गढीमाई बलिका मारक भन्छन्– माताको नाम लिएपछि मात्र आँट आउँछ (भिडियाे सहित)
बाराको खोपवा गाउँका रामभु पासवान गढीमाई मन्दिरमा ६ पटक मारकको रूपमा मार हानिसके ।
प्रत्येक पाँच\पाँच वर्षको फरकमा हुने गढीमाई मन्दिरको पूजामा उनले मारकको काम गर्दै आएका छन् । गढीमाईको दर्शन गर्न मात्र नभएर गढीमाईलाई प्रशन्न गर्न चढाइने पशुहरूको मार हान्न पनि आएको उनले बताए ।
“गढीमाईको ६ वटा मेलामा मारकको काम गरिसकेको छु, गढीमाईलाई खुस गराउने र धर्म कमाउने पनि विश्वास रहेको छ”, उनले बताए। गढीमाईलाई नजिकबाट दर्शन गर्न पाउनु ठूलो भाग्य रहेको उनले बताए ।
मार हान्न अनुमति पत्र चाहिने पनि पासवानले बताए, “गढीमाई मन्दिर पूजा समितिले नागरिकताको फोटोकपी र फारम भर्न दिएपछि मात्र लाइसेन्स् दिन्छ, अनि मात्र मार हान्ने काम गर्न पाइन्छ”, पासवानले बताए।
गढीमाई मन्दिरको पूजामा राँगाहरू मार हान्ने मारकहरूले दैनिक ज्याला पनि पाउने उनले बताए । एकदिन मार हाने वापत रु ६ हजार कमाउने गरेको उनले बताए ।
गढीमाई मन्दिरको पूजामा माईको नाममा चढाइएका पशुहरूलाई बलि दिन पाउनु धार्मिक काम भएको उनले बताए । रामभु पासवानले बलिको दिनमा ३५ देखि ४० वटा राँगाको मार हान्ने गरेको बताए ।
साना पाडादेखि ठूला राँगाहरू मार हान्नुपर्ने उनले बताए । “शुरुमा मार हान्दा हान्दै, छाती फुलेर सास फेर्न नै गाह्रो भयो,” पासवान बताउँछन्, “हातले हतियार समात्न नै नसकेपछि, पानी पिएर एक छिन आराम गरेको थिएँ ।” शुरुमा काट्नलाई गाह्रो भएपनि मार हान्दै जाँदा बानी पर्ने उनी बताउँछन् ।
गढीमाईको नाममा प्रत्येक वर्ष मार हानेर माईलाई खुसी बनाउन पाउनु खुसीको कुरा रहेको बताउँछन् अर्का मारक राम अवतार साह (५०) ।
खोपवा गाउँका साहले मार हान्ने काम शुरु गरेको पनि छैटौं पटक भएको बताए । लाइसेन्स् लिएको वर्षबाट नै उनले मारकको काम गरेको बताए ।
गढीमाईसँग गरेको भाकल पूरा भएपछि भक्तजनले खुसीसाथ ल्याएको बलिलाई गढीमाईको चरणमा पुर्याउन पाउँदा धर्म हुने उनले बताए ।
रामनारायण राम (३६) ले भने दुईवटा मेलामा मारकको काम गरेका छन्। खेती किसानीको काम गर्ने उनले लाइसेन्स् बनाएर मारकको काम पनि गरे । बिगतमा भएको दुई पटकको मेलामा उनले राँगाहरूको मार हानेका छन् ।
दिनमा ४० वटा राँगाको बलि दिएको अनुभव उनी सुनाउँछन् । “शुरुमा राँगालाई देख्दा मार हान्न मन लाग्दैन, चिड् चिड् पसिना आउँछ,” उनी बताउँछन्, “मन नलाग्ने पनि हुन्छ तर गढीमाई माताको नाम लिएर, मातालाई सम्झियो भने मार हानिन्छ ।”
कोही कोही मारकले २, ४ वटा राँगा काटेपछि काट्न नसकेर फर्कने गरेको उनी सुनाउँछन् । मार हान्नुभन्दा पहिले गढीमाई माताको पूजा गरी मातालाई सम्झिएर नै मार हान्न हिम्मत र शक्ति आउने उनी बताउँछन् ।
अघनु माझी (४०), ले यो वर्षको गढीमाईमा मारकको काम गर्न लागेको दोस्रो वर्ष भयो । यो भन्दा अगाडि भएको पूजामा उनले पहिलो पटक मारकको काम गर्दा आत्तिएको अनुभव सुनाए । “पहिलो पटक राँगाहरूको भीडले नै आत्मबल गिराएको थियो”, माझीले बताए।
शुरुमा ४ वटा जति साना पाडा काटेपछि गढीमाईको नाम जपेर राँगालाई मार हानेको उनी बताउँछन्, “गढीमाई माताको नाम लिएपछि आँट आउँछ र मन अत्तिदैंन ।” पहिलो दिन पाडा, राँगा काटिसके पछि दोस्रो दिन खसी, बोकाको मार हान्ने उनले बताए ।
गढीमाई मन्दिरको पूजामा चढाइएका पशुहरूको मार हाने वापत कमाउने पैसाले, परिवारलाई मेला घुमाउने, किनमेल गराउने र मेलामा पाइने मिठो पकवान खुवाउने उनी बताउँछन् । प्रत्येक पाँच वर्षमा दुई दिन मारकको काम गरेर कमाएको पैसाले परिवारको आवश्यकता, नयाँ लुगा लगायत विभिन्न सामग्री किनिदिने उनले बताए ।