२२ वर्षमा नभएकाे काम दुई वर्षमा भयोः मन्त्री बाँस्कोटा
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेष रूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् ।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा नेपाल भ्रमण वर्षका अवसरमा आयोजित हाफ म्याराथुन प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले नेपालको पर्यटन पृथ्वी रहेसम्म चलिरहने बताए ।
मन्त्री बाँस्कोटाले भने, “नेपालमा पर्यटन पृथ्वी रहेसम्म चलिरहन्छ, हामीसँग अथाह प्राकृतिक स्रोत र सौन्दर्य छ ।” पर्यटन वर्षपछि नेपालमा केही हुन्न भनेर पर्यटन व्यवसायीले नसोच्न मन्त्री बाँस्कोटाले आग्रह गरे ।
पर्यटनको विषेशताको रूपमा हिमाल, महाभारत खण्ड, उपत्यका तथा भौगोलिक हिसाबले शेर्पा, तामाङ, बाहुन–क्षेत्री, चौधरी, धिमाल, मेचे, कोचे, अनेकौँ संस्कृति, जाति पहिरन रहेकाले आफ्ना पहिचानलाई पर्यटनको माध्यमले उत्पादनसँग जोड्नुपर्ने मन्त्री बाँस्कोटाले जोड दिनुभयो ।
मन्त्री बाँस्कोटाले २२ वर्षमा नगरेको काम वर्तमान सरकारले दुई वर्षमै गरिएको दाबी गरे । “अब तीन वर्षमा नेपाली मनको आत्मविश्वास जाग्ने गरी पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, कृषिमा काम हुनेछ”, उनले भने ।