कुल निर्यात रकमको ५ प्रतिशतसम्म नगद अनुदान पाइने
नेपालबाट विदेशी बजारमा वस्तु निर्यात गर्ने व्यवसायीले निर्यात अनुदान पाउने भएका छन् ।
यसअघि अनुदान दिँदा पनि निर्यात बढ्न नसकेको भन्ने आरोप खेपिरहेकै बेला सरकारले निर्यात अनुदान बढाउने नयाँ कार्यविधी लागू गरेको छ । गएको ६ पुसदेखि यता कार्यविधीले समावेश गरेका वस्तु निर्यात गर्ने व्यवसायीले अब निर्यात रकमको ५ प्रतिशतसम्म नगद अनुदान पाउनेछन् ।
लगातार आयात बढ्ने र निर्यात खुम्चिने अवस्थाले विदेशी मुद्राको ढुकुटी रित्तिदैँ गएपछि मन्त्री परिषद्ले ६ पुसमा निर्यात प्रोत्साहन गर्न भन्दै कार्यविधी बनाएको थियो । उक्त कार्यविधी कार्यान्वयनमा ल्याउन राष्ट्र ब्यांकले २८ माघमा परिपत्रमार्फत् बाणिज्य ब्यांकहरुलाई आग्रह गरेको
छ । अब जुन ब्यांकबाट निर्यातकर्ताले निर्यातको भुक्तानी पाउँछन्, त्यही ब्यांकले अनुदान रकम समेत उपलब्ध गराउने छ । ब्यांकले निर्यातकर्तालाई भुक्तानी गरेको पैसा भने राष्ट्र ब्यांकले तिर्ने कार्यविधीमा व्यवस्था गरिएको छ ।
“अब पुस ६ गतेपछि निर्यात भएका फाइलहरु निर्यातकर्ताले नगद अनुदानका लागि ब्यांकमा पठाउन सक्ने छन्,’ नेपाल राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले भने । नयाँ कार्यविधी कार्यान्वयनमा आएपछि नेपाली उत्पादनको निर्यात बढ्ने उनले दावी छ । “अहिले सरकारले औद्योगिक वस्तु र प्रशोधित उत्पादनको निर्यातलाई प्राथमिकता दिएको छ,” उनले थपे, ‘निर्यात अनुदान पनि पहिलेभन्दा आकर्षक भएकाले अब निर्यात बढ्ने आधार तयार भएको छ ।’
सरकारले यसअघि केही वस्तुमा २ प्रतिशत र केहीमा १ प्रतिशतमात्रै निर्यात अनुदान दिने व्यवस्था गरेको थियो । त्यसमा पनि लामो र झण्झटिलो प्रक्रियाका कारण निर्यात अनुदान व्यवस्था प्रभावकारी कार्यान्वयन नभएको भन्दै व्यवसायीहरुले गुनासो गर्ने गरेका थिए । अहिले ३ र ५ प्रतिशत निर्यात अनुदान दिने व्यवस्था गरिएको, प्रक्रियागत सहजता भएको र भन्सार विन्दूमा कडाइ गरिएकाले निर्यात वृद्धिमा सघाउ पु¥याउने सरकारी अधिकारीहरुको भनाइ छ ।
त्यसबाहेक नयाँ कार्यविधीले भारतमा वस्तुनिर्यात गर्ने निर्यातकर्तालाई पनि यस्तो अनुदान दिने व्यवस्था गरेको छ । यो व्यवस्थाले भने निर्यात बढ्नमा सहयोग पुग्ने व्यवसायीले बताएका छन् । कार्यविधी अनुसार, प्रतितपत्र (एलसी) मार्फत् सूचीकृत वस्तुको भारत निर्यात गरेमा अनुदान पाइने छ ।
कार्यविधीले प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला र छालाजन्य उत्पादन, हाते कागज, प्रशोधित जडीबुटी, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना, अल्लोका सामाग्री र मिनरल वाटर निर्यात गरेमा ५ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरेको छ । त्यस्तै बेसार, तरकारी, फूल, प्रशोधित मह, प्रशोधित अलैंची र प्रशोधित अदुवा पनि परिवत्र्य विदेशी मुद्रामा भारतबाहेकका तेस्रो मुलुक निर्यात गर्नेले ५ प्रतिशत नगद अनुदान पाउने छन् ।
त्यस्तै, स्वदेशमा उत्पादिन कपडा तथा तयारी पोसाक, गलैंचा र ऊनीका सामान, स्वदेशी जुट, सुन तथा चाँदीका गरगहना, अर्धप्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तु, धागो र तामाका भाँडाकुँडा तथा अन्य सामाग्री निर्यात गरेमा कुल निर्यात रकमको ३ प्रतिशत नगद अनुदान दिने व्यवस्था गरिएको छ ।
यो व्यवस्था अनुसार निर्यातकर्ताले वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेपछि आफूलै पैसा भुक्तानी पाएको ब्यांकमा नगद अनुदानका लागि निवेदन दिनुपर्ने छ । निवेदन दिएको सात दिनभित्र ब्यांकले निर्यातकर्ताको खातामा पैसा जम्मा गरिदिनुपर्ने छ । त्यसपछि ब्यांकले राष्ट्र ब्यांकसँग उक्त रकम शोधभर्ना गर्न आग्रह गर्नुपर्ने व्यवस्था कार्यविधीमा गरिएको छ ।
यो व्यवस्था कार्यान्वयनका लागि बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा अनुगमन समिति गठन हुने व्यवस्था गरिएको
छ । उक्त समितिमा अर्थ मन्त्रालय र बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव, भन्सार विभाग र उद्योग विभागका महानिर्देशक, नेपाल राष्ट्र ब्यांकको कार्यकारी निर्देशक, नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष र नेपाल उद्योग परिसंघको अध्यक्ष सहभागी हुने व्यवस्था
गरिएको छ ।