खेलाडीलाई पारिवारिक साथ
खेलेर जीवन धान्न सक्ने अवस्था भयो भने ‘खेलाडी’ प्रति सबै आमाबुवा सकारात्मक बन्छन् तर खेलकुदमय वातावरण तयार गर्न राज्य पनि उत्तिाकै जिम्मेवार हुनुपर्छ।
धेरैको अनुभवमा व्यक्तिलाई परिवारको साथ हुँदा सफलता पाउन सहज हुन्छ । परिवारको सहयोग भए खेलकुदमा समेत सफलता पाउन सहज हुन्छ भन्ने १३औं दक्षिण एशियाली खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीहरुबाट पनि थाहा हुन्छ ।
सागमा भाग लिएका खेलाडीहरुको मनोबल बढाउन परिवारका अभिभावक वा सदस्य स्वयं खेलकुद स्थलमा आएर हौसला बढाइरहेको उत्साहजनक दृश्य सबैका लागि रुचिकर बन्यो ।
तेक्वान्दोको पुम्से (२९ वर्ष माथि) मा एकै संस्करणमा दुई स्वर्ण जित्न सफल आयशा शाक्य, (१७–२३) मा सिना मादेन लिम्बू, तेक्वान्दो पुम्से (४६ केजीमुनि) काजल श्रेष्ठ, कराँतेकी सुनिता महर्जन (६५ केजी मुनि तौल) र एकै संस्करणमा व्यक्तिगत चार स्वर्ण दुई रजत र तीन काँस्य जित्न सफल कीर्तिमानी गौरिका सिंह लगायतका खेलाडीहरुले आमाबुवा, श्रीमान्सँग खुशी साटेको तस्वीरले धेरैको ध्यान खिच्यो ।
धेरै जना त ‘सिनियर’ र साथीभाइसँग खेल्दाखेल्दै ‘खेलाडी’ भएका छन् । परिवारमा दाजुभाइ, दिदीबहिनी अथवा आमाबुवामध्ये कोही ‘खेलाडी’ भएको कारण खेलकुदमा लागेर ‘खेलाडी’ बन्नेहरु थोरै मात्रै छन् । सिना मादेन लिम्बू तेक्वान्दो (४६ केजीमुनि) की स्वर्ण पदक र समूहगत प्रतिस्पर्धामा काँस्य पदक विजेता हुन् । उनले सानैदेखि तेक्वान्दो खेल्न थालेकी हुन् । उनको परिवारमा दुई दिदीहरु रितु (छैटौं राष्ट्रिय खेलकुदकी स्वर्ण पदक विजेता), रिचा र उनका बुवा नवीन मादेन लिम्बू सबै खेलाडी हुन् ।
सिनाका बुवा नवीन धरान तेक्वान्दो डोजाङ क्लबका प्रशिक्षक हुन् । उनीहरुको घरमा खेलकुदमय वातावरण छ । सिना भन्छिन्, “हाम्रो त घरमा सबै जना तेक्वान्दो खेलाडी छौं, प्रायः खेलकै विषयमा कुरा हुन्छ । कुरा गर्दा गर्दै बाबाले टेक्निकहरु सिकाउन थाल्नुहुन्छ ।”
नवीन छोरीहरुलाई खेलाडी बनाउन भन्दा पनि शारीरिक तथा मानसिक रुपमा बलियो बनाउन खेलाएको बताउँछन् । उनी भन्छन्, “मेडल जितेर ल्याउन् भन्दा पनि शारीरिक तथा मानसिक रुपमा कोही भन्दा कम महसूस नगरुन्् भनेर खेलाउन थालें । उनीहरुले पनि राम्रो गर्दै गए ।”
प्रशिक्षक मादेन आमाबुवाले छोराछोरीलाई खेलकुदमा लाग्न हौसला दिनुपर्ने बताउँछन् । उनको अनुभवमा बालबालिकाले शुरुमै खेलकुदमा रुचि राख्दैनन् । खेल्दै जाँदा विस्तारै खेलकुदप्रति रुचि बढ्दै जान्छ ।
साथीहरुसँग चिनजान हुँदै जान्छ । घरमा पनि उनीहरुको खेलको विषयमा सोध्ने, राम्रो गरेका छन् भने तारिफ गरिदिने, गर्न सकेका छैनन् भने पनि विस्तारै सक्छौ भनेर हौसला दिएर उनीहरुलाई खेलकुदमा लगाउन सकिने सुझाव दिन्छन् ।
खेलकुदमा लागेका बालबालिका फुर्तिलो तथा तेजिलो हुने उनको अनुभव छ । उनी भन्छन्, “नकारात्मक कुराहरुबाट जोगाउन र कुलतमा फस्ने संभावना घटाउन पनि छोराछोरीलाई खेलकुदमा लगाउन जरुरी छ ।”
खेलकुदप्रति पछिल्लो समयको दृश्य सकारात्मक हुँदै गएको बताउँछिन्, तेक्वान्दो प्रशिक्षक संगीना वैद्य । उनी भन्छिन्, “अहिलेका खेलाडीहरुलाई परिवारको साथ छ, यस पटकको सागले पनि यही प्रमाणित गर्छ ।” कमै बालबालिकाले मात्रै परिवारको साथ पाएको उनको अनुभव छ । उनको अनुमानमा खेलाडीको अवस्था देखेर पनि केही आमाबुवा खेलप्रति सकारात्मक हुन नसकेका हुन् ।
महिला राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर इन्दु बर्मा आमाको साथले आज राष्ट्रिय खेलाडी हुन पाएको बताउँछिन् । हरेक आमाबुवाले छोराछोरीको रुचिलाई बुझेर साथ दिनुपर्ने उनको भनाइ छ । खेलकुदमा लाग्दा साथ दिने परिवारको कारण सफलता प्राप्त गर्न सहज हुने उनको अनुभव छ ।
वैदेशिक रोजगारीमा रहेका उनका बुवाले छोरी क्रिकेट खेल्छिन् भनेर समाचार मार्फत थाहा पाएको इन्दु बताउँछिन् । उनी भन्छिन्, “मलाई आमाले क्रिकेट खेल्न नदिनुभएको भए आज म ‘खेलाडी’ हुने थिइनँ ।
गेम जितेपछि प्रकाशित समाचार पढेर मात्रै विदेशमा हुनुभएका बुवाले म क्रिकेट खेल्छु भन्ने थाहा पाउनुभयो ।” उनी स्मरण गर्दै भन्छिन्, “धेरैले केटी भएर क्रिकेट खेल्नुहुँदैन भनिरहेका थिए तर आमाले मेरो रुचिलाई बुझेर साथ दिनुभयो ।” १३औं सागमा नेपाली महिला क्रिकेट टोलीले रजत पदक प्राप्त गर्न सफल रह्यो । ल