नेपालको निर्यात लागत दक्षिण एशियाकै महँगो
लागत र समय दुबै बढी लाग्ने भएकाले दक्षिण एशियामा नेपालको निर्यात क्षमता कमजोर भइरहेको व्यवसायीहरूको भनाइ छ।
नेपालबाट वस्तु निर्यात गर्दा लाग्ने परिवहन लागत दक्षिण एशियामै महँगो रहेका कारण निर्यात बढ्न नसकेको उनीहरूले बताए। अन्तर्राष्ट्रिय भन्सार दिवसको अघिल्लो दिन ११ माघमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भन्सार विभागले आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले भने, “नेपालको निर्यातमा प्रतिकण्टेनर लागत २५४५ अमेरिकी डलर पर्छ, जुन अफगानिस्तानलाई छाडेर दक्षिण एशियामै सबैभन्दा महँगो हो।”
यो विश्व ब्यांकले प्रकाशन गरेको सन् २०१४ को तथ्यांक हो। उक्त तथ्यांकअनुसार भुटानको यस्तो लागत २२३०, माल्दिभ्सको १६२५, भारतको १३३१, बंगलादेशको १२८१, चीनको ८२३, पाकिस्तानको ७६५ र श्रीलंकाको ५६० अमेरिकी डलर मात्रै छ।
यस्तै, समयको हिसाबमा पनि नेपालबाट निर्यात गर्न निकै बढी लाग्ने उपाध्यक्ष ढकालले बताए। उनले विश्व ब्यांककै तथ्यांकका आधारमा दक्षिण एशियाली मुलुकमा नेपालबाट निर्यात गर्न सर्वाधिक समय र कागजात आवश्यक हुने भएकाले पनि निर्यात प्रतिस्पर्धी हुन नसकेको बताए।
नेपालबाट वस्तु निर्यात गर्न औसत ४० दिन लाग्ने गरेको र त्यही काम श्रीलंकामा १६ दिन, भारतमा १७ दिन र पाकिस्तानमा २० दिनमा गर्न सकिने उनले बताए। निर्यात बढ्न नसकेर अर्थतन्त्रमा ८५ अर्बभन्दा धेरै शोधनान्तर घाटा भइसकेको अवस्थामा व्यवसायीहरूले गैरभन्सार अवरोध हटाउने काममा सरकारले उल्लेख्य सुधार गर्न नसकेको ढकालले बताए।
भन्सार विभागले भने ४३ वटा सरकारी निकाय भन्सारसँग सम्बन्धित हुने भएकाले अन्तरसरकारी समन्वयलाई प्रभावकारी बनाउने काममा लागिरहेको बताएको छ। विभागका महानिर्देशक तोयम रायले भने, “हामी अब सबै विभागका महानिर्देशकको समन्वय समिति बनाएर काम गर्ने योजनामा छौं।”
त्यस्तो समन्वय समितिले भन्सार जाँचपासको प्रक्रियामा सहजता ल्याउने उनले बताए। “हामीले भन्सार विभागलाई पूर्णतया विद्युतीय प्रणालीमा लगिसकेका छौं, अब अन्य निकायसँगको समन्वय बढाएर वैदेशिक व्यापारका लागि खर्च हुने समय घटाउन काम गरिरहेका छौं,” उनले भने।
चालु आर्थिक वर्षको पहिलो ५ महीनामा नेपालमा वस्तु आयात ३४ प्रतिशत बढेकामा निर्यात ११ प्रतिशत मात्रै वृद्धि भएको छ। त्यसमा पनि चीनतर्फको निर्यात अघिल्लो वर्षको तुलनामा झण्डै ३१ प्रतिशत घटेको छ।