नेकपा नेताहरुको आक्रोशः ‘राष्ट्रपति संविधान भन्दा माथि हो ?’
२९ मंसीरबाट जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक तथा महासचिव बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
तर, शनिबारको बैठकमा स्थायी कमिटी नेताहरु ढिलो आए पछि अध्यक्ष दाहालले स्पष्टिकरण नै सोधे । दाहालले स्पष्टिकरण सोध्नुको कारण भने नेताहरु ढिलो आएको भन्दा पनि जानकारी नदिई राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएकोमा थियो ।
बैठक बिहान ११ बजे बोलाइए पनि केही नेताहरु बैठक समय आइपुगेनन् । यसपछि बरिष्ठ नेता झलनाथ खनालले सोधीखोजी गरे । नेताहरु राष्ट्रपतिलाई भेट्न गएको जानकारी अध्यक्ष दाहालले पाइसकेका थिए ।
नभन्दै १२ बजेतिर, एकै पटक नेताहरु बैठक हलमा छिरे । दाहालले सोधिहाले– कहाँ जानु भएको थियो ? केहीबेर जवाफ नआए पछि दाहाल आफैंले संविधान र पार्टी प्रणालीबारे सम्झना गराए ।
राष्ट्रपति भण्डारीलाई भेट्न स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, देव गुरुङ, शंकर पोखरेल र घनश्यााम भूसाल गएका थिए ।
एक स्थायी कमिटी सदस्य भन्छन्, “अध्यक्षले स्पष्टिकरण नै सोधे पछि प्रदीप ज्ञवालीले जवाफ दिनुभयो ।” ज्ञवालीले पूर्व निर्धारित भेटको कार्यक्रम भएको तर, जानकारी दिन नपाएकोमा आलोचित भएका थिए । दाहालले पनि यस्तो गल्ती नगर्न सचेत गराए ।
अध्यक्ष ओली सँग आफू जाँदा भइरहेको आलोचनालाई वेवास्ता गर्दै फेरि गल्ती दोहोरिनु ठीक नभएको दाहालले बताएका थिए ।
"राष्ट्रपतिलाई भेट्न जाने र पार्टी बैठक नै प्रभावित पार्ने कार्यप्रति नेताहरु आक्रोशित नै भए”, ती नेताले हिमाल खबरसँग भने, “राष्ट्रपति पनि संविधान भन्दा माथि नभएको हेक्का राख्नुपर्ने प्रशंग नै उठे ।”
राष्ट्रपति भण्डारीलाई भेट्न बिहान ९ बजे नै नेताहरु शीतल निवास पुगेका थिए । उनीहरु शीतल निवासमै बिहानको खाना समेत खाएर फर्किएका थिए ।