मेकअप आर्टिस्टको सम्झना: अमिताभ बच्चनले ७ दिनसम्म मुख धोएनन्
फिल्ममा कलाकार चिरिच्याँट्ट सजिनु तथा चरित्रमा जीवन्त रूपमा प्रस्तुत हुनुका पछाडि विभिन्न व्यक्तिको हात हुन्छ। पर्दामा नदेखिए पनि फिल्म निर्माणमा महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरूलाई 'पर्दापछाडिको हिरो' पनि भनिन्छ। यस्तै, नदेखिने हिरो हुन्, फिल्मका मेकअप आर्टिस्ट। कलाकारलाई फिल्मको चरित्रअनुसार सिंगार्ने र चम्काउने काममा उनीहरू घण्टौं लागिपर्छन्।
बलिउडका यस्तै एक मेकअप आर्टिस्ट पन्ढरी जुकरले फिल्म उद्योगमा ६० वर्ष खर्चेका छन्। तीन दशक उनले मेकअपको काम गरे। श्यामश्वेत फिल्मबाट आफ्नो करिअर शुरु गरेका उनलाई बलिउडले पन्ढरी दादाको नामले चिन्छ। सन् १९४८ मा मेकअपको दुनियाँमा प्रवेश गरेका उनी अहिले ८७ वर्षका भए।
शुरुवातमा काम गर्दै सिक्दै अघि बढेका उनले रुसको मस्कोबाट मेकअप आर्टिस्टको डिप्लोमा हासिल गरेर औपचारिक ज्ञान लिएका थिए। 'चित्रलेखा', 'ताजमहल', 'शोले', 'मिस्टर इन्डिया', 'दिलवाले दुल्हनियाँ ले जाएंगे' लगायत ५०० भन्दा बढी फिल्ममा मेकअपबाट चरित्रहरूलाई नयाँ रङ दिने पन्ढरी दादाको हातले धेरै कलाकारलाई सिंगारेका छन्, जो समयक्रममा भारतीय सिनेमाको हस्ती सावित भए। तिनमा मीना कुमारी, मधुबाला, नूतन, दिलिप कुमार, राज कपूर, अशोक कुमार, देव आनन्द, राजेश खन्ना, सुनील दत्त, अमिताभ बच्चन, राज कुमार, शाहरुख खान, आमिर खान, करिना कपुर, विद्या बालन, माधुरी दीक्षितजस्ता कलाकार पर्छन्।
अमिताभ बच्चनसँगको स्मृति
पन्ढरीका अनुसार एउटा राम्रो मेकअप आर्टिस्टमा पेन्टिङको पनि ज्ञान हुनु जरुरी हुन्छ। आफू सक्रिय रहँदाको समय सम्झँदै उनी भन्छन्, "कुनै अभिनेतालाई चरित्रमा ढाल्नुअघि हामी त्यो चरित्रको स्केच बनाउँथ्यौं।" 'मिस्टर इन्डिया' मा मोगेम्बो वा 'शोले' मा गब्बरको चरित्र पहिले स्केच बनाएर उनले मेकअपको काम गरेका थिए।
फिल्महरूमा पन्ढरीको माग कस्तो थियो भने उनी वर्षको ३६५ दिन नै कलाकारको मेकअपमा व्यस्त रहन्थे। उनी सम्झन्छन्, "हरेक कलाकार मेरो हातबाटै आफ्नो मेकअप होस् भन्ने चाहन्थे। त्यसका लागि उनीहरू घण्टौं कुर्नसमेत तयार हुन्थे।"
त्यो समय काम गर्दाको कठिनाइ र कलाकारको समर्पणबारे पन्ढरीले अमिताभ बच्चनको उदाहरण प्रस्तुत गरेका छन्। अमिताभको डेब्यू फिल्म 'सात हिन्दुस्तानी' (सन् १९६९) को मेकअपको जिम्मा पन्ढरीले लिएका थिए। फिल्मको सुटिङ गोवामा भइरहेको थियो। पात्रको चरित्रअनुसार उनले अमिताभको अनुहारमा दाह्री टाँसिदिए। त्यही बेला विशेष कामले पन्ढरी ७ दिनका लागि मुम्बईस्थित घर जानुपर्ने भयो।
पन्ढरीले अमिताभलाई सोधे- "म केही दिन गोवामा हुन्नँ, अब तिमी के गर्छौ ?"
अमिताभले भने- "म यो मेकअपलाई सम्हालेर राख्छु।"
पन्ढरी सम्झन्छन्, "पूरै ७ दिन अमिताभले मुखमुनिको भागमा पानी हालेर नुहाएछन्। त्यत्तिका दिन मुखसमेत नधोई मैले दाह्री लगाइदिएको लुकमा उनले लगातार सुटिङ गरे।"
पन्ढरी ७ दिनपछि मुम्बईबाट सुटिङ स्पटमा पुग्दा अमिताभको अनुहारमा दाह्री दुरुस्तै थियो। अमिताभ त्यो मेकअप जोगाउन कसरी सुत्थे र कसरी खाना खान्थे भन्ने सोचेर आफू निकै हैरान भएको उनी बताउँछन्। त्यही बेला उनले अमिताभलाई भनेका थिए- "फिल्म क्षेत्रमा तिमी धेरै अगाडि जानेछौ। कामप्रतिको तिम्रो यो प्रेमले तिमीलाई एक दिन सुपरस्टार बनाउनेछ।" एजेन्सी