राष्ट्र ब्यांकले ५ प्रतिशतभन्दा कम व्याजमा ब्यांकलाई सापटी नदिने
नेपाल राष्ट्र ब्यांकले अबदेखि ५ प्रतिशतभन्दा कम व्याजमा ब्यांक तथा वित्तीय संस्थालाई पैसा सापटी (रिपो) नदिने भएको छ। राष्ट्र ब्यांकले रिपोका लागि ५ प्रतिशत वा त्यसभन्दा कम व्याजदर प्रस्ताव गरिएका बोलकबोल खारेजी गर्ने निर्णय गरेको हो।
ब्यांकमा भुक्तानी दिने पैसा अभाव भयो भने राष्ट्र ब्यांकबाट अल्पकालीन सापटी लिने गर्छन्। त्यस्तो सापटीलाई रिपो भनिन्छ। वित्तीय प्रणालीमा पैसा अभाव हुँदा राष्ट्र ब्यांकले निश्चित रकम रिपोमार्फत बजारमा प्रवाह गर्छ। यसअघि ब्यांकहरूले १-२ प्रतिशत व्याजमै राष्ट्र ब्यांकबाट यस्तो पैसा लिने गरेका थिए। कम व्याजदरमा राष्ट्र ब्यांकबाट सापटी लिएर महँगो व्याजदरमा अन्त लगानी गर्न थालेपछि केन्द्रीय ब्यांकले यस्तो नीति लिइएको बताएको छ।
नयाँ नीतिले राष्ट्र ब्यांकको नाफा बढाउने र वित्तीय क्षेत्रमा खुला बजार कारोबारलाई पनि व्यवस्थित गर्ने नेपाल राष्ट्र ब्यांकका कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन्। “यसअघि ब्यांक तथा वित्तीय संस्थाले १-२ प्रतिशतमा राष्ट्र ब्यांकसँग पैसा लिइरहेका थिए, अब ५ प्रतिशतभन्दा बढी तिर्नुपर्ने भएकाले उनीहरू निक्षेपमा बढी केन्द्रित हुन्छन्,” थापाले भने।
राष्ट्र ब्यांकले यसअघि व्याजदर करिडोर लागू गरेर रिपो दर ५ प्रतिशत कायम गरेको थियो। व्याजदर करिडोर बन्द गरिएपछि पुनः रिपोको व्याजदर घट्न थालेको थियो। राष्ट्र ब्यांकले महँगो व्याजदर मागेपछि बचत खाताको व्याजदर घटाउन ब्यांकहरूलाई अप्ठेरो पर्ने भएको छ।
त्यसो त, ब्यांक तथा वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता राष्ट्र ब्यांकलाई बेच्दा पनि साढे ३ प्रतिशतभन्दा बढी व्याज नपाउने भएका छन्। यसले पनि निक्षेपको व्याजदरलाई नघटाउन दबाब पुग्ने थापा बताउँछन्। नयाँ नीतिको कार्यान्वयन राष्ट्र ब्यांकले ९ माघबाट शुरु गरिसकेको छ।