संघर्षको तीन वर्षमै स्वर्ण
तह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) कुस्ती खेलमा स्वर्ण पदक विजेता भीमदत्तनगरकी सङ्गीता धामीको चर्चा शिखरमा चुलिएको छ ।
उनले नेपाली कुस्ती खेलको इतिहासमा पहिलो पटक जारी सागमा नेपाललाई स्वर्ण दिलाएकी थिइन् । अहिले उनको गृहनगर खुशियालीले रमाएको छ ।
जनकपुरमा गत शनिबार सम्पन्न ५५ किलो तौल समूहतर्फ उनले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गर्दै नेपाललाई महिलातर्फको कुस्ती खेलमा स्वर्ण पदक दिलाइन् ।
“धामीको मेहनत, परिश्रम र नियमित प्रशिक्षणले नेपाललाई सफलता हात लागेको हो” प्रशिक्षक राजेन्द्र चन्दले भने ।
तीन वर्षअघि हटौँडामा भएको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट उहाँले कुस्तीमा स्पर्धा थाल्नुभएको थियो ।
“तीन वर्षअघि भीमदत्तनगर छेउछाउका स्कूलहरुमा खेलाडी खोज्दै हिँडेका बेला सङ्गीतालाई यहाँको भृकुटीबाट खेलमा ल्याएको हुँ” प्रशिक्षक चन्दले भने, “सङ्गीताको स्वर्णले सबैलाई खुशियाली दिलाएको छ ।”
यसअघि बृहत् आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा पनि संगीताले स्वर्ण पदक हात पारेकी थिइन् ।
संगीताले प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेकी छन् ।
बाह्राँै सागदेखि मात्र महिला कुस्तीलाई प्रतियोगितामा समावेश गरिएको थियो । “बाह्रौँ सागमा पनि सुदूरपश्चिमबाट तीन जना महिला खेलाडीले भाग लिएका थिए” प्रशिक्षक चन्दले भने, “अहिले यहाँबाट सहभागी अधिकांश महिला खेलाडीले नेपाललाई पदक दिलाएका छन् ।”
भीमदत्तनगरका शिवाङ्गी दुबे, अम्बिका भण्डारी र मनिषा सिंह र कोमल खत्रीले पनि पदक प्राप्त गर्न सफल भएका छन् ।
“महिलातर्फ सात जनामा छ जना भीमदत्तनगरकै खेलाडी पर्न सफल भएका थिए” चन्दले भने, “यो ठूलो उपलब्धिको विषय हो ।”
पुरुषतर्फ कुस्तीको ७० किलोतौल समूहमा कास्य पदक भीमदत्तनगरका सुरेश चुनाराले दिलाएका थिए ।