सुशीला कार्कीको ‘कारा’ सार्वजनिक
नेपालकी प्रथम महिला प्रधानन्यायाधीश सुशीला कार्कीको उपन्यास ‘कारा’ सार्वजनिक भएको छ ।
उपन्यासकार कार्कीका शव्दमा, ‘कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरुको भोगेको भौतिक र सामाजिक बन्धनहरुको कथा यसले बताउँछ।’
‘लोकतान्त्रिक आन्दोलनका क्रममा म आफैं जेल बस्दा र ३० वर्ष वकालत गर्दा धेरै सेवाग्राही कैदी र तिनका आफन्तका कथाहरु सुनें । देखें । त्यसले पनि मलाई यो उपन्यास लेख्न प्रेरित गरेको हो,’ कार्कीको भनाइ छ ।
पूर्वप्रधानन्यायाधीश कार्कीले न्यायिक जिम्मेवारीमा छँदा देखे–भोगेका महिलाका पिडा पनि उपन्यासमा प्रतिविम्बित भएको पाइन्छ ।
एकवर्षअघि कार्कीको आत्मकथा ‘न्याय’ प्रकाशित भएको थियो ।
‘कारा’ लाई किताब पब्लिसर्सले प्रकाशन गरेको हो ।
‘हामीले यो उपन्यासमार्फत् सुशीला कार्कीको फरक व्यक्तित्वलाई सार्वजनिक गर्ने अवसर पाएका छौं । यसले पाठकहरुलाई फरक स्वाद दिने अपेक्षा छ,’ किताब पब्लिसर्सकी प्रमुख कार्यकारी अधिकृत कल्पना ढकाल भन्छिन् ।