भान्सामा लोकप्रिय एप्रोन
भान्सामा काम गर्दा आवश्यक गार्मेन्ट ‘एप्रोन’ को प्रयोग युरोपबाट शुरु भए पनि अहिले विश्वभर विभिन्न पेशा व्यवसायका मानिसले गर्न थालेका छन्। यसको प्रयोग व्यापक हुनुमा फिल्म र टेलिभिजनको मुख्य भूमिका छ।
भान्सामा खाना पकाउँदा वा भाँडा धुँदा भान्सेले लगाएको कपडा जोगाउनुपर्ने हुन्छ । अन्यथा तरकारी पकाउँदा प्रयोग गरिने तेल र बेसार लागेपछि सफा गर्न गाह्रो हुन्छ । त्यस्तै भाँडा माझ्दा फोहोर लाग्ने र भिज्ने समस्या पनि हुन्छ । यिनै समस्याबाट जोगिन ‘एप्रोन’ प्रयोग गरिन्छ । एप्रोनको प्रयोग बढ्दो छ ।
एप्रोनको प्रयोग मध्ययुगतिर युरोपबाट शुरु भएको हो । त्यसवेला पुरुषले मात्रै प्रयोग गर्ने एप्रोनले उनीहरुको आर्थिक र व्यावसायिक हैसियत थाहा हुन्थ्यो । हजामले रातो, मोचीले कालो र सिकर्मीले सेतो एप्रोन प्रयोग गर्थे ।
त्यस्तै पानीजहाजमा काम गर्ने व्यक्तिहरुले हरियो तथा कपडा बुन्ने, धागो कात्ने र मालीहरुले नीलो एप्रोन प्रयोग गर्थे । यसरी एप्रोनको रङका आधारमा उनीहरुको पेशा छुट्याउन सकिन्थ्यो । दोस्रो विश्वयुद्धपछि देखिएको आर्थिक मन्दीले परिवार एकसाथ बसेर खाना खाने प्रचलन छुटेको थियो ।
आर्थिक मन्दी कम हुँदै जाँदा पारिवारिक भेटघाट बढ्दै गयो । एकसाथ टेबलमा बसेर खाना खान थालियो । त्यसवेला भने भान्सामा काम गर्ने महिलाले एप्रोनको प्रयोग गर्थे । एप्रोनलाई पारिवारिक मूल्य र भान्सामा सबैको लागि खाना भन्ने सन्देशको प्रतीक मान्न थालियो ।
एप्रोन लगाएका महिलाले न्यानो आतिथ्यको प्रतिनिधित्व परिवारमा मात्रै नभएर देशभर गर्थे । युरोपमा महिलाले लगाउने एप्रोनसँगै चियादानी, चम्चा जस्ता सामानहरु विश्वभर अपनाउन तथा निर्यात हुन थाल्यो ।
यी चीजहरुको लोकप्रियता बढाउन फिल्म तथा टेलिभिजनले ठूलो सहयोग गरे । अचेल डाक्टर, नर्स, होटल तथा रेस्टुरेन्टका सेफले मात्रै नभएर वेटरले पनि प्रयोग गर्छन् ।
यहाँ भने भान्सामा प्रयोग हुने एप्रोनको चर्चा गरिएको छ । अहिले भान्सामा आवश्यक सामान मध्ये एउटा एप्रोन पनि हो । पछिल्लो समय नाइलन, कटन, कटन लिनेन, पोलिस्टर, पोलिकटन जस्ता कपडाबाट बनेका एप्रोनहरु बजारमा पाइन्छन्।
आजभोलि एकपटक प्रयोग गरेपछि फाल्न मिल्ने एप्रोन पनि पाइन्छन् । विभिन्न डिजाइन र रङमा पाइने एप्रोनको मूल्य रु.२०० देखि रु.१००० सम्म पर्छ । सादा तथा बुट्टेदार एप्रोनहरु आफ्नो रुचि अनुसार किनेर उपयोग गर्न सकिन्छ ।
सरसफाइका दृष्टिले यसको प्रयोग अनिवार्य नै भएको छ । काठमाडौंको बागबजार बस्ने अर्जुन घिमिरे आफैं खाना पकाउँछन्, भाँडा माझ्छन् । यसोगर्दा उनको कपडामा धेरै फोहोर लाग्थ्यो ।
साथीले सुझाएपछि मात्रै उनले भान्सामा काम गर्दा एप्रोन प्रयोग गर्न थालेको बताउँछन् । उनी भन्छन्, “भान्सामा काम गर्दा कपडा फोहोर हुन्थ्यो तर एप्रोन प्रयोग गर्न थालेपछि त्यस्तो भएको छैन; यो उपयोगी हुँदोरहेछ ।”
एप्रोन आफैं बनाउन पनि सकिन्छ । सामान्य सिलाई–कटाई जान्नेले सूती कपडाको भित्रपट्टि प्लाष्टिक राखेर आफैं बनाएर लगाएको पनि पाइन्छ । एप्रोन सहजै फेर्न र धुन सकिन्छ । काम सकेपछि निकालेर अलग्गै राख्यो, आवश्यक परेको वेला फेरि लगायो ।
अथवा धेरै फोहोर भए तुरुन्तै फेर्न पनि सकिन्छ । जतन गरेर चलाए एउटै एप्रोन धेरै वर्षसम्म प्रयोग गर्न सकिन्छ । काठमाडौं कपनकी पवित्रा राईले एप्रोन लाउन थालेको धेरै वर्ष भयो ।
एप्रोन लाउन थालेपछि तेल, बेसारले कपडा बिग्रिने समस्याबाट छुटकारा पाएको उनी बताउँछिन् । भन्छिन्, “एप्रोन नलाउँदा तेल र बेसारले मेरो धेरै कपडा बिगारेको थियो तर अहिले त्यो समस्याबाट छुटकारा पाएकी छु ।” उनका अनुसार भान्सामा काम गर्दा कपडा भिजेर चिसो लाग्ने समस्या पनि हटेको छ, यही एप्रोनको प्रयोगले ।
आजभोलि चीनबाट आयातित एप्रोनको माग बढी हुने हाताले डटकमका सञ्चालक जेम्स श्रेष्ठ बताउँछन् । उनले केही वर्षअघि भारतबाट आयातित सूतीका बुट्टेदार आकर्षक एप्रोन बेच्न थालेका थिए । पछि चीनका सस्तो र विभिन्न डिजाइनका एप्रोन ल्याउन थालेपछि नेपाल र भारतमा निर्मित एप्रोन बिक्री हुन छाडेको उनी बताउँछन् ।