‘विश्वकप खेल्न यो स्तर र मिहिनेतले पुग्दैन’
घरेलु क्रिकेटको लथालिंग संरचना, नेपाल क्रिकेट संघ निलम्बनमा रहेको अवस्था, खेलाडी र प्रशिक्षकको मिहिनेतबाहेक अरू केही संरचना, पूर्वाधार र प्रोत्साहन नभएको अवस्थामा नेपाली क्रिकेट टोलीले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध उसकै मैदानमा खेलिएका वानडे र टी–२० अन्तर्राष्टिय श्रृंखला जितेर धेरैलाई चकित पार्यो ।
क्रिकेट स्वयम्मा सामूहिक खेल हो र जितमा टोलीका प्रत्येक सदस्यको योगदान हुन्छ । त्यति हुँदाहुँदै पनि युएईविरुद्धको टी–२० श्रृंखलामा पहिलो पटक राष्ट्रिय टिममा परेका फास्ट बलर अविनाश बोहरा ले झन् धेरै चकित पारे ।
राष्ट्रिय टिमबाट डेब्यू गरेको प्रतियोगितामै सर्वोत्कृष्ट खेलाडी घोषित भएका बोहराले टी–२० श्रृंखलाका तीन खेलमा सर्वाधिक ६ विकेट लिए । नेपालगञ्जबाट क्रिकेट करिअर शुरु गरेर नेपाली टिममा ‘लसिथ मलिंगा’ को उपमा पाएका सल्यान चाख्लीघाटका बोहरासँग हिमालखबरले गरेको कुराकानीः
प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदा कस्तो लाग्यो ?
शुरुमा त मलाई विश्वास लागेन । म त्यसरी छनोट हुन्छु जस्तो पनि लागेको थिएन । मेरो नाम घोषणा भएपछि नर्भस भएँ ।
अन्तिम खेलमा कप्तानले पाँचौं ओभरमा तपाईलाई बलिङमा ल्याएपछि खेलको रुपरेखा नै फेरियो, त्यस्तो के रणनीति थियो ?
मलाई त्यतिबेला पनि र पहिले पनि मुख्य प्रशिक्षक जगत सर, बलिङ कोच उमेश सर, कप्तान पारस दाइ लगायतले आफूलाई जस्तो राम्रो लाग्छ, त्यस्तै बल फाल भन्नु भो । मैले पनि दबाबरहित भएर बलिङ गरें । त्यसरी खेल्दा आफै राम्रो हुँदोरहेछ ।
तपाईले ‘गेम टर्न’ गरेको त्यो ओभरलाई कसरी सम्झनु हुन्छ ?
युएईले निकै राम्रो शुरुआत गरेको थियो । चार ओभरमा एक विकेट नोक्सानीमा ५१ रन बनाइसकेको थियो । क्रिजमा बायाँहाते व्याट्सम्यान (गुलाम शब्बर) थिए । उनैले सन्दीपलाई पहिलो ओभरमा २० रन हानेका थिए । बायाँहाते व्याट्सम्यानलाई आउट नगर्ने हो भने हाम्रो हातबाट गेम फुत्किन्छ भन्ने थाहा थियो । मेरो ओभरको पहिलो बलमा उनले दुई रन लिए । दोस्रो ओभरमा चौका हाने । तेस्रो बल भने डट भयो । त्यसपछिको बलमा भने मैले उनलाई बोल्ड गरें । उनलाई जसरी पनि आउट गर्नुपर्छ भन्नेमै म केन्द्रित थिएँ ।
बलिङमा आउँदा खेल जितिएला जस्तो लागेको थियो ?
त्यो खेल १० ओभरको थियो । हामीले पहिले व्याटिङ गरेर १०४ रन बनायौं । यो आफैंमा ठूलो स्कोर थियो । युएईलाई जितका लागि प्रतिओभर १०.५ रन चाहिन्थ्यो । उनीहरुले जित्नलाई ठूला शट खेल्नैपर्ने थियो । त्यसकारण हामीले सकेसम्म विकेट टू विकेट डट बल फाल्ने कोशिस गर्नुपर्छ, त्यसलाई खेल्ने क्रममा उनीहरुले विकेट आफैं दिन्छन् भन्ने हामीलाई राम्ररी थाहा थियो । हामीले त्यही गर्यौं र सफल पनि भयौं ।
डेब्यू प्रतियोगितामै शानदार प्रदर्शन गर्नु भयो । यो प्रतियोगितामा यस्तो प्रदर्शनको कल्पना गर्नुभएको थियो ?
मलाई कोच, कप्तान र अरु दाइहरुले पनि आफ्नो नेचुरल बलिङ गर्नुपर्छ भनेर सम्झाइरहनुहुन्थ्यो । वानडे टिममा परे पनि खेल्ने अवसर मिलेन । मलाई टी–२० कै लागि टिममा पारिएको हो भन्ने लाग्थ्यो । त्यही भएर वानडे चलिरहँदा पनि मैले प्राक्टिस गर्न पाएँ ।
पहिलो खेलमा मैंले व्याट्सम्यानहरुलाई रिड गर्न पाएको थिइन । त्यही भएर त्यो खेलमा १ विकेट लिए पनि चार ओभरमा ३६ रन दिएँ । दोस्रो खेलमा भने २० रनमात्र लिएर ३ विकेट लिएँ । तेस्रो तथा अन्तिम खेलमा पनि २ विकेट लिएँ । राम्रो गर्न सक्छु भन्ने त लागेको थियो, तर सर्वोत्कृष्ट नै हुन्छु भन्ने सोचेको थिइन ।
यसभन्दा पहिले तपाईको सम्झनलायक प्रतियोगिता कुन थियो ?
मैले नेपालगञ्जको टिमबाट अण्डर १९ र सिनियर प्रतियोगिता पनि खेलें । पोखरा प्रिमियर लिगमा पनि खेलें । एकचोटी क्याम्पमा परेको थिएँ, तर भूकम्पले गर्दा त्यो क्याम्प नै स्थगित भयो । पछिल्लोपटक भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग खेल्ने क्रममा मैले सात विकेट लिएँ । सम्भवतः त्यही प्रतियोगिताले गर्दा मैले राष्ट्रिय टिममा पनि ठाउँ पाएँ ।
बलिङमा आफ्नो सबल पक्ष के हो जस्तो लाग्छ ?
मैले घरेलु प्रतियोगिता र यसपाली युएईमा पनि बढीजसो डेथ ओभर बलिङ गरें । टी–२० मा शुरुको ६ र अन्तिमको पाँच ओभरमै बढी रन बन्ने हुँदा खेल जित्न त्यसलाई रोक्नैपर्छ । मलाई लाग्छ, म डेथ ओभरमै राम्रो गर्न सक्छु ।
अबका योजना के छन् ?
धनगढी प्रिमियर लिग (डीपीएल) शुरु भएको छ । महेन्द्रनगर टिममा भएकाले म त्यसमै केन्द्रित भएको छु । यो प्रतियोगिता सकिएपछि हामी टी–२० विश्वकपको छनोटमा केन्द्रित हुनेछौं । तर, अहिले हामी जुन स्तरमा छौं र जस्तो मिहिनेत गरिरहेका छौं, विश्वकपमा पुग्न यो स्तर र मिहिनेतले पुग्दैन । यसलाई बढाउनैपर्छ ।
प्रस्तुतिः रामेश्वर बोहरा