मुना चौधरीको ‘दुलारी’ सार्वजनिक
मुना चौधरीको उपन्यास दुलारी शनिबार एक समारोहका बीच लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्व र विकासकी अध्येता प्रियंका कापरले सार्वजनिक गरेका छन् ।
चौधरीको यो दोस्रो उपन्यास हो । यसअघि उनको पौराणिक–ऐतिहासिक तथा मिथिला क्षेत्रका सांस्कृतिक, सामाजिक र राजनीतिक अवस्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित छ ।
उपन्यासबारे बोल्दै लेखक पाण्डे मधेश आफ्नो पनि लेखनको विषय भएता पनि चौधरीजति मिहिन ढंगले आफूले समेत लेख्न नसकेको बताए ।
लु र उलार कृतिका लेखक पाण्डेले मधेशी दलित महिलालाई केन्द्रमा राखेर लेखिएको दुलारी बाहेकको कृति अहिलेसम्म नपढेको बताए।
राष्ट्रिय गानले सयौं थुँगा फूलका माला नेपाली भनेर अनेकताभित्र एकताको महिमा मण्डन गरे पनि सीमान्तकृत समुदायका संघर्ष, कथा, व्यथालाई मुना चौधरीजस्ता लेखकले उजागर गर्ने गरेको बताए ।
अर्की वक्ता कापरले दुलारी उपन्यासले मुसहर समुदायका बारेमा पाठकलाई थप खोज्न बाध्य बनाउने उल्लेख गरिन् ।
छुवाछूत जस्ता सामाजिक कुरीति र अपराधलाई ठाडै गर्नहुन्न नभनी उपन्यासकी मूलपात्र दुलारीले गरेका प्रश्नले पाठकलाई झक्झकाउने विश्वास व्यक्त गरिन् ।
मानव सूचांकमा पुछारतिर रहेको मुसहर समुदायलाई यो उपन्यासले बहसको केन्द्रमा तान्ने उनले बताइन् ।
लेखक चौधरीले आफ्नो लेखन यात्राको बारेमा चर्चा गर्दै मुसहर समुदायको दुःख आफूले सानैदेखि देखेका हुनाले उनीहरुका कथा लेख्न सहज भएको सुनाइन् ।
आफै लेख्न नसकेका समुदायको कथा लेख्नु लेखकको जिम्मेवारी भएको उनको कथन थियो । २९० पृष्ठको उपन्यासको मूल्य रु ३९५ रहेको छ ।