नेकपा सचिवालयमा महिला समावेश गर्न दाहाल तयार !
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल पार्टी सचिवालयमा दुई जना महिला थप गर्न सहमत भएका छन् । स्थायी कमिटीमै फरक लिखित प्रतिवेदन पेश भए पछि अध्यक्ष दाहाल सकारात्मक देखिएका हुन् ।
दाहालले यसबारे स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र पम्फा भुसालसँग छलफल समेत गरिसकेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको स्थायी समिति बैठकमा महिला थप गर्न सकारात्मक भएका छन् । अध्यक्ष दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर थप निर्णय लिने बताएका छन् ।
“महिला विहीन सचिवालयको तस्वीर र भिडियो सधैं सञ्चार माध्यममा देख्दा पार्टी आलोचित भयो, त्यसैले कम्तीमा दुई जना महिला राख्नुपर्छ भन्ने विषय कुरा उठाएका हौं”, स्थायी कमिटी सदस्य शाक्यले भनिन् ।
नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा दुई जना मात्रै महिला सदस्य छन् भने सचिवालयमा एक जना छैन । २९ मंसीरबाट जारी स्थायी कमिटीमा शाक्य र भुसालले पार्टीको केन्द्र देखि स्थानीय तहसम्मै कम्तिमा उपाध्यक्ष पद महिलाका लागि छुट्टै व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।
वामदेव गौतमलाई उपाध्यक्ष बनाउन विधान नै संशोधनको प्रस्ताव आउने तर, महिलाबारे केही नबोलिएको आक्रोश पछि दाहालले सचिवालय बढाउनेबारे छलफल गरेका छन् ।
“पार्टी र आन्दोलनमा महिलाको सक्रिय सहभागिता र योगदानलाई आधार मान्दै नेतृत्वमा पनि उचित र न्यायिक व्यवस्थापन हुनुपर्छ हाम्रो माग हो”, भुसालले भनिन् ।
शाक्य त पार्टी एकीकरण अगाडि एमालेको निर्वाचित उपाध्यक्ष नै हुन् । तर, एकीकरण पछि बनेको नेकपाको ९ सदस्यीय सचिवालय उनी अटाइनन् ।