इजाजत बिनै ब्यांकिङ कारोबार गर्ने पक्राउ
इजाजत नलिई पासबुकसमेत वितरण गरेर ब्यांकिङ कारोबार गर्ने सुनसरी इटहरीका दुई व्यक्तिलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
कान्तिपुर गहना भण्डारका नाममा पासबुक वितरण गरेर रकम संकलन गरी कारोबार गर्दै आएका इटहरी ८ का सुभाष श्रेष्ठ (४८) र इटहरी ९ का दोर्ण श्रेष्ठ (३६) लाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
बढी ब्याज दिने आश्वासन दिएर उनीहरूले सर्वसाधारणबाट रकम लिने गरेका थिए । कारोबारमा संलग्न अरु दुई जना फरार रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार, ६ जनाले उनीहरू विरुद्ध जाहेरी दिएका छन् । उनीहरूको जम्मा रु २० लाख ४६ हजार ठगि भएको पाइएको र अरु व्यक्तिको रकम पनि ठगिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
उनीहरूलाई ठगी मुद्दामा कारवाही गर्ने तयारी भएको प्रहरीको भनाइ छ ।
गहना भण्डारले इटहरी ८ की मधुमाया कटुवालको रु ४ लाख ८६ हजार, मनिका कटुवालको ६ लाख ६० हजार, कमला श्रेष्ठको रु २ लाख, बराहक्षेत्र २ चतराकी रञ्जीता कटुवालको रु ७० हजार, इटहरी ५ की तारा आचार्यको रु १ लाख ठगी गरेको जाहेरी परेको छ ।
यस्तै मोरङ सुन्दर हरैंचा ५ का लालचन्द्र बस्नेतको रु ५ लाख २९ हजार पनि श्रेष्ठद्वयले ठगी गरेको पाइएको छ ।