नयाँ सम्बन्ध
ज्या ! मुटु त साटिइसक्यो। ऊ मुस्कुरायो आफैं आफैंमा। यो सम्झिँदा उसले आफ्नै मुटुमा रगत भुलुक्क उम्लेको महसुस गर्यो। मुटुमा गढेको मेधावीको तस्बीरबाट उनी सुटुक्क निस्केर उसको गालामा चढेर त्यसलाई गुलाबी रँगले पोतेर गइन्।
– सुबिन भट्टराई
जीवनको कुनै एउटा मोडमा पुगेर मानवलाई बिहाको तलतल महिलाहरुलाई अमिलो पिरोको तलतल लागेभन्दा उग्र रुपमा लागेर आयो। यसर्थ उसले आफूलाई केटी खोजिदिनका लागि व्यग्र भएर समस्त आफन्तजन, साथीभाइ, इष्टमित्र, नातो नालो, छर छिमेकी, कुल—कुटुम्ब सबैतिर उग्र रुपमा प्रचार प्रसार गर्यो।
आखिर जमाना प्रचारकै रहेछ। यत्रो प्रचार प्रसारको परिणाम राम्रै आयो। केटी हेर्नलाई उसले धेरै कष्ट गर्नु परेन। अर्थात् उसका काकाले ल्याएको एउटी केटीको पहिलो प्रस्ताव नै ऊद्वारा पारित भयो। केटीको नाउँ मेधावी। सरल तर गम्भीर मुहारले पहिलो झलकमै उसमा गहिरो प्रभाव जमाउन सक्यो। मेधावीले पनि उसको भद्र र सोझो व्यक्तित्व मन पराइन् र जिन्दगी बिताउन राजी भइन्।
पात्रो पल्टाउँदै गर्दा सकिनै लागेको असारको पुछारमा केवल एक लगन बाँकी रहेको देखा प¥यो। र क्यालेण्डरमा रहेको त्यो कालो अंकमा उनीहरुको जीवन रातो हुने पक्कापक्की भयो।
बिहाको मितिको टुँगो लागेर आफ्नो घर फर्केपछि उसले आफ्नो घरलाई फेरी लगाउन आउने जोगीले झैं वरपर
चारैतिरबाट नियाल्यो। भित्र कोठा कोठा गएर चहार्यो। घर अब बाँडिन्छ। कोठा अब बाँडिन्छ। खाट अब बाँडिन्छ। मुटु पनि साटिन्छ।
ज्या ! मुटु त साटिइसक्यो। ऊ मुस्कुरायो आफैं आफैंमा। यो सम्झिँदा उसले आफ्नै मुटुमा रगत भुलुक्क उम्लेको महसुस गर्यो। मुटुमा गढेको मेधावीको तस्बीरबाट उनी सुटुक्क निस्केर उसको गालामा चढेर त्यसलाई गुलाबी रँगले पोतेर गइन्।
केवल एक हप्ता बाँकी थियो। हतारमा कामहरु हुन लागे। बिहाको कार्ड, बेहुलीलाई लुगा, बेहुलोलाई सुट, जन्ती लैजाने बस, सिन्दूर, पोते, गहना, ग्रहशान्ति र नान्यमुखीका पूजा सामग्री, भिडियो सुटवाला, पार्टी प्यालेस बुकिङ्ग...काम धेरै समय थोरै। काम गरिदिनलाई उसका परिवारमा बा, आमा, दाजुभाइ, दिदी बहिनी सबै थिए। तिनले नपुगे सहयोगी छर—छिमेकी, कामचलाउ आफन्तजन अनि ज्यानै दिने हदसम्मका साथीभाइ पनि थिए। उसलाई ढुक्कै थियो।
मेधावीलाई उसले जम्मा एक पटक देखेको थियो। त्यसो त अर्को हप्ता बिहा गरेर घर भित्र्याएपछि सधैं देख्न पाउनेवाला नै थियो। तर यस्तो बेलामा धैर्य भन्ने चीज बेहुलीको घुम्टोभित्र उसको अनुहार लुकेझैँ लुकिदिन्छ। अधैर्य भने उसको मन मस्तिष्कमा काउसोसरी पसेको थियो।
अनेक कसरत गरेर बिहेभन्दा पाँच दिन अघि मेधावीको फोन नम्बर माग्न लगायो र कुरा ग¥यो। तीन दिन अघि भेट्न बोलायो। भेट्न जाँदा मेधावीले एउटी बहिनी साथमा लिएर गइन्। ऊ आफ्ना अघिल्तिर दुई केटी देखेर नर्भस भयो। राम्रोसित बोल्न त के ठीकसित अनुहार पनि हेर्न सकेन।
अन्ततः असारको अन्तिम लगन अर्थात् उनीहरुको बिहाको दिन पनि आएरै छाड्यो। टाइसुट र रंगीविरंगी सारीमा आएका जन्तीहरु बिहानैदेखि परेको झरीका कारण छाता ओढेर आएका थिए। बिहाको दिन मानव पुरै बेचैन थियो। सबैको आकर्षण, सबैको केन्द्रबिन्दु थियो। भुइँचालोको केन्द्रबिन्दु झैं, सबैभन्दा धेरै कम्पनपनि उसकै मुटुबाट छुटिरहेको थियो। सबैभन्दा धेरै प्रभाव उसकै छातीमा देखिन्थ्यो।
र, बिहा सकियो।
घरमा दुलही भित्र्याइसकेपछि ऊ एकपटक झसङ्ग भयो। ओहो ! ऊ त विवाहित पो भइसक्यो त। एक्लो कहाँ छ त ऊ अब ?
बिहा भइसकेपश्चात् ऊ घरी घरी यही कुरा मनमा खेलाइरहन्थ्यो। दोहोर्याइरहन्थ्यो। तेहर्याइरहन्थ्यो। र, यही कुराले उसलाई मीठो तृप्ति दिइरहेछ। सन्तोषको सास फेरिरहेछ। साथसाथै कौतूहल, अर्ध उत्तेजना, संकोच, व्याकुलता, थोरै भय, अनि थोरै विजय भावले उसको मनमा आलोपालो गरेर आवतजावत गरिरहेछन्। उसको बिहा भएको दिन। ऊ बेहुलो भएको दिन। जीवनको सत्ताइस वर्ष एक्लै बिताएपछि आएको दिन। धेरै अघिदेखि कल्पना गरेको दिन। र, शायद धेरै पछिसम्म सम्झिइने दिन। कल्पनामा उसले यो दिनलाई खूब सजाएको थियो। पटकपटक सजाएको थियो। उसको बिहाको कार के सजिएको थियो र ? कल्पनामा उसले आफूलाई पनि सजाएको थियो।
आफ्नी दुलहीलाई त झनै सजाएको थियो। जन्ती जाने हरेक व्यक्तिलाई सजाएको थियो। बेहुलीतिरका हरेक आगन्तुकलाई सजाएको थियो। बसलाई सजाएको थियो। कारलाई सजाएको थियो। सम्पूर्ण माहौललाई सजाएको थियो। आकाशलाई सजाएको थियो। धरतीलाई सजाएको थियो। दिनलाई सजाएको थियो। साँझलाई सजाएको थियो। अनि रातलाई त झनै बिछट्टै अभूतपूर्व कलाले कुनै कुशल मूर्तिकारले ढुंगामा छिना चलाएझैँ सुन्दर आकृति दिएर सजाएको थियो।
बिहाको रात।
बिहापछि ऊ आफैंलाई आफ्नो घर नौलो लागिरहेको थियो। नयाँ दुलहीको उपस्थितिमा ती झन् नयाँ लागे। अस्ती भरखरै चिनेकी मेधावी बेहुली बन्दा कत्ति फरक ! उसको घरमा भित्रिँदा कति अलग। उसलाई आफू बसिरहेको टोल नयाँ लाग्यो। छर छिमेकीले आफूलाई नौलो तरीकाले हेरिरहेझैं लाग्यो। आफन्तले आफूलाई गर्ने व्यवहार अघिपछिको भन्दा फरक लाग्यो। ऊ आफैंले आफैंलाई पनि बिगतको आफ्नो आँखाले हेरिरहेको थिएन। उसले आफ्नै जीवनमा आएको परिवर्तनलाई महसुस गरिरहेको थियो।
बिहाको रात उसले आफ्नो कोठालाई सर्सर्ती नियाल्यो। अनि झल्याँस्स भयो। यो एक हप्तामा उसले केही गरेन। कोठालाई खूब सजाउँछु भन्ने उसले सोचेको थियो। कल्पनामा त्यतिबिघ्न सजिएको कोठा यतिखेर झनै भद्रगोल देखियो। धेरै आगन्तुकहरुको ओहोरदोहोर भएकाले कोठाको स्थिति डामाडोल देखिन्थ्यो। जताततै अक्षतै अक्षता अनि फूल छरिएको, कागचका टुक्राहरु, प्लास्टिकका सस्याना त्यान्द्राहरु, अस्तव्यस्त किताबहरु, धुलो मैलो कोठा देखेर उसलाई बिरक्त लाग्यो।
पलङ्ग, दराज अनि दुइवटा पेन्टिङ्ग भने उसले नयाँ किनेर ल्याएको थियो। नभए अरु सबै पुरानै थियो। त्यही पलङ्गमा धरी एउटा तन्ना हालिएको थिएन। पेन्टिङ्ग उसको दराजमाथि सरक्क राखिएको थियो। त्यो भित्तामा टाँग्न पनि भ्याएको थिएन उसले। पर्दाहरु पुरानै थिए। ठाउँ ठाउँका पर्दाका रिङ्गहरु झरेका थिए। पश्चिमतिरको झ्यालको छेस्किनी पसाङ्गिएको थियो, त्यो बनाउन पनि भ्याएनछ। ओहो ! ढोकाकै चुकुल पनि त बिग्रिएको छ। बिहेअघि ऊ ढोका नलगाइकन सुत्थ्यो। केही वास्ता थिएन। तर अब त ऊ विवाहित भयो। उसलाई ढोकाको चुकल नबनाएकोमा भने ठूलो ग्लानि भयो। पर्दा र छेस्किनीको मूल्य विवाहित भएपछि मात्र थाहा हुँदोरहेछ।
बिहेमा आएका आगन्तुकहरु, जो उसको कोठामा बसिरहेका थिए, त्यहाँबाट निस्कनासाथ उसले ढोकाको चुकुल निरीक्षण गर्यो। लगाउनै नसकिने भएको रहेछ। उसको आफ्नै ध्यान त पुगेन, अरुको झन् के पुगोस् ? त्यसो त एक हप्तामै बिहाको टुङ्गो लागेको थियो, के भ्याओस्। बिहा पछि उसको जीवन कस्तो हुन्छ ? उसले केही सोच्न पनि पाएको थिएन।
मरीतरी ठेलठाल पारेर त्यसदिन उसले ढोकाको माथ्लो चुकुल लगायो। तल्लो चुकुल लाग्न नसकेकाले ढोकामा एउटा च्याप रह्यो, जुन बाहिरबाट अलिकति मात्रै ठेलिएमा उसको कोठा छर्लङ्गै देखिन सक्थ्यो। भोलि मिस्त्री बोलाएर ढोका र झ्याल दुवैको चुकुल दुरुस्त बनाउँछु, उसले मनमनै संकल्प गर्यो।
त्यो रात दुलही लुगा फेरेर आफूलाई थकाइ लागेको बताउँदै सुतिहालिन्। उनीहरुबीच सामान्य गफसम्म पनि हुन पाएन। निदाइरहेकी मेधावीलाई उसले निक्कैबेरसम्म हेरिरह्यो मन्द मुस्कुराउँदै छाती फुलायो।
घरमा आएका आगन्तुकहरु सबै फर्किइसकेका थिएनन्। उसको घर एक किसिमले भीडभाडकै अवस्थामा देखिन्थ्यो। ऊ बिहान उठेर सबैभन्दा पहिला मिस्त्री खोज्न गयो। मिस्त्री गाउँ गएकाले एक दुई दिनमा आउने खबर उसले पायो। अन्त पनि एक, दुई ठाउँमा खोज्न गयो, कसैले नभ्याउने बताए त कोही साइटमा गएको जानकारी लिएर फिर्ता भयो।
कोठा चाहिँ अलिअलि भएपनि बनाउँदै गर्नुपर्ला। फर्कंदै गर्दा उसले सोच्यो।
फर्कँदै गर्दा मेधावी कोठा बढारिरहेको फेला परिन्। उसलाई माया लागेर आयो। बिचरी आएकै भोलिपल्ट के दुःख बिसाएकी होली। उसले पत्नीका अघिल्तिर कुचो लिन खोज्दै भन्यो पनि, ‘छोड्देऊ म गर्छु। आउँदा आउँदै के दुःख बेसाउँछ्यौ ?’
‘भैगो,’ मेधावीले उनको मुहारमा हेर्दै नहेरी भनिन्, ‘म गरिहाल्छु नि।’
ऊ पर्दाका रिङहरु मिलाउनुपर्यो भनी त्यता लाग्न आँट्यो। बाहिरबाट बोलावट भयो, घरमा पूजा हुँदैछ। ऊ नुहाउनतिर लाग्यो। दुलही पनि पूजातर्फ लागिइन्।
घरबाट आगन्तुकहरु बिस्तारै घट्दै गए। भीडभाडमा उनीहरु एक आपससँग ठीकसँग बोल्न पनि पाएका थिएनन्। भीड घट्दै गएपछि उनीहरुबीच छिटपुट संवाद र हेराहेरले ठाउँ पायो।
घर अलिक खाली खाली भएपछि ऊ आफैँ कोठाको सरसफाइमा तात्यो। कोठाका कुनाकाप्चाबाट धुलो र फोहर निकाल्यो। पर्दाका रिङ मिलाउने फुर्सद बल्ल उसलाई मिल्यो। एक एक गर्दै पर्दाका रिङहरु मिलाउँदै गर्दा दुलहीले पनि पर्दामा रिङ हालिदिएर सहयोग गरिन्।
दुवैजना एउटै सोफामा बसेर काम गरिरहेछन्। र बेला बेलामा एक अर्काका आँखामा अर्कोले थाहा नपाओस् भनेर हेरिरहेछन्। तर घरी घरी आँखा जुधेरै छाड्थ्यो। ऊ छेउमा आफ्नी नयाँ दुलहीको उपस्थितिलाई लिएर बिछट्टै आनन्द महसूस गरिरहेछ।
एउटा नौलो र अद्भुत गन्धले ऊ लट्ठिरहेको छ। बोल्ने शीर्षकहरु धेरै छैनन्। छुने बहाना छैन। केही अगाडि बढौं झैं लाग्छ, तर खै केले हो अल्झाइरहेछ। असन्तुष्टिको तडप आफ्नो ठाउँमा होला तर सन्तुष्टिको अलग अनुभूति पनि ऊसँग यतिखेर छ। त्यसैले त अघिपछि सधैँ झर्को लाग्ने कामले उसलाई यसपटक रोमाञ्चक अनुभूति दिइरहेछ।
नव दुलहीलाई पनि बडो बेग्लै अनुभव भइरहेछ। एकातिर उनी घरी घरी ऐनामा आफ्नो सिन्दुर र पोते सहितको हुलिया देखेर आफैंमा विस्मित भइरहेकी छिन् भने पतिलाई छेउमा पाउँदा अलिकति रोमाञ्चक र अलिकति डरको मिश्रित अनुभूति गरिरहेकी छिन्। मानव उसलाई पहिलो भेटबाटै प्यारो लागेको थियो। पुक्क पुक्क पाउरोटीजस्ता गाला अनि त्यही गालामा पर्ने डिम्पल, नदीको भुमरी पर्ने ठाउँजस्तो उनलाई लागिरहेथ्यो, जसमा उनी डुब्ने तरखरमा थिइन्।
पर्दा भित्तामा टाँगियो। अब पालो बरण्डाको सरसफाइको थियो। दुवैजना मिलेर गरे। सफाइ गर्नुअघि मानवले दुइवटा मास्क किनेर ल्यायो। एउटा मेधावीलाई दियो, एउटा आफूले लगायो। मेधावीले सारी कम्मरमा बाँधिन् र कुचो लगाइन्। फोहोर मानवले उठायो र डस्टबिनमा लगेर फ्याँकिदियो। त्यसपछि पानीले सप्पै भुइँ पुछे टिलिक्क पारे। झ्यालका सिसाहरु कोलिनले घोटी घोटी पुछे। उनीहरुको कोठा र बरण्डा बल्ल सफा र सुग्घर देखियो।
मेधावीलाई चोलोमा इस्त्री लगाउन पर्यो। मानव इस्त्री खोज्नतिर लाग्छ। फेला पर्छ त एउटा तार चुँडिएको इस्त्री। कसले चुँडाल्यो ? केही दिनअघिसम्म ठीक थियो। न मुसाले खायो कि ! मेधावीलाई सगल्ती इस्त्री दिन नपाएकोमा उसलाई घरका सबै सदस्यप्रति झोँक चल्यो। एकपटक ‘कसको काम हो यो ?’ भनी झोंक्कियो पनि।
तर रिस शान्त पार्दै उसले मेधावीलाई लगेर चुँडिएको तार देखायो। इस्त्रीको चुँडिएको तार देखेर उनी हाँसिन् र पतिलाई बिल्ला गरिन्, ‘यसलाई आगोमा तताएर लगाउनु ?’
उनको मिठो हाँसो देखेर उसले आफूलाई रोक्न सकेन। सँगसँगै लागेर हाँस्यो।
मेधावीले भनिन्, ‘जोड्ने पनि कि हाँसेरै बस्ने ?’
ऊ टेप खोज्न लाग्यो। कहाँ कहाँ खोज्यो, कहीँ भेटेन। मेधावीलेपनि मिल्नेजति ठाउँमा खोजिदिइन्। अब उनीहरुबीच प्रतिस्पर्धा नै हुन लाग्यो, कसले भेट्टाउने टेप ?
‘कहाँ राख्नुभाथ्यो याद छ ?’ उनी मुसुमुसु हाँस्दै सोध्छिन्। किनकि टेप उनले अघि नै भेटिसकेकी थिइन्। जिस्किरहेकी थिइन्। उनलाई बडो मज्जा लागिरहेको थियो।
‘यहिँ किताबको र्याकमै थियो,’ यो पाँचौ पटक भयो उसले किताब राख्ने र्याकमा खोजेको। तर भेट्दैन। निकै बेरपछि पतिको मायाले होला उनी कराइन्, ‘यी भेटियो !’
‘कहाँ रैछ ?’
‘यहिँ झ्यालमा,’ मनमनै बेजोड उठिरहेको हाँसो थाम्दै उनले झूट बोलिन्। ऊ नपत्याइरहन सकेन।
‘भित्तामा पेन्टिङ्ग टाँग्न त अझ बाँकी नै छ,’ अर्कोदिन उसले मेचमाथि चढेर ¥याकका किताबहरु पुछिरहेकी मेधावी नजिक गएर उँधोमुन्टो लगाउँदै भन्यो।
‘टाँगौ न त।’ मेधावीले पुछिसकेको एउटा किताब ¥याकमा मिलाएर हालिन् अनि तलतिर हेर्दै भनिन्, ‘हतौडा र किल्ला कहाँ छ ?’
उसले दराजको घर्रामा राखेको हतौडा र किल्ला निकाल्यो।
‘यहाँ कस्तो होला ?’ उसले पूर्वतिरको भित्ता देखाउँदै भन्यो।
‘नाइँ त्यहाँ त ढोका खुल्ला हुँदा अर्कोतिरबाट छेकिन्छ,’अनि पश्चिमतिरको भित्ता देखाउँदै भनिन्, ‘त्यता राख्दा चारैतिरबाट देखिन्छ।’
पहिलो पेन्टिङ्ग उनीहरुले पश्चिमतिरको भित्तामा टाँगे। दोस्रो उत्तरतिर जहाँ झ्याल थिएनन्।
दोस्रो पेन्टिङ्ग टाँग्ने बेलामा मेधावीले अनुहारमा चमक ल्याउँदै भनिन्, ‘कस्तो राम्रो ! यो केटीको आँखाभित्रै कतिथोक अटाएको है ?’ पत्नीलाई आफूले किनेको पेन्टिङ्ग मन परेकोमा मानव गद्गद भयो। हौसिँदै भन्यो, ‘चार हजारमा किनेको। म तिमीलाई यो किनेको ठाउँमा भोलि नै लिएर जान्छु।’ पति चाहिने भन्दा बढी फुर्केकाले मेधावीले मनमनै आफैँलाई भनिन्, ‘कति धेरै फुर्केका !’
ठ्वाङ ठ्वाङ किल्ला भित्तामा गढेको आवाज आयो। उसलाई हतौडा एकपटक आफ्नै हातमा हानौं लाग्यो। प्रयास ग¥यो। ‘ऐय्या,’ सानो प्रहार पनि दुख्ने बनिदियो। मेधावी‘के भो ?’ भनेर आत्तिइन्।
ऊ तल झर्यो। औँलाबाट अलिकति रगत बग्यो। मेधावीले उसलाई सोधेर डेटोल र कपास लिएर आइन्। र कपासमा डेटोल दलिदिँदै लगाइदिन थालिन्। उसलाई यो दुखाइ जीवनकै सबैभन्दा मीठो दुखाइ लाग्यो।
पहिलोे स्पर्श थियो उसको यो। मेधावी उसको एकदमै नजीक भइन्। उनले सास फेरेको समेत उसले महसुस गर्न पायो। कति मिठो बास्ना आउँदोरहेछ मेधावीको शरीरबाट। उनको सासले उसको घाँटीलाई कुत्कुत्याइरहेको थियो। उसलाई औँलाबाट बग्ने रगत नथामिदेओस् जस्तो लाग्यो।
नयाँ दुलही भित्रिएकी छिन्। कोठामा छिन छिनमा कोही न कोही आइरहन्छन्। कहिले उसलाई बाहिर जानुपर्ने हुन्छ, कहिले नयाँ दुलहीलाई। उनीहरुले एकान्त त्यति पाउँदैनन्।
ढोकामा तलतिरको चुकुल भने अझै बनाउन पाएको छैन। आजपनि मिस्त्री फेला परेन। भोलि त आफैँ भएपनि बनाउँछु। उसले मनमनै सोच्यो।
उनीहरु राती हलुका गफ गर्ने अवस्थासम्म उक्लिएका थिए। एक आपसका रुचिहरुका बारेमा सोध्न थालेका थिए। भरखर परिचय भएका दुई क्लासमेटहरुजस्ता कुरा उनीहरुका बीचमा हुन्थ्यो। एकदमै सरल। खाटमा करीब एक फिटको दुरीमा पल्टिएर एक आपसतिर हेरेर उनीहरु कुरा गर्न लागे।
मेधावी यस्ता कुराहरु सुनाउँथिन्, ‘घरमा भाइ र मेरो धेरै झगडा पथ्र्यो, बोलचालै नहुनेगरी।’
‘ममी त मेरो बेस्ट फ्रेण्ड हो।’
‘बाबा धेरै कडा। अगाडि पर्न पनि डर लाग्छ।’
‘लभ म्यारिज गर्न मलाई कहिले मन परेन।’
‘दुइपटक पोखरा गएकी छु। मनाङ जाने इच्छा छ।’
मानव पनि आफ्ना कुराहरु सुनाउन थालेको थियो।
‘तिमीअघि कोही केटी हेरिनँ।’
‘कलेजमा एकजना केटी मन त पथ्र्यो तर त्यसले आफूलाई कहिल्यै हेरिन।’
‘एकपटक कलकत्तासम्म पुगेको थिएँ। तर समुद्र हेर्न नपाइ फर्किनुप¥यो। समुद्रमा नुहाउने ठूलो रहर छ।’
‘एउटा मिल्ने साथी थियो जो प्लेन दुर्घटनामा मरेको ठ्याक्कै एक वर्ष भो। आज पनि याद आउँछ।’
यी यावत् कुराहरु। एउटा कुरासँग अर्को कुराको सम्बन्ध हुँदैनथियो। तर उनीहरु एक आपसलाई सुनाइरहन्थे। सुन्ने मुग्ध भएर सुनिरहेको हुन्थ्यो। भन्नेलाई झनै हौसला मिल्थ्यो। राती अबेरसम्म उनीहरुहरुको कोठाबाट घरी माहुरीझैं गुनगुनगुन जान्थ्यो, घरी अनायासका खित्काहरु प्रसारित भइरहेथ्यो।
अर्कोदिन उनीहरु पसाङ्गिएको झ्याल र ढोकाको तल्लो र माथ्लो दुबै चुकुल बनाउन लागे। पसाङ्गिएको झ्यालका लागि बाहिरपट्टि ऊ गयो र भित्रबाट पत्नीलाई झ्याल लगाउन लायो।‘ अलिक जोडले,’ मेधावी भित्रबाट कराउँथिन्।
‘ठेल्दै त छु,’ मानव बाहिरबाट बल लगाएर जवाफ दिन्थ्यो।
ढोकाको लागि उसले नयाँ चुकुल किनेर ल्यायो र नापजाप गरेर ठोकठाक पार्यो।
‘हथौडा हातमा हान्ने होइन नि त्यहाँ,’ मेधावीले मस्किँदै हपारिन्।
‘कसरी थाहा पायौ ?’ ऊ झसङ्ग तर्सेर यो सोध्न पुग्यो।
‘के साँच्चिकै जानाजानी हान्नुभाथ्यो र ?’ आँखा ठूल्ठूला बनाउँदै मानवतिर हेरिन्।
पत्नीले आँखैमा घुरेर हेर्दै सोधेकी थिइन्। ऊ लाजले भुतुक्कै भयो। निक्कैबेरसम्म केही जवाफ दिन सकेन।
मेधावीले नै सोधिन्, ‘किन त्यस्तो गर्नुभा ?’
‘होइन होइन,’ उसले आफ्ना आँखा पत्नीको आँखाको सम्पर्कबाट चुँडालेर अन्यत्रै लग्यो।
‘खूब ! किन त्यसो गर्नुभो भन्नुस्,’ भनेर र्याखर्याख पार्न लागिन्। ऊ लाज मान्दै कुरा छक्याउन मात्र खोजिरह्यो।
चुकुल बन्यो। ढोकाका दुवै चुकुल लाग्दा उनीहरुले बेग्लै संसारमा प्रवेश गरेको अनुभूति गरे। ढोकाको चुकुल लाग्ने भएपछि उनीहरु आपस्तमा झनै खुल्ने हुँदै गए। झ्यालका पर्दाहरु ठीक हुनुले उनीहरुबीचको पारदर्शिता बढ्दै गयो। कोठा आफ्नो ढंगमा आएपछि उनीहरुले पनि आफ्नो रङ्ग देखाउन थाले।
सबै चीजहरु यसरी बन्दै गए। बिग्रिएका सब चीज ठीक ठाउँमा आए। केही बिग्रने चीजले अरु कुनै चीजलाई बनाउँदो पनि रहेछ, जस्तो कि उनीहरुको सम्बन्ध। ती चीजहरु बिग्रँदा उनीहरु टाढा थिए। ती चीजहरु सबै बनिसक्दासम्म उनीहरु नजिक भए। बनेपछि ती बिग्रिएका सबै चीज सुन्दर देखिए। र देखियो उनीहरुको सम्बन्ध पनि अझ सुन्दर। अझ प्रगाढ।
उनीहरुको सम्बन्ध जो यी र यस्तै बिग्रिएका चीजहरु बनिसकेपश्चात् झैं दुरुस्त भयो। उनीहरुको सम्बन्ध, जस्तो कि भर्खरै ठोकिएको किलाजस्तै नउक्किने हुँदै गयो र भित्तामा टाँगिएको पेन्टिङ्गझैं चित्ताकर्षक। इस्त्रीको तार गाँसिएझैं राम्रोसित गाँसिन पुग्यो। उनीहरु दुवैले आआफ्नो विश्वासको कुचोले सम्बन्धमा पस्न खोजेको धुलोलाई पनि पछिपछिसम्म बेला बेलामा बढारिरहे।
(समर लभ, साया, मनसुन, प्रिय सूफी जस्ता युवावयका चर्चित उपन्यासहरुका सर्जक सुबिन भट्टराईको पहिलो पुस्तक भने कथासङ्ग्रह थियो–कथाकी पात्र। लेखकको अनुमतिमा उनको यो कथा पुनःप्रकाशित गरिएको छ।)