राजवंशीले मनाए हुदुरधुरा जात्रा
झापा, मोरङ, सुनसरी बनाऔं सुन्दर पर्यटकीय नगरी भन्ने नाराका साथ कोच राजवंशीले ११ औं हुदुरधुरा जात्रा मनाएका छन् ।
राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रले मोरङले हरेक वर्ष १५ मंसीरमा राजवंशी समुदायका सांस्कृतिक कार्यक्रम गरेर कटहरीमा जात्रा मनाउँदै आएका छन् । राजवंशी समुदायका परम्परागत थानहरूलाई पर्यटकीय स्थल बनाउन माग गरिए पनि सरकारले बेवास्ता गर्दै आएको राजवंशी अगुवाहरू बताउँछन् ।
आफू २०६४ सालमा सभासद भएपछि पर्यटन विकास समितिहरू बनेको बताउँदै पूर्व गृहराज्यमन्त्री भिमराज राजवंशीले भने, “सूर्य पनि पूर्वबाट उदाउँछ तर पर्यटन विकास पूर्वमै हुँदैन ।” राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष समेत रहेका उनले आदिबासी, जनजातिको बाहुल्य रहेको प्रदेश १ मा पर्यटन विकासमा लाग्न आग्रह गरे ।
प्रदेशसभा सदस्य विद्यानन्द चौधरी राजवंशीले समुदायको संस्कृति संरक्षणका लागि प्रदेश सरकार र आफ्नो बजेटबाट सामुदायिक भवन बनाएको बताए ।
उनले राजवंशी महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिम दिने उद्देश्यले बजेट छुट्याइएको जानकारी दिए । जात्राका क्रममा राजवंशी समुदायले जातीय पहिरन लगाएर गाउँ परिक्रमा गरेका थिए ।
राजवंशीको सांस्कृतिक र धार्मिक रूपमा जोडिएका कदमाहाको राजा धनपाल थान, गोविन्दपुरको राजा सनवरिस, डाइनियाको भेरुवाथान, दादरबैरियाको रणकाली थान, डांगिहाटको धनपाल गढी, बुधनगरको राजा विराटको दरबार क्षेत्रको विकास गर्नु जरुरी रहेको राजवंशी अगुवाहरू बताउँछन् ।
विकास केन्द्रले झापाका किचकबध, बधा चौधरी थान, रंगीया थान र सुनसरीका विभिन्न ठाउँको विकासमा सरकारको ध्यान नगएको जनाएको छ ।
विराट पर्यटन विकास समिति मार्फत वार्षिक खर्च हुने एक करोडलाई बढाएर एक अर्ब बनाउनु पर्ने केन्द्रले सरकारसँग माग गरेको छ ।
यस क्षेत्रका आदिवासी, जनजाति, पछाडि पारिएका समुदायको विकास गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने अध्यक्ष भिमराज बताउँछन् । प्रकृतिका पुजारी भनेर आफूलाई चिनाउने नेपालको झापा, मोरङ र सुनसरीमा मात्रै रहेका कोच राजवंशी (कुछ बिहार राज्यका) समुदाय यस क्षेत्रका रैथाने हुन् ।
कुछ बिहार राज्य नेपाल, बिहार, आसाम, पश्चिम बंगाल, मेघालय, अरुणाचल, मनिपुर, त्रिपुरा, बंगलादेशमा विभाजन भएको इतिहास भएपनि एउटै राज्यबाट बाँडिएकाहरूमा परम्परागत भाषा, संस्कारमा भने भिन्नता पाइन्छ । नेपाल र भारतका राजवंशीको संस्कार र भाषामा पनि भिन्नता छ ।
कुछ बिहारबाट फैलिएका राजवंशीले स्थानीय परम्परालाई अँगाल्दा परम्परागत संस्कार लोप हुन लागेको राजवंशी अगुवा शुभराज राजवंशी बताउँछन् ।
कुछ राजवंशीलाई विराट क्षेत्रका राजवंशीले ‘बंगाली राजवंशी’ भन्ने गरेका छन् । कोच वंशले कुछ बिहारमा राज्य गरेको र उनीहरू राजाका वंशज भएकाले राजवंशी कहलिएका हुन् । हरेक क्षेत्रका राजवंशीले आफ्नो थरपनि फरक फरक लेख्ने गरेको पाइन्छ ।
कोच राजवंशी नेपालमा २ लाख भन्दा बढी र विश्वमा ३ करोड भन्दा बढीको संख्यामा रहेको बताइन्छ ।