भविष्यमा अरू पुस्तक लेख्नेछु : मनीषा कोइराला
क्यान्सरविरुद्धको संघर्षबारे पुस्तक 'हिल्ड' लेखेकी अभिनेत्री मनीषा कोइरालाले भविष्यमा थप पुस्तक लेख्ने बताएकी छन्।
क्यान्सर भएर जीवन रित्तिएको अनूभूतिदेखि यसको सफल उपचारपछि नयाँ जीवन प्राप्तिसम्मको भोगाइ समेटिएको 'हिल्ड' पुस्तक प्रकाशनमा आएपछि मनीषा पछिल्लो समय चर्चामा छिन्। यो पुस्तक पाठकहरूले रुचाइरहेकामा आफू रोमाञ्चित र खुशी भएको उनले बताइन्। मुम्बईमा आइतवार आयोजित 'ऊर्जा अवार्ड्स २०१९' मा उनले पाठकहरूबाट पाएको मायाका लागि आभार प्रकटसमेत गरिन्।
मनीषाले भनिन्, "पुस्तक लेखनको यो मेरो पहिलो अनुभव हो। यसमा प्राप्त प्रतिक्रियाहरूले मलाई हौस्याएका छन्, भविष्यमा अरू पनि पुस्तक लेख्ने हुटहुटी बढेको छ।"
सन् १९९० को दशकमा बलिउडमा सफलता पाउँदै स्थापित भएकी मनीषाले करिअरको अधोगति, वैवाहिक असफलता र क्यान्सरले थलिएपछि केही समयको अन्तरालमा सन् २०१७ देखि फिल्म क्षेत्रमा पुनरागमन गरेकी थिइन्। सन् २०१८ मा 'लस्ट स्टोरिज' र 'सञ्जु' फिल्ममा उनी देखिएकी थिइन्। उनले भनिन्, "भगवानको कृपाले तपाईंहरूले मलाई अझै बढी फिल्ममा देख्नुहुनेछ।" एजेन्सी