गढीमाई मेलामा ६० लाखभन्दा बढी भक्तजन (फोटो फिचर\भिडियाे)
बाराको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको गढीमाई मेलामा नेपाल, भारत तथा सार्क राष्ट्र र दक्षिण एशियाबाट गरी करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन र पूजाअर्चना गरेका छन् ।
मन्दिरका मुख्य पूजारी मङ्गल चौधरीले करीब ६० लाख भन्दा बढी भक्तजनले मेला अवलोकन र पूजाअर्चना गरेको बताए ।
गढीमाई मेला लाग्ने स्थानसम्म आउने विभिन्न बाटो तथा सडकमा गाडी र पैदल हिँड्ने भक्तजनको ठूलो भीड रहेको थियो ।
भारतका विभिन्न सहर दिल्ली, मुम्बई, कोलकाता, हैदरावाद, पटना, मोतिहारी दरभङ्गा, सितामडी, बेतिया, रक्सौल लगायतबाट मेलामा सहभागी थिए ।
यसैगरी नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न ठाउँबाट मेला हेर्न र माईको दर्शन गर्न ठूलो संख्यामा मानिस आएका थिए । सार्क देशका बङ्गलादेश, पाकिस्तान तथा बर्माबाट पनि भक्तजन अवलोकन गर्न आएका थिए ।
यसैबीच सोमबार राति साढे १ः०० बजे तान्त्रिक विधिबाट पूजापाठ गरिएको थियो भने मंगलबार बिहान ७ः१५ बजेदेखि पशुबलि शुरु गरिएको थियो ।
करीब पाँच हजार भन्दा बढी राँगाको बलि दिइएको बताइएको छ । बोका बलि बुधबार बिहान दिइने पूजारी चौधरीले बताएका छन् ।