छोरा जुनैदलाई बलिउडमा भित्र्याउने तयारीमा आमिर खान
बलिउडमा स्टारका सन्तानहरू बाबु-आमाको पदचिह्न पछ्याउँदै हिँडेको पाइन्छ। त्यसमध्ये कतिले अभिनयमा करिअर बनाउँछन् भने कतिपय फिल्म निर्माणमा आफूलाई अब्बल सावित गर्छन्। यसै क्रममा आमिर खानका छोरा जुनैदले बलिउडमा कदम राख्ने तयारी गरेका छन्।
सुपरस्टारका छोरा भएर पनि जुनैद चर्चादेखि टाढै बस्दै आएका छन्। उनी आमिरकी पहिलो पत्नीबाट जन्मिएका हुन्। आफ्नो सर्ट फिल्म 'रूबरू रोशनी' को प्रचार-प्रसारका क्रममा सञ्चारमाध्यमसँग कुराकानी गर्दै आमिरले छोरा जुनैदको भविष्यको योजनाबारे बताएका थिए। कार्यक्रममा आमिरसँगै देखिएका जुनैद बलिउडमा कुन रूपमा प्रवेश गर्दैछन् भन्ने प्रश्न आयो। जवाफमा आमिरले छोरा अभिनेता बन्ने भन्दै उसका लागि आफू राम्रो कथाको खोजीमा रहेको बताए।
आमिरले अभिनयको दुनियाँमा आउन छोराले आफूलाई सावित गर्नुपर्ने भन्दै स्टारको सन्तान हुँदैमा यत्तिकै छुट नपाउने संकेत गरे। उनले भने, ''हामी जुनैदका लागि राम्रो स्क्रिप्टको खोजीमा छौं। मैले उसको अभिनय हेरेको छु र त्यसप्रति खुशी पनि छु। म स्क्रिन टेस्टमा विश्वास गर्छु, गजब कथा भेटिएपछि हामी उसको स्क्रिन टेस्ट लिनेछौं। त्यसमा ऊ पास हुनुपर्नेछ। यदि टेस्टमा पास भएन भने उसलाई फिल्ममा लिइने छैन।"
आमिरले जुनैदलाई अभिनय सिकाइएको र कैयौं नाटकमा पनि काम गरेको जानकारी गराए। उनले भने, “कलाकारका रूपमा उसले दुई वर्ष तालिम लिएको छ। यसका साथै लसएन्जल्समा एक वर्ष अमेरिकन एकेडेमी अफ ड्रामाटिक आर्ट्समा काम गरेको छ।"
आमिर पछिल्लो समय आफ्नो महत्वाकांक्षी प्रोजेक्ट 'महाभारत' मा व्यस्त छन्। उक्त वेब सिरिजमा आमिरले भगवान कृष्णको भूमिका निर्वाह गर्ने तय भएको छ। एजेन्सी