अफगानिस्तानमा ८० लडाकू मारिए
अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन् ।
देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।
अफगानिस्तानको पूर्वी भागमा रहको घाज्नी प्रान्तमा बुधबार विहान ११ जना मारिएका छन् भने अरु ६ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिए ।
उनका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुई जना घाइते भएका छन् । त्यसैगरी विशेष सुरक्षा एकाइले तालिवान लडाकूहरुविरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ ।
लडाकूहरूको आश्रयस्थलमा मंगलबार आक्रमण भएको र घटनामा परी कम्तीमा ५३ जनाको मृत्यु भएको विशेष सुरक्षा एकाइका प्रवक्ता अब्दुल घाफार नुरिस्तानीले जानकारी दिए ।
कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी २५ भन्दा बढी लडाकू मारिएको सुरक्षा स्रोतले जानकारी दिएको छ । कान्दाहार प्रान्तको शाह वालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका सैन्य अधिकारीद्वारा बुधबार जारी वक्तव्यमा जनाइएको छ ।
जारी वक्तव्यमा लडाकूविरुद्वको खोजी तथा कारबाही अभियान जारी रहेको र केही लडाकूहरू घाइते भएका थप जानकारी दिइएको छ ।
सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन । कान्दहर प्रान्तमा तालिबान लडाकूहरू सक्रिय रहेका छन् । तर उनीहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ ।