कार्टुन क्रु छोडेपछि बनाएको भिडियो ट्रेन्डिङमा
चर्चित डान्स ग्रुप ‘कार्टुन क्रु’ अहिले छिन्नभिन्न भएको छ । क्रु छोड्नुको कारण आश्मा र सरोज भएको बताउँदै बनाएको भिडियो अहिले दुई नम्बर ट्रेन्डिङमा छ ।
लाक्पा लामाको युट्युब च्यानल मार्फत सार्वजनिक भएको भिडियोमा बाध्यताले क्रु छोड्नुपरेको लाक्पा लामा, राम गुरुङ, सुविन चौहान र साजन चौहानले बताएका छन् ।
बुधबार अपलोड गरिएको भिडियो करीब नौ लाख पटक हेरिएको छ भने १३ हजार बढी कमेन्ट गरिएको छ ।
कमेन्टमा उनीहरुको सुन्दर भविष्यको कामना गरिएका छन्।
भिडियोमा सरोज र आश्माले आम्दानी नदेखाएको, पैसा नदिएको र डान्सरको रूपमा मात्रै चित्रित गर्न खोजेको बताएका छन् ।
साथै क्रुको अफिसियल युट्युब च्यानल आश्माको नाममा र स्टुडियो सरोजको नाममा राखेर आफ्नो लागि मात्रै गरेको पनि बताएका छन् ।
सरोज अधिकारी र आश्माले सार्वजनिक गरेको भिडियोमा समूहबाट निस्कनु अघि उनीहरूले पारिश्रमिक लिएर गएको बताएका छन्। उनीहरूले सरोज र आश्माको भिडियोको पनि खण्डन गरेका छन् ।
कार्टुन क्रु स्थापनाकालमा ७ जना थिए । जसमा सविन, सरोज अधिकारी, आश्मा विश्वकर्मा, विकाश राई, राम गुरुङ, लाक्पा लामा र सुविन चौहान थिए ।
सविन कार्की ‘बिष्ट’ ले नै परिकल्पना गरेको समूहमा मतभेदका कारण उनी बाहिरिए । केही समयपछि विकास राईले पनि छोडे । राईले छोडेपछि साजन चौहान समूहमा जोडिएका थिए ।
क्रुको नेतृत्व गरिरहेका सविनले छोडेपछि सरोज अधिकारीले नेतृत्व लिएका थिए । सरोजको नेतृत्वमा आश्मा, लाक्पा, राम, सुविन र साजनले काम गरे ।
कार्टुन क्रुको काम दर्शकले रुचाए । एउटा राम्रो डान्स ग्रुपको रूपमा उनीहरुले आफूलाई स्थापित भएको क्रिउ अफिसियल भिडियोमा समेत फिचर हुनुको साथै उनीहरूको भिडियोले युटुबमा लाखौं भ्यूज बटुलेको छ ।
धेरै मिहिनेतले स्थापित क्रिउको रहर नभएर बाध्यताले छोडेको बताएका छन् । सार्वजनिक भिडियोमा भनिएको छ, “हामीले पैसाको हिसाब माग्यो भने रिसेप्सनलाई सोध भन्थे । रिसेप्सनको काम त पैसा उठाउने मात्र हो नि । पैसा लिने त सरोज नै हुन् नि ।”