हिंडेरै काठमाडौं–बुटवल
अखिल नेपाल विद्यार्थी फेडरेशनको शाखा विस्तार गर्न सीमित खर्चबर्चमा हिंडेका दुई ठिटा पैदल नै बुटवल पुगेका थियौं।
कुरा हो २०११ सालको । युवावयको जोशमा काठमाडौंबाट हिंडेरै बुटवल पुगेको हिजै जस्तो लाग्छ । सडक सुविधा नभएको त्यो जमानामा पैदल हिंड्नुको विकल्प पनि थिएन । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल विद्यार्थी फेडरेशनमा आबद्ध थिएँ, म । फेडरेशनको सङ्गठन विस्तार गर्न पुण्यप्रताप राणा र म पश्चिम नेपालतर्फ हिंडेका थियौं।
एक–एक वटा झाेला भिरेका थियौं । झाेलामा एक जोर कपडा, एउटा पातलो बर्को, दाँत माझ्ने र दाह्री काट्ने सामान थिए । फेडरेशनले हामी दुईलाई बाटो खर्च जम्मा पाँच रुपैयाँ दिएको थियो । पाँच–पाँच सुकाको एकुन्टा झाेला किन्यौं र सोह्रखुट्टेबाट मुड्खुको डुग्रने पानी हुँदै लम्कियौं । खल्तीमा बाँकी थियो दुई रुपैयाँ १० पैसा, छिचोल्नु छ, धेरै ठाउँ।
साँझ नुवाकोटको रानीपौवामा बास बसियो । बास बसेको घरमा एकजनाका लागि चामलदेखि नुन भुटुनसम्म र दाउरा किन्न पाँच सुका पर्दो रहेछ, खाना आफैंले पकाउनुपर्ने।
बस्ने ठाउँमै खानेकुरा किनेको हो भने सुत्न एकुन्टा गुन्द्री र सिरानीका लागि पिर्का पाइने । तर, हामीलाई ४० पैसा अपुग भयो । तै तीनधारा पाकशालाका साथी कृष्णप्रसाद गौतमसँग अकस्मात् भेट भयो । उनले ५० पैसा सापट दिएपछि त्यहाँको सङ्कट टर्यो।
भोलिपल्ट त्रिशूली बजारको त्रिभुवन त्रिशूली निम्न माविमा पुगेर मात्र खान पाइयो । साथीहरूले दही–च्यूरा दिए । विद्यार्थीको एउटा सभा गरेर फेडरेशनको शाखा गठन गर्यौं । फेडरेशनको अधिवेशनका लागि प्रतिनिधि छान्यौं र विद्यार्थी साथीहरूबाट बाटो खर्च पाएर गोरखातिर हिंड्यौं । धादिङको सल्यानटारबाट आरुघाट, खानचोक हुँदै चौथो रात गोरखा बजार पुगियो।
गोरखामा कम्युनिष्ट पार्टीका नेता वैकुण्ठ कट्टेल थिए । भोलिपल्ट उनीसहित विद्यार्थीको बैठक गर्यौं । कट्टेलले नै जौबारी नगई हुँदैन भनेपछि गयौं । जौबारीमा २०११ सालमै हाईस्कूल थियो । शाखा गठन गरी अधिवेशन प्रतिनिधि छानेर दोस्रो रात गाईखुर पुगेर बास बसियो।
२ माघको अपराह्न तनहुँको बन्दीपुर पुगेर डा.मथुरा श्रेष्ठ र कानून व्यवसायी कुसुम श्रेष्ठकी आमाको मातृवात्सल्यमा सुस्ताउन पायौं । आमाले ताजा घ्यूसँग भात मस्तसँग खान दिनुभयो । त्यहाँबाट तनहुँकै टुहुरे पसल हुँदै साँझ लमजुङको कुञ्छा पुगियो।
भोलिपल्ट बिहानै दुराडाँडाको च्यानपाटा हाईस्कूल गयौं । कांग्रेसको बाहुल्य भएको र श्रीकान्त अधिकारीहरूले अखिलको शाखा खोल्न जोड नगर्नू भनेकोले त्यो ठाउँमा प्रयासै गरिएन।
पोखरामा बीपीसँग भेट
१२औं दिनमा पोखरा पुग्यौं । एउटा घरको पिंढीमा बास बस्यौं । तै ओढ्ने ओछ्याउने र खान पनि दिए । त्यत्तिका दिनसम्म नुहाउन र लुगा धुन पाएको थिएन । फेवाताल गयौं र मस्तसँग नुहाईधुवाई गर्यौं।
बस्ने ठाउँमै खानेकुरा किनेको हो भने सुत्न एकुन्टा गुन्द्री र सिरानीका लागि पिर्का पाइने । तर, हामीलाई ४० पैसा अपुग भयो । तै तीनधारा पाकशालाका साथी कृष्णप्रसाद गौतमसँग अकस्मात् भेट भयो । उनले ५० पैसा सापट दिएपछि त्यहाँको सङ्कट टर्यो।
बास बसेको घरतिर फर्कंदैथ्यौं, कसले हो नेपाली कांग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइराला हवाई ग्राउण्डमा हुनुहुन्छ भने।
पुण्यप्रताप र म धोएका लुगाको पोको बोकेरै बीपीलाई भेट्न गयौं । हवाई मैदानमा घेराबार नभएकाले जो पनि पस्न सक्थे।
दुई वर्ष जतिअघि भक्तपुरको कटुञ्जेमा बीपीलाई भेटेर छलफल गरिसकेकोले उनले सजिलै चिने । हामीले यात्राको प्रयोजन सुनाउँदै अब स्याङ्जा, पाल्पा, बुटवल हुँदै नेपालगञ्ज जाने र कलैया भएर काठमाडौं फर्कने बतायौं । सुनेर बीपी खुशी भए । फर्केपछि काठमाडौंमा भेटौं भने।
भोलिपल्ट स्याङ्जाको नुवाकोट डाँडा हुँदै पुतलीखेत, वालिङ, राम्दी, पाल्पाको चिदिपानी हुँदै तानसेन पुग्यौं । पाल्पाबाट दिनभर लगाएर बुटवल झर्यौं । बुटवलमा तरुलता (उनले पछि केशरजङ्ग रायमाझीसँग विवाह गरिन्) का पिताले हाईस्कूल चलाउँथे।
त्यहाँबाट नेपालगञ्ज जाने खर्च उनैले दिए । हामी भारतीय भूमि हुँदै नेपालगञ्ज गएर विद्यार्थी सम्मेलन गर्यौं र फर्केर बारा कलैयाको हाईस्कूलमा पनि शाखा खोली २६औं दिनमा काठमाडौं फर्कियौं।
बीपी काठमाडौं फर्केपछि कांग्रेसको भ्रातृ सङ्गठन नेपाल छात्र संघका नेताहरूलाई भैरव र पुण्यप्रतापले जस्तै जिल्ला जान भनेछन्।
विद्यार्थीले हवाईजहाजको टिकट मागेछन् । उनले रिसाउँदै ‘विद्यार्थी फेडरेशनका ठिटाहरू पैदलै जान सक्ने, छात्र संघलाई चाहिं हवाईजहाज चाहिने !’ भन्दै झपारेछन्।
पैदल यात्रा त्यो वेलाको बाध्यता भए पनि समाज र परिवेश बुझ्ने अवसर थियो । यस्तो यात्रामा देश र परिस्थिति यति धेरै पढिन्छ र त्यो प्रायः बिर्सिंदैन । मेरा अचेलका लेख र अभिव्यक्ति त्यस्तै भ्रमणका प्रतिफल हुन्।