मेसिनगन सहित ९ हजार ९८२ गोली बरामद
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ भरौलामा आज सर्ट मेसिनगन (एसएमजी) एक थानसहित ९ हजार ९ सय ८२ थान गोली फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, स्थानीय खेमराज प्रधानको बन्द भएको कुखुराको फर्ममा माटो मुनि गाडेको हतियारसहित गोली फेला परेको हो । २० लिटरको प्लाष्टिकको ड्राममा हालेर गाडिएको बन्दुक र गोली खिया लागेको अवस्थामा पाइएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।
नेपाली सेनाको विशेष सुराकीले सेनालाई विष्फोटक पदार्थ रहेको सूचना दिएको थियो । उपरीक्षक पोखरेलका अनुसार, प्रधानले २०६७ सालमा खुकुराको फर्म स्थापना गर्दा भुईं ढलान गरेका थिए । त्यसअघि नै कसैले सो ठाउँमा हतियार र गोली गाडेको प्रहरीको भनाइ छ ।
विष्फोटक पदार्थ गाडेको अवस्थामा रहेको सूचना पाएपछि नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीबाट बम डिस्पोजन टोलीसहित प्रहरी पुगेको थियो । सिमेन्टको ढलान फुटाएर खन्ने क्रममा भेटिएको ड्रम माओवादी युद्धकालमा गाडेको हुनसक्ने बताइएको छ ।