अब नेपालकै विद्युतीय ‘यात्री मोटरसाइकल्स्’
‘यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’ को काम सकिएको छ, र अशिम पाण्डेको यो टोलीले भोलि बिहीबार यो परियोजनाको औपचारिक ‘लन्च गर्दैछ ।
सानै उमेरमा मोटरगाडीप्रति रुचि राख्ने अशिम (३०) ले नेपाल आएर, स्वदेशी ब्राण्डको कम्पनी खोल्छु भन्ने कहिल्यै सोचेका थिएनन् । पाण्डेले नेदरल्याण्ड्सको ‘डेलफ्ट युनिभर्सिटी अफ टेक्नोलोजी’ (टीयू डेलफ्ट) बाट स्नातकोत्तर तहको अध्ययन पूरा गरेपछि सुपर कार निर्माता कम्पनी ‘डोंकरभूर्ट’ लगायतमा दुईवर्ष भन्दा बढी काम गरे।
त्यहाँका कम्पनीले चारपाङ्ग्रे गाडी कसरी निर्माण गर्दा रहेछन् भन्ने ज्ञान प्रयोगात्मक हिसाबले सिक्न पाएको उनी बताउँछन् । ‘डोंकरभूर्ट’ कम्पनीमा काम गर्दा सिकेको ज्ञान नेपालमा समेत प्रयोग गर्न सके देशका लागि धेरै फाइदा हुने सोचले नेपालमा काम गर्ने योजना बनाउन थाले । सन् २०१७ मा नेपाल फर्केपछि कम्पनी खोल्ने योजनामा लागे, अशिम ।
सन् २०१८ को जूनमा सातजनाको समूह तयार भयो र एउटा कम्पनी दर्ता गरियो– ‘यात्री मोटरसाइकल्स्’ । ‘यात्री मोटरसाइकल्स्’ को पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’ को काम लगभग सकिएको छ, टोली अहिले बाँकी रहेका केही काममा व्यस्त छ ।
‘यात्री मोटरसाइकल्स्’का संस्थापक अशिम पाण्डेले चेसिस डिजाइन गरेका हुन् । जीरो प्रोजेक्टमा मेकानिकल इन्जिनियर कनिष्क सुवाल इन्डस्ट्रियल डिजाइनर हुन् ।
त्यस्तै मेकानिकल इन्जिनियर अशेष श्रेष्ठले टेस्टिङ, एम्बेडेड सिस्टम इन्जिनियर सुलभ श्रेष्ठले सफ्टवेयर डिजाइन गरेका छन् । ब्याचलर्स इन कम्प्युटर साइन्स सार्थक शर्मा (पौडेल) एप्लिकेसन डेभलपर हुन् । त्यसैगरी इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक इन्जिनियर कृष्ण श्रेष्ठ इलेक्ट्रिक आर्किटेक्चर र बत्सल पान्डेले बिजनेस डेभलपमेन्टको काम हेर्छन् ।
‘यात्री मोटरसाइकल्स्’ नेपालमा पहिलो पटक दुई पाङ्ग्रे विद्युतीय मोटरसाइकल बनाएर (उत्पादन गरेर) बजारमा ल्याउने तरखर गरिरहेको छ। अहिले निर्माणकै क्रममा रहेको विद्युतीय मोटरसाइकलका लागि आवश्यक पार्टपुर्जाहरू आफैंले डिजाइन गर्ने र डिजाइन अनुसारका पार्टपुर्जा तयार गर्ने फ्याक्ट्रीलाई अर्डर दिएर देश बाहिरबाट मगाउने संस्थापक पाण्डे बताउँछन् ।
“नेपालमा उपलब्ध नहुने पार्टपुर्जाहरू आफै डिजाइन गर्छौं र, मेनुफ्याक्चर्स पार्टनर्सका रूपमा रहेका कम्पनीलाई अर्डर दिन्छौं,” उनी भन्छन्, “हाम्रो डिजाइन अनुसारका सामान तयार भएपछि मेनुफ्याक्चर्स पार्टनर्स् कम्पनीले हामीलाई पठाउँछन् ।” विशेष गरेर यूएस, नर्थ अमेरिका, चाइना, भारत लगायत यूरोपेली देशहरू मेनुफ्याक्चर्स पार्टनर रहेको उनले बताए ।
उनले नेपालमा उद्यमीका रूपमा काम गर्दा धेरै चुनौती सामना गर्नुपर्नेे बताए । नेपाल बाहेकका देशमा ‘हाई टेक इन्जिनियर्स’ अध्ययन गर्ने संस्था र देशका ठूला इन्डस्ट्रिजकाे सम्बन्ध निकट हुने भएकाले विद्यार्थीलाई काम गर्न सहयोग पुग्ने अनुभव उनी सुनाउँछन् ।
“आफूले अध्ययन गरेको विषय मानौं, हाइटेक इन्जिनियरिङमा नै केही गर्छु भन्दा मञ्च नै उपलब्ध छैन्,” उनी भन्छन्, “देशको उत्पादनलाई समयमा व्यवस्थित तरिकाले सही ठाउँमा क्रियाशील बनाएर थप सृजनशील हुने वातावरणको निकै अभाव देखें।”
नेपालका युनिभर्सिटीका विद्यार्थीहरूका लागि प्रेरणा होस् भनी यात्री मोटरसाइकल्स्ले देशका विभिन्न विश्वविद्यालयसँग छलफल गरी काम गर्ने वातावरण बनाएको उनले बताए ।
यात्री मोटरसाइकल्स्मा पेट्रोलियम बाइकमा प्रयोग गरिने मेटल भन्दा फरक फाइबर प्रयोग गरिएको उनी बताउँछन् । “विद्युतीय बाइकमा कार्बन फाइबर प्रयोग गरिएको छ जुन निकै हलुंगो र बलियो हुन्छ”, उनले भने ।
अन्य मेटलको तुलनामा कार्बन फाइबर महंगो पनि हुने उनी बताउँछन् । सामान्यतः विद्युतीय मोटरसाइकलको आयु दश वर्षसम्म राखिन्छ, उनले जानकारी दिए ।
विद्युतीय मोटरसाइकलले वातावरण प्रदूषणदेखि आर्थिक भार समेत कम गराउने योजनाका साथ यात्री मोटरसाइकल्स् बजारमा ल्याउन लागेको उनी बताउँछन् । यात्री मोटरसाइकल्स्को डिजाइन गर्नु अगावै फाइनल एलिमेन्ट एनालेसिस् (एफईए) प्रक्रियाबाट मोटरसाइकलको सुरक्षाका विषयमा अध्ययन अनुसन्धान गरी तयार गरिने उनले बताए ।
मोटरसाइकल्स्ले थेग्न सक्ने लोड, जाम धेरै हुने भएकाले मोटरमा पर्ने असर, आउन सक्ने समस्या लगायत कुराहरूमा विशेष ध्यान दिएको उनले बताए । विद्युतीय मोटरसाइकल कस्तो अवस्थामा असुरक्षित हुन्छ ? अथवा असुरक्षाका विषयमा आउने यस्तै स–साना प्रश्नलाई ध्यानमा राखेर यात्री निर्माण गरिएको उनी बताउँछन् ।
उनी भन्छन्, “हामी सुरक्षा संवेदनशीलता र संभावित दुर्घटनाको अवस्था समेतलाई विचार गरेर बलियो र भरपर्दो मोटरसाइकल लिएर आउँदैछौं । प्रयोगकर्ताहरूले सुरक्षा र सहजताको दृष्टिले केही ‘कम्प्रोमाइज’ गर्नुपर्दैन ।”
यात्री मोटरसाइकल्स्का इन्डस्ट्रियल डिजाइनर कनिश्क सुवालले ‘क्याफे रेसर’ बाइकको डिजाइन आधारित हुँदै विद्युतीय मोटरसाइकलको डिजाइन तयार गरेका हुन् ।
सन् १९६० मा भएको ‘मोटो जिपि’ मोटरसाइकल रेसमा भाग लिएका रेसर बाइकहरुबाट प्रेरित भएर तयार गरिएको उक्त डिजाइन निकै आकर्षक छ । “यात्री मोटरसाइकल्स् प्रयोगकर्तालाई सहज र भर्सस्टाइल डिजाइन् भएकाले ‘क्याफे रेसर’ बाइक रोजाइमा परेको हो” उनले भने ।
विद्युतीय बाइक फुलचार्ज हुनका लागि करीब दुई घण्टा लाग्ने अशिम बताउँछन् । एकपटक पूरा चार्ज गरेपछि २ सय ३० किलोमिटर यात्रा गर्न सकिन्छ ।
“पेट्रोलियम बाइकमा २ सय ३० किलोमिटर दूरी पार गर्न सात सय रुपैयाँ बराबरको पेट्रोल लाग्छ तर विद्युतीय मोटरसाइकलमा करीब ७० रुपैयाँले पुग्छ”, उनले भने । यस अर्थमा यात्री मोटरसाइकल्सले उत्पादन गर्ने विद्युतीय मोटरसाइकल प्रयोगकर्ताका लागि निकै उपयोगी हुने उनी बताउँछन् ।
ब्याट्रीमा इनर्जी स्टोर गरी कन्ट्रोलरको माध्यमबाट मोटर हुँदै करेन्ट प्रवाह गरी ‘पावर ट्रेन’ को प्रक्रियाबाट मोटरसाइकल सञ्चालन हुने भएकाले यात्री मोटरसाइकल्स्ले तयार गरेको विद्युतीय बाइकले नेपाली ब्राण्डका टेक्निकल उत्पादनप्रति रहेको नकारात्मक दृष्टिकोण चिर्न पनि मद्दत गर्ने उनी बताउँछन् ।
यात्री मोटरसाइकल्सले सन् २०१८ मा नेपालका पूर्वदेखि पश्चिमसम्मका अधिकांश मुख्य शहरमा एउटा रिसर्च सम्पन्न गरेको थियो । त्यसक्रममा प्रमुख समस्या के हो भनेर सोध्दा ‘प्रदूषण’ र ‘ट्राफिक जाम’ भन्ने जवाफ प्राप्त भएको थियो । यसले पनि नेपालमा विद्युतीय मोटरसाइकल आवश्यक रहेको तथ्य उजागर गरेको छ ।
पाण्डे भन्छन्, “अहिलेको आवश्यकता विद्युतीय मोटरसाइकल यात्री मोटरसाइकल्सले पूरा गर्न सक्छ भन्ने विश्वास लिएका छौं ।”