन शुल्कबाट आम्दानी भएको जनाइएको छ ।
कार्यक्रमका अवसरमा मुख्यमन्त्री शेरधन राईले ‘समृद्ध प्रदेश सुखी जनता’को लक्ष्य हासिल गर्न प्रदेश सरकार लागिपरेको बताए । प्रदेश १ मा निजी लगानीकर्ता अनुकुल वातावरण बनाइएको भन्दै राईले कृषि, पर्यटन, जलस्रोत, वन वातावरण, उद्योगलगायतको क्षेत्रमा प्रदेश १ सबैभन्दा अनुकुल भएको दाबी गरे ।
मुख्यमन्त्री राईका अनुसार, किताव र झोलारहीत शिक्षाका लागि प्रदेशका ९५९ वटा विद्यालयमा कम्प्युटर ल्याब स्थापनाको काम शुरु भएको छ । कोसी नदीमा जल यातायात सञ्चालनमा आएको र यसलाई सरकारले तुम्लिङटार र दोलालघाटसम्म बिस्तार गर्न विस्तृत अध्ययन तथा सर्भेको पहल सुरु भएको छ । यस्तै प्रदेशका १३७ वटै पालिकाहरुमा एकैसाथ खेलमैदान निर्माण शुरु हुँदैछ ।
सोचे जस्तो काम गर्न नसकेपनि प्रदेश सरकारका गतिविधिबाट असन्तुष्ट हुन नसकिने प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको भनाई छ । प्रदेश सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि २ सय थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
यो अवसरमा वर्ष दिनसम्म बिभिन्न कार्यालयहरुमा कार्यरत् सवारी चालकदेखि सचिवसम्मलाई प्रदेश सरकारले सम्मान गरेको छ ।