मृत्यु हुनेमध्ये चार जना सुत्केरी हुनुअघि वा भइसकेपछि अस्पताल पुगेकाहरू हुन् ।
१६ कात्तिकमा त्रिवेणी नगरपालिका–१ छताराको स्वास्थ्य चौकीमा चौथो सन्तान जन्माएकी ३७ वर्षीया रेजिया नेपालीको ६ घण्टापछि मृत्यु भयो ।
सुत्केरीको मृत्युदर जिल्लाको दुर्गम भेगमा अत्यधिक छ । गत २५ कात्तिकमा बुढीगंगा नगरपालिका–७ झलीकी २० वर्षीया कमला उखेडको धनगढी लैजाने क्रममा अछामको चौखुट्टेमा मृत्यु भयो ।
उनलाई सुत्केरी व्यथा लागेपछि धामी समेत रहेका ससुरा अमी उखेडाले घरैमा एक दिनभरि झारफुक गरेका थिए । अचेत भएपछि मात्र अछामको बयलगडा अस्पताल पुर्याइएको थियो । त्यहाँबाट ‘रिफर’ गरिएपछि धनगढी लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो।
जिल्ला अस्पताल पुर्याइएका सुत्केरीहरूले पनि ज्यान गुमाइरहेका छन् । जिल्ला अस्पतालमा भर्ना भएकी बडिमालिका नगरपालिका–७ जिल्लीकी बसन्ती नेपालीको गएको ७ भदौमा सुत्केरी भएको एक घण्टामै मृत्यु भयो । बुढीनन्दा नगरपालिका–१० पाण्डुसेनकी ३५ वर्षीया निर्मला बोहोराको पनि २५ भदौमा सुत्केरी भइसकेपछि जिल्ला अस्पतालमै मृत्यु भयो ।
गर्भवतीले नियमित गर्भ जाँच नगराउनु र सुत्केरी हुन समयमा नै स्वास्थ्य संस्था नजानु नै मृत्युको कारण भएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेकबहादुर खड्का बताउँछन् । समयमा नै स्वास्थ्य संस्था नपुग्दा अधिकांश सुत्केरीको अत्यधिक रक्तस्रावबाट मृत्यु हुने गरेको छ ।
छैन ‘ब्लड ब्याङ्क’
सुत्केरी हुँदा उच्च रक्तस्राव भएपछि दुई महीनाअघि जिल्ला अस्पताल भर्ना भएकी पाण्डुसेनकी ३० वर्षीया जावा दमाईलाई तत्कालै ‘ए पोजेटिभ’ रगत चाहिएको थियो । आफन्तले धेरैतिर खबर गर्दा पनि रगत पाउन सकेनन् ।
उनको अवस्था गम्भीर भएपछि जिल्ला अस्पतालले सुरक्षा निकायलाई खबर गर्यो । समरजित गुल्मका मेजर रविन श्रेष्ठ, प्यूठ कृष्ण पुन र जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान सरस्वती बमले पालैपालो तीन दिन रगत दिएको जिल्ला अस्पताल प्रमुख डा. रूपचन्द्र विश्वकर्मा बताउँछन् ।
आकस्मिक रक्तसञ्चार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय र टाटे स्वास्थ्य चौकीमा भए पनि ब्लड ब्याङ्क छैन । बिरामीलाई रगत चाहिए आकस्मिक रूपमा रक्तदान गर्ने मान्छे खोज्नुपर्ने जिल्ला अस्पतालका सूचना अधिकारी कुल रावल बताउँछन् ।
भन्छन्, “आकस्मिक रक्तसञ्चार केन्द्र दुई ठाउँमा भए पनि ब्लड ब्याङ्क नहुँदा सुत्केरी र अन्य बिरामीलाई समस्या हुँदै आएको छ । आकस्मिक रक्तदान गर्ने मान्छे नपाइँदा सुरक्षा निकायलाई आग्रह गर्ने गरिएको छ ।”
जिल्लामा आकस्मिक रगत दिने दाता नै नभेटिने जिल्ला अस्पताल प्रमुख डा.विश्वकर्मा बताउँछन् । “रक्तदान गर्नुपर्छ भन्ने चेतना नै छैन, आवश्यक परेको वेला रक्तदाता खोज्दै सरकारी कार्यालय धाउने गरेका छौं”, उनी भन्छन् । रगत अभावमा जिल्ला अस्पतालले दिने आकस्मिक प्रसूति सेवा प्रभावित हुने गरेको छ । बिरामीका आफन्त समेत रगत दिन नमान्ने गरेको विश्वकर्माको भनाइ छ ।
अलपत्र आकस्मिक प्रसूति सेवा
परिवार स्वास्थ्य महाशाखाले गत आर्थिक वर्ष कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा सञ्चालन गर्न रु.२० लाख पठाएको थियो । तर, बुढीनन्दा नगरपालिकाले सेवा सञ्चालन गर्न नसकेपछि उक्त रकम फिर्ता गयो । महाशाखाले यो आर्थिक वर्ष रु.३० लाख विनियोजन गरे पनि सेवा सञ्चालनका लागि नगरपालिकाले कुनै पहल नगरेको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
महाशाखाले यो वर्ष साउनबाटै सेवा शुरू गर्ने गरी कर्मचारी राख्न नगरपालिकालाई बजेट समेत पठाइसकेको छ । सेवा सञ्चालनका लागि प्रसूति रोग विशेषज्ञ, स्टाफ नर्स, एनेस्थेसिया विशेषज्ञ र कार्यालय सहयोगी अनिवार्य राख्नुपर्ने उपमेयर सृष्टि रेग्मी बताउँछिन्।
“गत वर्ष व्यवस्थापन कमजोरीका कारण रकम फिर्ता गयो । यो आर्थिक वर्षमा जसरी पनि सेवा सञ्चालनमा ल्याउँछौं”, उनी भन्छिन् । सेवा सञ्चालनका लागि गत वर्ष नै त्यहाँ करारमा कार्यरत डा.सत्य शाहीलाई परिवार कल्याण महाशाखाले आकस्मिक प्रसूति शल्यक्रिया तालिममा पठाएको थियो ।
उनले सेती अञ्चल अस्पतालबाट ७० दिनको तालिम पनि लिए तर, नगरपालिका र तलबमा सहमति नहुँदा सेवा सञ्चालन हुन सकेन । महाशाखाका सुरक्षित मातृत्व सेवा कार्यक्रमका प्रमुख डा.इन्द्रप्रसाद प्रजापति भने यो वर्ष पनि सेवा सञ्चालनका लागि स्थानीय र प्रदेश सरकार सक्रिय नभएको बताउँछन् ।
आकस्मिक प्रसूति सेवाका लागि गत आर्थिक वर्षमा खरीद भएको रु.१० लाख बराबरका सामग्री जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा थन्किएका छन् । ती सामग्री कोल्टी पठाएर चाँडै जडान सक्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख अशोक सिंहले बताए ।
बाजुरा पूर्वोत्तर क्षेत्रका चार, मुगुका दुई र हुम्लाका दुई स्थानीय तहलाई लक्षित गरी सरकारले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवा सञ्चालन गर्न लागेको हो ।
अहिले त्यहाँका जटिल खाले सुत्केरीलाई सदरमुकाम मार्तडी पुर्याउनुपर्ने हुँदा ज्यानै जोखिममा हुने गरेको स्थानीय गोरख सार्की बताउँछन् । गत आर्थिक वर्ष त्यहाँबाट दुई जना जटिल अवस्थाका सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगिएको थियो ।
जिल्लाको हिमाली गाउँपालिकाका अधिकांश स्थानीय स्वास्थ्य सेवाबाट विमुख छन् । स्वास्थ्य संस्था पुग्न नै दुई दिनसम्म लाग्ने हुँदा प्रायः घरमै सुत्केरी हुने गाउँपालिका उपाध्यक्ष चन्द्रकला बुढा बताउँछिन् । कोटगाउँकी स्थानीय नानी बोहोरा विकट गाउँका स्थानीय बिरामी हुँदा र सुत्केरीको उपचारका लागि जडीबुटीमा भर पर्नु परिरहेको गुनासो गर्छिन् ।
रुगिन स्वास्थ्य चौकीकी अनमि प्रेमकला मल्लका अनुसार वर्षाको वेला दुर्गम गाउँमा खोप सेवा पनि बन्द हुन्छ । ती ठाउँबाट गर्भवती जाँचका लागि समेत विरलै आउँछन् । “सामान्य बिरामी हुँदा सिटामोल, जीवनजल जस्ता औषधि लिन चार घण्टादेखि दुई दिनसम्म हिंड्नुपर्छ”, उनी भन्छिन् ।
अस्थायी बसाइँसराइ झनै जोखिम
हुम्लाको ताजाकोट गाउँपालिका–२ की सीता थापा भोटे कात्तिक दोस्रो साता जाडो छल्न परिवारसँग अछाम जाँदै थिइन् । बाजुराको बाह्रबिस आइपुगेपछि बाटैमा सुत्केरी भइन् । अत्यधिक रक्तस्राव भएपछि स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेको उनले बताइन् ।
बाजुराको हिमाली गाउँपालिका–३ युनाकी १९ वर्षीया पार्वती गुरुङ जाडो छल्न दुई महीनाअघि परिवारसँग अछामको देवीस्थान बसाइँ जाँदै थिइन् । लेककोट जङ्गलमै बच्चा जन्माइन् । गर्भवतीमा र सुत्केरी भएपछि पनि आफूले कुनै जाँच नगरेको, खोप नलगाएको र आइरन चक्की समेत नखाएको उनले बताइन् ।
चिसो छल्न भेडा, च्याङ्ग्रा सहित हिमाली भेगका स्थानीय हिउँदका ६ महीना बेंसी झर्ने भएकाले कतिपय गर्भवतीले बाटैमा बच्चा जन्माउने भोटे जनजाति महासंघका निवर्तमान अध्यक्ष बुद्धि बोगटी (भोटे) बताउँछन् । सुदूरपश्चिम र कर्णाली प्रदेशका बाजुरा, बझाङ, मुगु, हुम्ला, जुम्लाका बासिन्दा मौसमी बसाइँ सर्छन् । त्यतिवेला सुत्केरी र गर्भवती महिला जोखिममा पर्ने बोगटीको भनाइ छ ।
बाटामा बच्चा जन्माउँदा आमा बच्चा दुवै जोखिममा पर्छन् । गत वर्ष मंसीरमा हिमाली गाउँपालिकाको अगाउपानीकी तनी थापाले अछाम जाँदै गर्दा बुढीगंगा गाउँपालिकाको रापकमा बच्चा जन्माइन् । तर, चिसो र औषधिउपचार नहुँदा नाबालक छोरी गुमाएको उनको दुःखेसो छ । उनी भन्छिन्, “सुत्केरी भएकै दिन बच्चा बोकेर पाँच घण्टा हिंडें । बाटोमा न राम्रोसँग खान पाएँ, न त आराम नै ।” त्यतिवेलादेखि आफू तङ्ग्रिनै नसकेको उनको भनाइ छ ।