अन्तर्राष्ट्रीय सम्मेलनमा मैथिली आइकन छानिने
विराटनगरमा हुने अन्तर्राष्ट्रीय मैथिली सम्मेलनमा मैथिलीभाषी आइकन छानिने भएको छ ।
नेपाल र भारतका २४ जना आइकन छनोट भइसकेको र अन्य देशमा रहेकाहरूको नाम संकलन हुँदै गरेको आयोजकले जनाएको छ ।
मैथिली भाषा, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मैथिली एशोसिएशन नेपालले आगामी ६ र ७ पुसमा १७ औं अन्तर्राष्ट्रीय मैथिली सम्मेलन गर्ने भएको छ ।
आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनका अध्यक्ष प्रवीणनारायण चौधरीले अमेरिका, मलेसिया, साउदी र कतारमा रहेका मैथिलीभाषीहरूलाई पनि आइकन छानिने बताए ।
नेपाल र भारत बाहिर रहेका मैथिलीभाषीलाई सम्मेलनमा अनलाइन सहभागी गराइने उनको भनाइ छ । प्राचीन मैथिली संस्कृति प्रति अभिरुचि बढाउँदै भ्रमण वर्षलाई सहयोग पुर्याउन गर्न लागिएको सम्मेलनलाई प्रदेश १ र २ सरकारले पनि सहयोग गर्ने भएको छ ।
सम्मेलनमा मिथिला चित्रकला, मैथली परिकारलगायतको प्रदर्शनीका लागि २० वटा स्टल राखिने भएको छ ।
यस खाले सम्मेलन नेपाल र भारतका विभिन्न सहरमा १६ वटा भइसकेका छन् । हिन्दीभाषाले मैथिलीलाई दबाएको प्रति चिन्ता गर्दै अगुवाहरूले मिथिला संस्कार आजका युवा माझ पुर्याउनु आवश्यक रहेको बताए ।
“मिथिलाका प्रवासीहरू भाषा, भेष र भुषण त्यागेर पहिचान विहीनताको शिकार भएका छन्”, अध्यक्ष चौधरीले भने, “उनीहरूलाई पुनः आफ्नो मूल र मौलिक संस्कारमा फर्काउन सम्मेलनले मुख्य भूमिका खेल्छ ।”
सम्मेलनमा झाँकी प्रदर्शन गर्नुका साथै मैथिली, भोजपुरी, थारु, राजवंशी, हिन्दी, मारवाडी र नेपाली भाषाका कविद्वारा कविता, गीत, गजल प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
२ सय ५० जना मैथिली अगुवाहरू प्रतिनिधि बनेर आउने सम्मेलनमा रु २१ लाख खर्च हुने मैथिली अगुवा पंकज वर्माले बताए ।