सागः भव्य आयाेजना, चुकेकाे अवसर
सागको १३औं संस्करण हालसम्मकै भव्य भएको भन्दै सात देशका अधिकारीले लिखित बधाई दिए पनि प्रतियोगिताका क्रममा आसन्न भ्रमण वर्षको प्रचार, खेलस्थल र खेल सामग्रीको उचित व्यवस्थापन लगायतमा नेपालको कमजोरी स्पष्टै देखियो।
नेपालका लागि १३औं दक्षिण एशियाली खेलकुद (साग) को सबैभन्दा सकारात्मक पक्ष नयाँ खेलले पाएको सफलता हो । तेक्वान्दो र कराते जस्ता मार्शल आर्टस्मा मात्र पदक जित्ने छविलाई नेपाली खेलाडीले भत्काएका छन् । खेलाडीका नयाँ कीर्तिमानले सागमा प्रत्येक दिन रोमाञ्चकता थप्यो ।
गौरिका सिंहले पौडीमा जितेका चार स्वर्ण, सन्तोषी श्रेष्ठले १० हजार मिटर दौडमा पाएको रोमाञ्चक विजय, गोपीचन्द पार्कीले ५ हजार मिटर जित्दै मध्यम दूरीमा बनाएको इतिहास, भारोत्तोलनकी सञ्जु चौधरी, बक्सिङकी मिनु गुरुङ, कुस्तीकी संगीता धामीले जितेको स्वर्ण चर्चामा रहे । यी सबै स्वर्ण सम्बन्धित स्पर्धामा पहिलो पटक जितिएको हो ।
आम जनतालाई कण्ठै भइसक्यो कि नेपालले ५१ स्वर्ण जित्यो । नेपालका खेलाडी अरू ६० वटा प्रतिस्पर्धाको फाइनलमा पुगेर चुके भने ९५ वटा काँस्यपदक जिते । भारतमा भएको १२औं सागमा तीन स्वर्ण मात्र जितेको नेपालले यसपटक यति धेरै पदक जित्छ भनेर शायद कमैले अनुमान लगाएका थिए ।
नेपालका लागि १३ खेलका खेलाडीले स्वर्ण जिते । नयाँ ‘स्टार’ खेलाडी उदाए, जुन खेलकुद क्षेत्रको ताजगीको लागि अत्यन्त जरूरी थियो । तेक्वान्दो प्रशिक्षक संगीना वैद्य भन्छिन्, “नयाँ स्टारहरू जन्मिरहनुपर्छ । यसले खेलकुद क्षेत्रलाई ताजा र ऊर्जाशील बनाउँछ ।”
१५ देखि २४ मंसीरसम्म सात देशका खेलाडी र पदाधिकारी गरी झ्न्डै सात हजार हाराहारी संलग्न भएको यो खेल महोत्सव आयोजक नेपालको लागि धेरै अर्थमा फलदायी बनेको छ । यो सफलताले खेलकुदलाई अनुत्पादक क्षेत्र मान्ने सरकारी सोच परिवर्तन भएको आभास भएको छ । खेल निकाय र पदाधिकारीलाई १३औं सागले नेपाली खेलकुदको अवस्थाको विश्लेषण गर्ने अवसर पनि दिएको छ ।
ठूलो खेलकुद आयोजनाको पहिलो शर्त भौतिक पूर्वाधार निर्माण हो । भूकम्पमा भत्किएको दशरथ रङ्गशाला पुनर्निर्माण, त्यहाँ विछ्याइएको सेन्थेटिक ट्र्याक, फ्लड लाइट, स्कोर बोर्ड, पोखरामा रङ्गशाला र बहुउद्देश्यीय कभर्ड हलको नयाँ स्वरुप, सातदोबाटोमा तातोपानीयुक्त पौडीपोखरी, अत्याधुनिक शूटिङ रेञ्ज, कराते र तेक्वान्दो हल सागका उपलब्धि हुन् ।
संरचना निर्माणको हतारो
१३औं सागका लागि भौतिक संरचना मर्मत र पुनर्निर्माण सक्न अन्तिम समयसम्म धपेडी पर्यो । काममा ढिलाइ र अन्तिम समयमा जसोतसो सक्ने प्रवृत्ति देखियो । यद्यपि पूर्वाधारकै कारण खेल स्थगित हुनुपर्ने अवस्था बनेन ।
पूर्वाधार निर्माणमा गर्नुपरेको संघर्षलाई दक्षिण एशियाली खेलकुद क्षेत्रकै रोग मान्न सकिन्छ । विकासोन्मुख देशले खेलकुदका लागि पर्याप्त बजेट छुट्याएको हुँदैन । खेल संरचना बनाउन साग जस्तै ठूला प्रतियोगिताको बहाना चाहिन्छ ।
अन्य सार्क राष्ट्रका खेल पूर्वाधार पनि साग वा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताकै वेला बन्छन् । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष भीम ओली भन्छन्, “११औं सागमा पनि उद्घाटन हुनु केही समयअघिसम्म बाङ्लादेशको ढाकास्थित बंगबन्धु स्टेडियममा काम भइरहेको थियो । यसको अर्थ नेपालले पनि ढिला गर्नुपर्छ भन्ने होइन, हतारोमा बनाउँदा गुणस्तरमा प्रश्न उठ्छ ।”
समयमै पूर्वाधार नबन्दा खेलाडीले आफ्नै देशमा भएको खेलस्थलमा अभ्यास गर्न पाएनन् । खरीदमा ढिलाइ गर्दा नयाँ खेल सामग्री पनि प्रयोग गर्न पाएनन् । प्रतियोगिता अवधिभर राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटीबीच समन्वय नमिलेको स्पष्ट हुन्थ्यो । नेपालको क्षमताभन्दा बढी खेल र स्पर्धा राख्दा राखेपलाई हम्मे परेको थियो ।
स्वयंसेवकलाई सही ढङ्गले परिचालन गर्न नसक्नु आयोजकको अर्को कमजोरी रह्यो । सागका लागि ५०० स्वयंसेवक खटाइएको थियो, जुन संख्या अत्यन्तै न्यून हो । नेपाल बक्सिङ संघका पूर्वअध्यक्ष राजीव श्रेष्ठ भन्छन्, “साग जस्तो ठूलो खेल मेलामा स्वयंसेवक बन्नु प्रयोगात्मक परीक्षाको अनुभव बटुल्नु हो । तर यहाँ त स्वयंसेवकको भूमिका रङ्गशाला छिर्न प्रवेश पास प्राप्त गर्ने जस्तो मात्र भयो ।”
सागका वेला खेलस्थलमा विरलै मात्र स्वयंसेवक देखिए । खेल सकिएपछि दर्शकहरू मैदान र कोर्टभित्र छिरेर नाचगान गरे । खेलाडीसँग सेल्फी खिचे । यस्ता घटनाले दक्षिण एशियाली खेलकुदको कुम्भ मेलालाई स्थानीय खेलजस्तो बनाइदियो ।
चुकेको अवसर
१३औं संस्करण विगतका सागभन्दा कुनै अर्थमा कमजोर भएन । बरु हालसम्मकै उत्कृष्ट आयोजना भन्दै सात देशका अधिकारीले हस्ताक्षर सहितको पत्र नेपाललाई दिए । तर, नेपाल आयोजकको रूपमा प्राप्त हुनसक्ने कतिपय लाभ उठाउन चुकेको छ ।
खेलाडीहरूले पहिलो दिनको खेलबाटै स्वर्ण पदक जित्न थालेपछि आम नागरिकमा सकारात्मक सन्देश प्रवाह त भयो, तर उनीहरू रङ्गशालासम्म तानिएनन् ।
फूटबल, क्रिकेट र भलिबल पहिले नै लोकप्रिय खेल भएकोले त्यहाँ स्वाभाविक दर्शक छन् । बाँकी खेलमा दर्शकको उपस्थिति नगन्य भयो । एथ्लेटिक्स प्रशिक्षक राकेश रञ्जित भन्छन्, “एथ्लेटिक्सको १०० मिटर दौड हेर्दाको रोमाञ्चकताबारे पहिले नै बताउन सकेको भए रङ्गशाला भरिने थियो । सन्तोषी श्रेष्ठले मिलि सेकेन्डले १० हजार मिटर जितेको हजारौं दर्शकले हेर्न पाउँथे ।”
शहर चिनाएर पर्यटन प्रवद्र्धन गर्न पनि आयोजक चुकेका छन् । सँघारमै आइरहेको नेपाल भ्रमण वर्ष २०२० को प्रचारको लागि १३औं सागलाई प्रयोग गर्न सकिन्थ्यो । तर, भ्रमण वर्षबारे कतै चर्चै नहुनुलाई धेरैले आश्चर्य माने । राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा भन्छन्, “पाकिस्तानमा नेपाली हकी टोली खेल्न जाँदा उनीहरूले आफ्नो देश सुरक्षित भएको सन्देश दिन योजना नै बनाएका थिए, तर नेपालमा हुन लागेको भ्रमण वर्षले साग जस्तो बलियो प्लेटफर्म प्रयोग गर्न सकेन ।”
१३औं साग मार्फत नेपाली खेलकुदको एउटा ठूलो अनुसन्धान पूरा भएको छ, जसबाट खेलाडीहरूको स्तर, सुधारका पाटा, प्राथमिकता दिनुपर्ने खेलहरू, प्रशिक्षक र प्राविधिकहरूको क्षमता, राष्ट्रिय खेल संघहरूको अवस्था तथा काम गर्ने क्षमता र सरकारी पदाधिकारी तथा कर्मचारीहरूको क्षमता स्पष्ट भएको छ । यी सबै तथ्य विश्लेषण गरेर उचित योजना बनाउन सके खेलकुद क्षेत्रले काँचुली फेर्ने निश्चित भएको छ ।