तेह्रौं साग महिला भलिबलकाे सेमिफाइनलमा नेपाल श्रीलङ्कासँग भिड्ने
तेह्रौं दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को महिला भलिबलमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।
सेमिफाइनलमा नेपाल अब समूह ‘बी’को विजेता श्रीलङ्कासँग भिड्ने छ ।
शुक्रबार भएको खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेश भारतसँग ३–० ले पराजित भयो । पराजयसँगै बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।
भारतले बङ्गलादेशलाई २५–८, २५–११ र २५–९ अङ्कले हराएको हो । बङ्गलादेश लगातार दुई खेलमा पराजित भएको छ । बङ्गलादेश यसअघि बुधबार नेपालसँग ३–० ले हारेको थियो ।
नेपालले उक्त खेल २५–९, २५–९ र २५–११ अङ्कले जितेको थियो । नेपाल दोस्रो खेलमा बिहीबार भारतसँग २५–२६, १२–२५ र १६–२५ अङ्कले हारेको थियो ।
यसैबीच शुक्रबार भएको अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गरेको छ । उक्त खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ अङ्कले हराएको हो ।
समूह ‘बी’मा रहेको पाकिस्तानको महिला भलिबल टोली प्रतियोगिता खेल्न नआएपछि सो समूहमा रहेका श्रीलङ्का र माल्दिभ्स सेमिफाइनल प्रवेश गरेका हुन् ।