मुस्लिम संघ मोरङमा विवाद
नेपाली कांग्रेसको भ्रातृ संगठन मुस्लिम संघ मोरङमा कार्यसमिति छनोटमा विवाद भएकाले अध्यक्ष मात्रै चयन गरिएकाे छ।
विराटनगरमा शनिबार भएको अधिवेशनलाई एक पक्षले बहिष्कार गरेपछि अर्को पक्षले पदाधिकारी घोषणा गरेको छ ।
अधिवेशनमा सहभागीमध्ये आधाजसोले बहिष्कार गरेपछि घोषणा गरिएको समितिलाई पार्टीले हस्तक्षेप गरेर भंग गर्ने तरुणदलका स्थानीय नेता निजाम खानले बताए ।
उनका अनुसार, अध्यक्ष पदमा मोहम्मद आजाद सर्वसम्मत भएपछि अरु पदका लागि परेको उम्मेदवारीमा विवाद भएको हो।
मतदान प्रक्रियामा जान नमानेपछि आफूहरूले अधिवशन स्थगनको माग गर्दै निर्वाचन समितिलाई निवेदन दिएर बहिष्कार गरेको खानले बताए ।
मुस्लिम संघका अगुवा तथा अभिनेता सलिम अन्सारीले प्रतिनिधि छनोट नै नभएका व्यक्तिहरूले उम्मेदवारी दिएको र बहिष्कार गरेकाले बाँकी रहेकाहरूबाट समिति घोषणा गरिएको दाबी गरे । “सबै हाम्रै दाजुभाइ उपस्थित भएको अधिवेशनमा केही रुष्ट भएपनि मिलाएर लगिएको छ”, उनले भने ।
कार्यक्रम उद्घाटनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी, पार्टीका मोरङ सचिव नागेश कोइराला, विराटनगरका मेयर भिम पराजुली पनि सहभागी थिए ।
अधिवेशनमा विवाद भएको स्वीकार्दै कांग्रेसका जिल्ला सचिव कोइरालाले पार्टीले समस्याको व्यवस्थापन गर्ने बताए । “एकतर्फी समिति घोषणा भएको खबर आएको छ, पार्टीले सबैको भावना समेटेर व्यवस्थापन गर्छ ।”
मुस्लिम युवाहरू २७ जनाले हस्ताक्षर गरेर आइतबार नेपाली कांग्रेस मोरङका सभापतिलाई अध्यक्ष बाहेक सबै पदमा सहमति नभएको जनाएका छन् ।
उनीहरूले निष्पक्ष रुपमा छानविन गर्न पार्टीलाई आग्रह गरेका छन् । निआजादको अध्यक्षतामा बनाइएको २१ सदस्यीय समितिमा उपाध्यक्ष साजन मिया, सचिव बदरुद्धिन अन्सारी, सहसचिव मुन्ना बेग, कोषाध्यक्षमा जेवा खातुन रहेका छन् ।