काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव शुरु
‘द एसेन्ट अफ एभरेष्ट’ वृत्तचित्रबाट राष्ट्रिय सभागृहमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को उद्घाटन भएको छ ।
५६ मिनेटको यो वृत्तचित्रमा २९ मे १९५३ मा पहिलो पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका एडमण्ड हिलारी र तेञ्जिङ नोर्गेको आरोहण कथा समेटिएको छ ।
इटालीका एन्टोनेलो पादोभानोले बृत्तचित्रको निर्देशन गरेका छन् । ‘सीमान्त आवाज’ नाराका साथ किम्फको १७औं संस्करण बुधबारबाट शुरु भएको हो । ग्राउलिङ माउन्टेन्स र जर्नी टु द सेन्टर अफ द हार्ट पनि प्रदर्शित भएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै किम्फको आयोजक हिमाल एशोसिएसनका कार्यकारी निर्देशक वसन्त थापाले १७औं संस्करणसम्म आइपुग्दा ठूलो फड्को मारेको बताए ।
उनले भने, “यो महोत्सव आजसम्म आइपुग्दा दर्शक र चलचित्रकर्मीहरूको आकर्षक गन्तब्य बन्न सफल भएको छ ।” स्वागत मन्तब्य महोत्सव निर्देशक रम्यता लिम्बुले गरेकी थिइन् ।
महोत्सवमा यस वर्षको निर्णायकमा नेपालकी अस्मिता रन्जित, दक्षिणकोरियाका जे. क्युली, पोल्याण्डका ग्राबियल कुह्न रहेका छन्।
उपस्थित निर्णायकहरुले पर्वतीय महोत्सवमा निर्णायक बन्न पाउँदा खुशी व्यक्त गरेका थिए । उनीहरुले यो महोत्सवले हिमाली क्षेत्र र चलचित्रकर्ममा ठूलो महत्व राख्ने बताए ।
यो महोत्सवको प्रेरणाले अन्य राष्ट्रमा पनि महोत्सव शुरु भएको कार्यकारी निर्देशक थापाले जानकारी दिए । उनले भने ‘पाकिस्तानमा त शुरु भइसक्यो । भुटानले पनि किम्फसँग नजिक रहेर सल्लाह गरिरहेको छ । त्यहाँ पनि चाँडै शुरु हुने अपेक्षा छ ।’
आगामी आइतबारसम्म हुने महोत्सवमा २९ देश, ६६ वटा चलचित्र, साथमा मास्टर क्लास, छलफल र प्रदर्शनी हुने छ । काठमाडौंको सभागृह र नेपाल पर्यटन बोर्डमा यही २५–२९ मंसीरमा काठमाडौं पर्वतीय चलचित्र महोत्सव (किम्फ) को १७औं संस्करण आयोजना हुँदैछ ।
‘द एसेन्ट अफ एभरेष्ट’ का अतिरिक्त महोत्सवमा १७ वटा प्रतियोगी, ३२ वटा अप्रतियोगी, १४ वटा नेपाली पानोरामा र तीनवटा स्वीस चलचित्रको विशेष प्रदर्शनी गरिनेछ । परिवर्तित नेपाल विषयक तीन मिनेटको चलचित्र प्रतिस्पर्धामा १० उत्कृष्ट चलचित्र देखाइनेछ ।
नेपाल पानोरामा
किम्फको ‘नेपाली पानोरामा’ प्रतिस्पर्धामा १४ चलचित्र प्रतियोगी छन् । जसमा, सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गुर्खाज्’, गणेश पाण्डेको ‘सह–श्रीमान्’, निपिल शर्माको ‘अतिसर्ग’, धोन्डुप छिरिङको ‘आमा खान्दो’, सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रशीष बज्राचार्यको ‘कोक्रो’, यजश्वी राईको ‘पहिचान’, युगल पोमोको ‘फुर्वा’, परीक्षितविक्रम राणाको ‘साइलेन्स प्लिज’, नवविजय श्रेष्ठको ‘रंगहीन पुतली’, प्रणवनारायण मानन्धरको ‘पोट्रेट अफ माने’ र अनिल न्यौपानेको ‘तिर्खा’ रहेका छन् ।
‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट कथानक र गैर–कथानक चलचित्रलाई क्रमशः रु.१ लाख र रु.७५ हजार तथा प्रमाणपत्र प्रदान गरिनेछ । महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले भने क्रमशः रु.२ लाख, रु.१ लाख ५० हजार र रु.१ लाख पाउनेछन् ।
महोत्सवमा फ्रेन्च नागरिक डेनिस पौलेद्वारा खिचिएका नेपालका ४० वर्ष पुराना तस्वीरहरूको प्रदर्शन राखिएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को हिउँचितुवा संरक्षण सम्बन्धी ‘स्टोरी टेलिङ’ कार्यक्रम पनि रहेको छ जसमा घनश्याम गुरुङ, समुद्र सुब्बा र शेरेन श्रेष्ठ वक्ताका रुपमा रहनेछन् ।
प्लान इन्टरनेशनलको महिला सशक्तीकरण सम्बन्धी कार्यक्रम पनि आयोजना हुनेछ । ब्रिटिश काउन्सिलको सक्रियतामा छलफल र फिल्म प्रदर्शनी, एशियाली कला संग्रहालयबारे छिरिङ शेर्पा र साहसिक फिल्म निर्माणमा माइकल डिलनले ‘मास्टर क्लास’ सञ्चालन गर्नेछन् । महोत्सवको सह–आयोजक काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन् ।