भारतसँग नेपाल पराजित हुँदा थामिएन मन्त्रीकाे आँसु
सोमबार पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो ।
दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल शुरु अघिनै प्यारापिटमा नेपाली झण्डा बोेकेका खेलप्रेमी निकै उत्साहका साथ बसिरहेका थिए । खेल शुरु भयो ।
भारतकी बालादेवीले पहिलोमा एक र दोस्रो हाफमा अर्को गोल गरेसँगै स्वर्ण जित्ने नेपाली टोलीको सपना तुहियो । भारतले नेपाल विरुद्ध दुई गोल गरेर स्वर्ण पदक आफ्नो पक्षमा पार्न सफल भयो ।
आयोजकले औपचारिक कार्यक्रमसँगै विजेता र उपविजेतालाई मेडल र ट्रफि प्रदान गर्न खेल मैदानमै खेल संवद्ध पदाधिकारीलाई आमन्त्रण गरे ।
खेल मैदानमा युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन राखेप सदस्य लगायतका पदाधिकारीको उपस्थिति थियो । मेडल लिनका लागि कार्यक्रम सञ्चालकले उपविजेता बनेको नेपाली टोलीलाई मेडल लिन नाम उद्घोष गरे ।
मेडल वितरण गर्नेक्रममा स्थानीय व्यवस्थापन तथा सहजीकरण समितिका संयोजक रहेकी मन्त्री पुनले खेलाडीको अनुहारभरी पराजितको पीडा देखेपछि आफूलाई रोक्न सकेनन् । आँखाभरी आँशु पार्दै मन्त्री विश्वकर्माले नेपाली खेलाडीलाई मेडल वितरण गरे ।
मन्त्री पुनले छोटो कुराकारानीमा आँखाको आँसु पुछ्दै भने, “नेपाली खेलाडी छोरीहरु निकै उत्साहपूर्ण खेल खेले, तर स्वर्ण जित्ने रहर पूरा भएन उनीहरुको अनुहारमा पराजित हुनुपरेको पीडाले मलाई निकै भावुक बनायो, छोरीहरु निराश हुँदा मेरो आँखामा आँसु रोकिएन ।”
आँसु पुछ्दै फेरि भने, “नेपाली छोरीहरुको अनुहारमा पराजित हुँदाको पीडाले मैले आँसु थाम्न सकिन ।”