अपाङ्गताको अनुभूति गराउन मन्त्रीलाई 'ह्वीलचियर'
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गताको महशुस गर्न ह्वीलचियरमा बसेर नगर परिक्रमा गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएका छन् ।
विराटनगरमा मंगलबार अपाङ्ग महासंघले दिवसका अवसरमा निकालेको प्रभातफेरीमा मन्त्री घिमिरे परिक्रमा अवधिभर ह्वीलचियरमा बसेर सभास्थल पुगेका थिए । “अपाङ्गता भएका मानिसले कस्तो अनुभूति गर्छन् भनेर यसो गरिएको हो,” मन्त्री घिमिरेले भने, “अपाङ्गता भएकालाई सहयोग र सहानुभूतिको पनि आवश्यकता छ ।”
उनलाई सामाजिक कार्यकर्ता र मन्त्रीपत्नी विमला घिमिरेले ह्वील चियरमा डोर्याएका थिए । यसअघि मन्त्री घिमिरेको आँखामा पट्टी बाँधेर ह्वील चियरमा घुमाई आँखा नदेख्नेको पनि अनुभूति गराइने कार्यक्रम तय गरिएको थियो ।
केही सामाजिक कार्यकर्ता र कर्मचारीले भने आँखामा पट्टी बाँधेर सेतो लौरो टेक्दै परिक्रमा गरेका थिए ।
मूल आयोजक समारोह समितिका संयोजक समेत रहेका मन्त्री घिमिरे तोकेको समय भन्दा ७० मिनेट ढिलो कार्यक्रमस्थल पुगेका थिए।
त्यस बेलासम्म अपाङ्गता भएका व्यक्तिहरू मन्त्रालय अगाडिको सडकमा मन्त्रीलाई कुरेर बसे । उनले प्रदेश १ बाट अपाङ्गता उन्मूलनको प्रयास थालिएको जानकारी दिए ।
प्रदेशका २७ वटै स्थानीय तहबाट एकैसाथ कार्यक्रम सुचारुको तयारी भएको बताउँदै उनले चार वर्षभित्र सबै तहमा पु¥याइने दाबी गरे । गैरसरकारी संस्था र स्थानीय तहहरूको सहयोगमा अपाङ्गता उन्मूलन अभियान संचालन गरिने जानकारी दिंदै मन्त्री घिमिरेले अपाङ्गताको जन्मदर नै नियन्त्रण गरिने बताए ।
प्रदेश भित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न तालिम दिने बताउँदै उनले भने, “तालिमपछि रोजगारी र काम अनुसारको दाम दिलाइने छ ।” अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा सुधार आउन नसकेको मन्त्री घिमिरे बताउँछन् । दिवसका अवसरमा सबैखाले अपाङ्गता भएका व्यक्तिहरू प्रभातफेरीमा सहभागी थिए ।