महाधिवेशनमा अग्रज पत्रकारलाई पुरस्कार
नेपाल फोटो पत्रकार महासंघको पहिलो केन्द्रीय महाधिवेशनमा अग्रज पत्रकारद्वय मोहन भण्डारी र हर्ष सुब्बालाई जनही रु २१ हजार १ सय राशिको पुरस्कारसहित सम्मान गरिने भएको छ ।
प्रदेश १ को राजधानी विराटनगरमा ३ र ४ पुसमा हुने महाधिवेशनमा प्रदेशलाई कार्यक्षेत्र बनाई ४ दशकदेखि नियमित पत्रकारिता गर्दै आएका भण्डारी र सुब्बालाई सम्मान र पुरस्कार दिइने भएको हो ।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलनमा प्रदेश १ का अध्यक्ष वेदराज पौडेलले पञ्चायतदेखि हालसम्म निरन्तर र सक्रिय पत्रकारिता गर्दै आएका अग्रजहरूलाई सम्मान गर्ने निर्णय गरिएको बताए ।
महासंघका केन्द्रीय महासचिव हरि रेग्मीका अनुसार महाधिवेशनमा ६४ जिल्लाका फोटो पत्रकारहरूको सहभागिता रहने जनाइएको छ ।
नेपाल भ्रमण वर्षका अवसरमा फोटो पत्रकारहरूको विराटनगरमा हुने भेलालाई प्रदेश सरकार र विराटनगर महानगरपालिकाले प्रायोजन गर्ने भएको छ ।
फोटो पत्रकारहरूलाई ऐतिहांसिक विराट राजाको दरबार, सुनसरीको बर्जु ताल, कोशीटप्पु र बराहक्षेत्रको समेत अवलोकन गराइने आयोजकले जनाएको छ ।