वादी युवाको संघर्षः काठमाडौँमा ज्यालादारी लम्कीमा प्रधानाध्यापक
कैलालीको लम्कीचुहा–३ बलचौरका राहुल बादी (२२) स्नातक पढ्ने खर्च जुटाउन २०७३ सालमा मजदुरी गरेर भारतबाट फर्किँदा गाउँमा विद्यालय खोल्ने तयारी हुँदै थियो । बादी बस्तीमा १२ उत्तीर्ण गर्ने उनी मात्र थिए ।
उनले पनि ठूलै दुखले मात्र पढ्न सकेका थिए । बाबुआमाले ज्याला मजदुरी गरेर जसोतसो १० कक्षासम्म पढाए पनि ११ भर्ना हुने पैसा थिएन । एसएलसीपछि ज्याला मजदुरी गर्न काठमाडौँतिर हिँडे । उनका मामाको छोरा काठमाडौँमा घर बनाउने ठेकेदार थिए ।
दाजुको पछि लागेर ललितपुरको ठैँब पुगे । त्यहाँ तीन महिना ज्यामी गरेपछि करिब ४० हजार रुपैयाँ बोकेर पढ्न फेरि गाउँ नै पुगे ।
११ कक्षाको परीक्षा दिएपछि १२ पढ्न फेरि पैसा भएन । जेठमा परीक्षा सकिनेवित्तिकै उनी फेरि काठमाडौँ हानिए । यसपटक उनले धुलिखेलमा काम पाए । काम भने उही थियो । असोजसम्म काम गर्दा करिब ३५ हजार भयो । दशैँ मान्न घर गएका उनले ६ महिना पढेर १२ कक्षाको परीक्षा दिए ।
उनी यसपटक भने मजदुरीका लागि भारतको बैंगलोर पुगे । त्यहाँ उनी रेस्टुरेन्टमा वेटर भए तर, पैसा जोहो गर्न सकेनन् । तीन महिनापछि घर फर्किंदा खल्ती रित्तै थियो ।
त्यही वेला १२ कक्षाको नतिजा आयो । उनी उत्तीर्ण भए । तर, पढ्नका लागि पैसा थिएन । त्यही वेला गाउँमा विद्यालय खोल्ने पहल सुरु भयो ।
विद्यालयमा हुने विभेद र गरिबीका कारण बालबालिकाले बीचमै पढाइ छाड्थे । बादी बालबालिकाले कक्षाकोठामा अगाडिको बेञ्चमा बस्न पाउँदैन थिए । गृहकार्य पनि जाँच हुँदैन थियो । शिक्षकले रुखो बोली बोल्थे । अन्य समुदायका बालबालिकाले अनाहक कुट्ने, विभेदजन्य शब्दले गाली गर्थे ।
आफ्नै बस्तीमा विद्यालय हुनुपर्ने ठानेर राहुलकै बाजे खडकबहादुर पनि अभियानमा लागेका थिए । गाउँमा नै आगमन बाल विकास केन्द्र खोलेपछि बाजेले प्रधानाध्यापक भएर काम गर्न आग्रह गरे । प्रध्यापक भएपछि स्नातक पढ्नकै लागि खर्च जुटाउन फेरि काठमाडौँ आउनु परेन ।
उनी अहिले व्यवस्थापन संकायतर्फ स्नातक तेस्रो वर्षमा अध्ययनरत छन् । बिहान साइकल चलाएर ६ किलोमिटर परको लम्की बहुमुखी क्याम्पस जान्छन् । तर, क्याम्पसमा पूरा समय बिताउन पाउँदैनन् । घरमा खाना खाएर १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ ।
विद्यालयमा प्ले ग्रुपदेखि १ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । विद्यालयलाई गैरसरकारी संस्था थ्रि एन्जल्सले सहयोग गरुन्जेल तलब नियमित थियो ।
सहयोग बन्द भएपछि त्यहाँ कार्यरत तीन शिक्षकले तलब नपाएकै ९ महीना भइसकेको छ तर, उनी निराश छैनन् । राहुल भन्छन्, “नियमित तलब नपाउँदा समस्या त हुन्छ नै तर, आफ्नो समुदायको निम्ति काम गर्न पाउँदा जसोतसो निर्वाह गरिएको छ ।”
यही विद्यालयलाई मावि तहसम्म चलाउने उनको सपना छ । आवासीय विद्यालय सञ्चालन भए मध्य र सुदूरपश्चिमका बादी बालबालिकाले सहज रुपमा पढ्न पाउने उनी बताउँछन् । त्यसका लागि लम्कीचुहा नगरपाकिलासँग समन्वय गरिरहेका छन् ।
भन्छन्, “गाउँका बालबालिका सबैलाई उच्च तहसम्म पढ्ने व्यवस्था मिलाउनू मेरो सपना हो ।”