अनुचित प्रेम
– मोपासाँ
त्यो रात जापानी ड्रइङ रुममा बसेर तपाईं र मेरो गहिरो कुराकानी भएथ्यो यो तपाईंलाई सम्झना छ के? त्यो झगडा एउटा मानिसको विषयमा भएथ्यो जसले आफ्नी छोरीलाई स्वास्नी तुल्याएको थियो। तपाईं कति अप्रसन्न हुनुभएथ्यो औ मलाई कति कठोर शब्द भन्नुभएथ्यो ! अनि मैले त्यो पापी पिताको पक्ष लिएर के भनेको थिएँ त्यो पनि तपाईंलाई सम्झना छ के? तर अपराधी छैन भनेर आज म सिद्ध गर्नेछु। त्यो कुराको जम्मै विवरण म अब जान्दछु औ आज तपाईंलाई सुनाउँछु। मलाई आशा छ, निश्चय कुनै न कुनै मानिस यस्ता पनि छन् जसले त्यो घटना सुनेपछि मान्छेको भाग्य कहिलेकाहीं विचित्र र डरलाग्दो परिस्थिति उत्पन्न गर्छ जसको विरुद्धमा लड्नु असम्भव छ भनेर मान्नेछन्।
१६ वर्षको उमेरमा त्यो केटीको बिहा एउटा बूढासित भएथ्यो। त्यो एउटा व्यापारी थियो औ त्यसैले धनको लोभमा परेर बिहा भएको थियो, किनभने त्यो केटो बडो सम्पन थियो।
तिनी थिई एउटी सोझी, सुन्दर केटी र लाल वर्णकी, प्रसन्न चित्त भएकी तथा कल्पनाशील। जीवनमा सुख गर्ने त्यसको कति अभिलाषा थियो, तर बिहा भएपछि त्यसका जम्मै सपना र आकांक्षा नष्ट भए, त्यसको हृदय टुक्रा–टुक्रा भयो। जीवनको कठोरता, आफ्नो भविष्यको सर्वनाश औ आफ्नो आशाको पतन यी सबै कुरा एक एक गरी त्यसको मनमा आउन थाले। केवल एउटै अभिलाषा त्यसको हृदयमा रह्यो, त्यो थियो आफ्नो प्रेमको अभाव पूर्ति गर्ने एउटा सन्तानको अभिलाषा। त्यसको सन्तान थिएन।
दुई वर्ष बिते। त्यो एउटा युवकसित प्रेम गर्न थाली। त्यो एउटा २० वर्षको सुन्दर युवक थियो, ऊ त्यस केटीलाई खुब प्रेम गथ्र्यो। आफ्नो प्राणसम्म पनि दिन ऊ तयार थियो, तैपनि धेरै दिनसम्म उसले आफ्नो मनलाई बलियो गरी वशमा राख्यो। त्यो युवकको नाउँ थियो पियेर मार्तेल।
जाडो महीनाको एक रात ती प्राणी त्यही केटीको एकान्त कोठामा कुन्नि कसरी पुगे। ऊ त्यो केटीलाई भेट्न आएको थियो, आगोको छेउमा होचो कुर्सीमा ऊ बसेको थियो। ती दुवै मौन थिए। उनीहरूका ओठ तीव्र इच्छाको ज्वालामा बलिरहेका थिए र उनीहरू आ–आफ्ना ओठलाई जोर्न खोज्दथे। उनीहरूका हात परस्पर एउटाले अर्कालाई अँगालोमा हाल्ने आकांक्षाले काँपिरहेका थिए।
ती दुवै अस्थिर थिए, छक्क परेका थिए। कहिलेकाहीं एउटा बोल्थे, फेरि चुप हुन्थे। दुवैका आँखा जुध्थे, सहसा दुवैको हृदयमा कम्प हुन्थ्यो। प्रकृतिको तीव्र शक्तिको अगाडि नीति र सदाचारको भित्ता आखिर कति बेरसम्म उभिन सक्थ्यो र?
कुन्नि कसरी उसका औंलाहरू एक्कासि अर्काेसित मिसिन गए। यति नै पर्याप्त थियो... मनको अदम्य वेगले उनीहरूलाई परस्परको बाहुपाशमा बाँध्यो। त्यसपछि केही दिनमा त्यो केटीलाई थाहा भयो – ऊ एउटा नयाँ अवस्थामा थिई आफ्नो लोग्नेको? वा प्रेमीको? जान्ने के उपाय थियो र? कुन्नि, प्रेमीकै पो हो कि !’
एउटा ठूलो डर त्यसपछि त्यसको मनमा पस्यो। नानी जन्मनासाथ म मरिहाल्नेछु भन्ने त्यसलाई निश्चय भयो। यसका कारण त्यसले आफ्नो प्रेमीलाई त्यसको मृत्युपछि नानीको जीवनभर पालनपोषण गर्न किरिया हाल्नलाई। ‘त्यस नानीको सुखका लागि जे पनि गर्नेछ र परिआएको बेलामा पाप गर्नसम्म पनि पछि सर्ने छैन’ भनेर बारम्बार उसलाई किरिया हाल्नलाई।
त्यही मृत्युको डरले त्यो बौलाही जस्ती भई। त्यसकी एउटी छोरी जन्मी र जस्तो त्यसलाई डर थियो उस्तै नानी जन्मनासाथ त्यो मरी।
त्यसको मृत्युले युवकको हृदयमा ठूलो आघात पर्यो र उसले शोकको वेग लुकाउन नसक्ने भयो। मृत केटीको लोग्नेलाई पहिलेदेखि नै यो कुराको सन्देह थियो क्यार ! उसले त्यो युवकलाई आफ्नो घरमा नआउन भन्यो। तर त्यो युवकलाई त्यो नानी उसको हो भन्ने विश्वास थियो। त्यो बालिकालाई गुप्त रूपले घरमा शिक्षा दिइन थाल्यो।
कति वर्ष बिते।
जसरी अरू सबैले बिर्सन्छन् उसरी पियेर मार्तेलले पनि बितेका कुराहरू सबै बिस्र्याे र अब ऊ एउटा धनी मानिस भयो। उसले फेरि कसैसित प्रेम गरेन र अविवाहित बस्यो। उसको जीवन साधारण रूपले चलिरहेको थियो। ऊ सुखी र शान्त थियो। आफ्नी प्रेमिकाको लोग्नेका बारेमा अथवा त्यो बालिकाको विषयमा उसले केही समाचार पाउँदैनथ्यो।
एक दिन हठात् बिहानै उसले आफ्नो प्रतिद्वन्द्वी अर्थात् आफ्नी प्रेमिकाको लोग्ने म¥यो भन्ने खबर सुन्यो। यो खबर सुनेर उसको हृदयमा विचित्र भाव, दुःखजस्तो वा पश्चातापजस्तो भयो। त्यो बालिकाको के अवस्था भयो होला? त्यो त आफ्नै सन्तान हो ! त्यसका निम्ति उसले के गर्न सक्थ्यो? सोधपुछ गर्दा के पत्तो पाइयो भने त्यसकी फुपूले त्यसलाई आश्रय दिइछ र ती दुवै साह्रै नराम्रो अवस्थामा थिए।
आफ्नी छोरीलाई हेर्ने तथा त्यसलाई सहायता गर्ने उसलाई इच्छा भयो। केटीकी फुपूसित उसको चिनापर्ची भयो।
तर तिनीहरूलाई उसको नाउँसम्म थाहा थिएन। अब उसको उमेर ४० वर्षको भइसकेको थिया, तर हेर्दा भने ऊ भर्खरकै तन्नेरीजस्तो देखिन्थ्यो। ती दुवैले उसको स्वागत गरे। कसैले सन्देह गर्छ भन्ने डरले उसले त्यो केटीकी आमालाई आफूले चिनेको थियो भन्ने कुरा गरेन।
जुन दिन त्यो केटीलाई उसले प्रथम बैठकमा देख्यो, उसलाई ठूलो आश्चर्य भयो र ऊ डरले काम्न थाल्यो। छोरी होइन किन्तु आमा चाहिं नै उसको सम्मुख उभिएकी छ भनेजस्तो उसलाई लाग्यो !
त्यस केटीको त्यतिकै उमेर थियो; त्यस्तै आँखा, त्यस्तै शरीर अनि त्यस्तै बोली र त्यस्तै हँसाइ पनि ! यस्तो रूप देखेर ऊ भ्रममा प¥यो र बौलाहाजस्तो भयो। उसको हृदयभित्र लुकिरहेको अतीतको प्रेम एक्कासि जागृत भयो।
त्यो केटी आफ्नी आमाजस्तै सुधी र प्रसन्न हृदय भएकी थिई। दुवैले परस्पर हात मिलाए र छिटै ती दुईमा गहिरो मित्रता स्थापित भयो।
आफ्नो घर फर्केर आएपछि उसलाई हृदयको पुरानो घाउ फेरि नयाँ भएजस्तो लाग्यो। आफ्नो हातले मुख छोपेर धेरै बेरसम्म ऊ रोइरह्यो। ऊ रोइरहेको थियो आफ्नै मृत प्रेमिकाका निम्ति ! त्यसको सम्झना गरेर ऊ अपसोचमा डुब्न लाग्यो।
ऊ आफ्नी छोरीकहाँ बराबर जान थाल्यो। त्यसको मुख नहेरेसम्म, मधुर कण्ठ नसुनेसम्म, त्यसको लुगाको स¥याकसुरुक शब्दको अनुभव नगरेसम्म ऊ जीवित रहन सक्दैनथ्यो। त्यो केटी आफ्नै प्रेमिका नै हो भनेर बेला बेलामा उसलाई भ्रम पनि हुन्थ्यो। उसले मरेको र जिउँदोको भेद नै बिस्र्याे। आफ्नो मनमा, आफ्नो विचारमा बितिसकेको सम्झनाले मृत्युलाई पनि बिर्सेर त्यो आफ्नी छोरीलाई आफ्नै प्रेमिकाको रूपले हेर्न थाल्यो। त्यस केटीमा मृत प्रेमिकाको जुन छाया थियो त्यसलाई प्रेम गर्दागर्दै उसले आफैंलाई बिस्र्यो। त्यो केटी आफ्नै छोरी हो भन्ने कुराको विषयमा विचार गर्नेसम्म पनि उसको इच्छा थिएन। उसले त्यसलाई दुई रूपले प्रेम गथ्र्याे कहिले आफ्नी प्रेमिका ठानेर र कहिले आफ्नी प्रेमिकाको स्मृतिचिन्ह ठानेर।
तर त्यो केटीप्रति ऊ जो दुई रूपले र विचित्र प्रकारले प्रेम गथ्र्याे, उसको गरीबी देखेर उसको हृदय रुन्थ्यो।
उसले अब के गर्ने? केही रुपियाँ दिने? तर के भनेर दिने? कुन अधिकारले? तर ऊ एउटा संरक्षक हुन योग्य र निकै पाको देखिंदैनथ्यो, सबैले त्यो केटीलाई उसैकी प्रेमिका हो भनेर ठान्थे। त्यसको अब कुनै मानिससित बिहा गरिदिने त? यो विचार मनमा आउँदा डराउँथ्यो। फेरि शान्त भएर विचार गथ्र्यो त्यसलाई विवाह गर्न कोही मान्ने छैन, किन भने त्यो गरीब र अनाथ छे।
पियरको मनमा के विचार थियो सो त्यो केटीकी फुपूले चाल पाई। पियेर त्यस केटीसित प्रेम गर्छ भनेर उसले बुझी। तैपनि ऊ के कुराका लागि प्रतीक्षा गरिरहेकी थिई सो कुरा ऊ आफैंलाई थाहा थिएन।
एक दिन एकान्तमा बेलुका ती दुवै सोफामा मुखामुख गरेर बसेका थिए। तिनीहरू अस्फुट स्वरमा बिस्तार बिस्तार कुरा गरिरहेका थिए। हठात् उसले त्यो केटीको हात आफ्नो हातमा लियो– आफ्नै बाबुले जस्तो। कति चेष्टा गर्दा पनि उसले त्यो हात छोड्न सकेन, किनभने त्यो केटीले पनि आफ्नो हात नतानेर त्यहीं राखिरही। उसलाई थाहा थियो, जति बेरसम्म उसले त्यसको हात पक्रिरहनेछ उति बेरसम्म उसको वशमा रहन सक्ने छैन, तैपनि उसले त्यो हात छोड्न सकेन। एक्कासि त्यो केटी आफैं उसको बाहुपाशमा आई, किनभने त्यसले पनि उसलाई त्यसरी नै प्रेम गर्थी। त्यसले त्यही उत्कटताले प्रेम गर्थी, त्यो प्रेमको मनोवेग आफ्नै आमाबाट उसले पाएजस्तो थियो।
आवेगमा उसले त्यसको सुन्दर केशमा म्वाईं खान थाल्यो र जब त्यो केटीले आफ्नो टाउको यसो उँभो उठाई, दुवै ओठ एक्कासि जोडिए।
कहिलेकाहीं मानिसहरू बौलाहा हुन्छन्, ती दुई पनि त्यस बेला त्यही दिशामा थिए।
केही बेरपछि ऊ बाहिर सडकमा आयो। सोझै आफ्नो घर जानुबाहेक अरू के गर्ने? उसले अरु केही विचार गर्न सकेन।
तपाईं भन्नुहोला– यसले आत्महत्या गर्नुपर्ने थियो। तर म भन्छु— त्यस केटीले के गर्ने नि? के त्यसलाई पनि उसले मार्ने?
त्यसले पनि उसलाई प्रेम गर्थी। त्यसको तीव्रता थियो जुन प्रेम त्यसले आफ्नी आमाबाट पाएकी थिई। अनि जस्तो त्यसलाई, एउटी कुमारीलाई आफ्नो बाहुपाशमा बाँधेको थियो। त्यसले जे गरी त्यो हृदयको एउटा अदम्य उन्मादको वशमा परेर नै गरी... त्यही हृदय जसले एकछिनमा सबै कुरा बिर्सेर आफूले आफैंलाई पनि बिर्सन्छ, जसलाई उत्तेजनाले भरिएको प्रकृतिले तानेर आफ्नो प्रेमीको आलिङ्गनमा बद्ध गराउँछ !
उसले आत्महत्या गरेको भए त्यस केटीको के दशा हुने थियो ! घोर कलङ्कित र दुःखी भएर त्यसले मर्नुपर्ने थियो।
अब उसले के गर्ने? त्यसलाई छाडिदिने? अथवा धन दिएर अरू कसैसित बिहा गरिदिने? तर उसको हृदय छिया छिया हुने थियो। त्यो धन पनि लिने थिइनँ, बिहा गर्न पनि राजी हुने थिइनँ र प्राण त्यसै दिने थिई ! त्यसले त आफैंले उसलाई समर्पण गरिसकेकी थिई। त्यही मानिसले त्यसको सर्वनाश ग¥यो, त्यसको जीवनको सुख खोसेर लग्यो र त्यसलाई अब अनन्त दुःखमा, अनन्त निराशामा, अनन्त सन्तापमा र एक्लो बाटोमा ल्याएर छोडिदियो अथवा मृत्यु ढोकामा ल्यायो।
अनि फेरि ऊ आफैं पनि त्यस केटीलाई प्रेम गथ्र्यो। त्यस केटीलाई प्रेम गर्दा कहिले उसलाई डर पनि हुन्थ्यो र कहिले आनन्द पनि। त्यो केटी त उसैकी छोरी थिई – यो हुन सक्छ। तर सृष्टिको निर्दयी नियमले, एउटा परिस्थितिको घटनाले त्यसलाई त्यस केटीको बाबु बनायो। लौकिक न्याय अनुुसार उसको त्योसित केही सम्बन्ध थिएन, तर त्यसलाई उसले त्यसकी आमालाई जस्तै अझ त्योभन्दा पनि बढ्ता प्रेम गथ्र्याे – अब दुवै प्रेम उसको हृदयमा जम्मा भएझैं।
के साँच्ची नै त्यो उसकी छोरी नै थिई त? अनि साँच्ची नै भए पनि त्यसमा के थियो त? संसारमा अरू कसैलाई त्यो कुरा थाहा थिएन !
मर्ने बेलामा त्यस केटीकी आमाले जो प्रतिज्ञा गर्न लाएकी थिई त्यो पनि यसले सम्झ्यो — त्यसबेला भनेकी थिई ‘परिआएको बेलामा पाप गर्नसम्म पछि नसर्ने।’
अनि आफ्नो घृणित वासनाले व्याकुल भए पनि वास्तवमा उसले त्यस केटीलाई प्रेम गथ्र्यो र तैपनि उसको मनमा ठूलो दुःख भए पनि ऊ वासनाको वशमा थियो, किनभने पाप भन्ने वस्तु त सधैं मीठै हुन्छ।
न्यायले ऊ बाबु थियो र जसलाई यो रहस्य थाहा थियो ऊ त मरिसकेकी थिई। अब कसले थाहा पाउने र?
उसले आफैं मनमनै भन्यो — यस्तै नै होस् बरु ! त्यो निन्दनीय रहस्यले केवल मेरो हृदयलाई सधैं घोचिरहने नै छ; तर त्यो केटीले कहिल्यै सन्देह गर्न सक्ने छैन र म आफैंले एक्लै यसको भार लिनेछु।
उसले त्यस केटीसित विवाहको कुरा चलायो र विवाह पनि गर्यो।
xxxxx
त्यसपछि ऊ सुखी भयो वा भएन त्यो कुरा त मलाई थाहा छैन, तर म आफैं उसको परिस्थितिमा भए उसले जस्तो गर्यो म पनि त्यसै गर्ने थिएँ — यो कुरा साँचो हो।
मोपासाँ उन्नाईसौं शताब्दीको विख्यात कथावाचक हुन्। उनको यो कथा ‘लिऊ? (द टेरर)’ को नेपाली अनुवाद हो। कलाकार लैंनसिंह बाङ्देलको यो अनुवाद रत्न पुस्तक भण्डारद्वारा प्रकाशित विश्वकथा सङ्ग्रहमा समेटिएको छ। – सं.