नजिकिएको जुम्ला
लामो समयदेखि अभावग्रस्त र दुर्गम मानिएको जुम्ला सडक सञ्जालमा जोडिएपछि समृद्ध र सुगम बन्दै गएको छ ।
काठमाडौंमा अधिकांशले जुम्ला भन्दावित्तिकै गरीब, दुर्गम र अभावग्रस्त जिल्ला भन्ने बुझ्छन् । तर, कर्णाली राजमार्गले सुर्खेत हुँदै देशका अन्य भागसँग जुम्लालाई जोडेपछि यहाँको रुप फेरिँदो छ ।
एकताका ढुङ्गामाटो र काठले बनेका घरमात्रै देखिने जुम्ला सदरमुकाम खलंगामा अहिले स्टीलका झयालभएका आधुनिक घर, ब्यांक, एटीएम र डिर्पाटमेन्टल स्टोर मात्र नभई जिम क्लब समेत खुलिसकेको छ ।
“यहाँ यस्तो पसल पहिलो पटक मैले खोलेको हुँ”, डिजाइन गरिएका कपडा र ब्रान्डेड सामान बेचेर महिनाको २० लाख नाफा गर्ने रोयल फ्यान्सी कलेक्सनका दीपक विक्रम शाही भन्छन्, “जुम्लाका मानिसको किन्ने बानी र क्षमता फेरिँदै गएको छ ।”
ढुंगाको छानो भएका घर, मुढो ठड्याएर बनाइएको भर्याङ र ढुङ्गा छापिएका साँघुरा गल्ली हराउँदै गएकोमा कतिको गुनासो पनि हुनसक्ला तर, अधिकांश स्थानीय गत एक दशकमै रुप परिवर्तन गरेको जुम्लाप्रति गौरव महशुस गर्छन् ।
सदरमुकाममा खुलेको जिमखाना संभवतः कर्णाली अञ्चलकै पहिलो ‘फिटनेस सेन्टर’ हो, जसको सदस्य २०० जना भइसकेका छन् । यसका संचालक ३९ वर्षीय खगेन्द्र सिंह हुन् । एक दशकभन्दा बढी काठमाडौँमा जिमखाना चलाएर आफ्नै जिल्ला फर्केका उनी भन्छन्, “मलाई यहाँ फिटनेस प्रवृति स्थापित गर्नु थियो र त्यसमा सफल भएँ ।”
नौ वर्षदेखि निर्माणाधिन कर्णाली राजमार्गले जुम्लालाई सुर्खेत (२३२ किमी ) र काठमाडौँसँग (८५० किमी) जोडेको छ । दुई वर्षयता धमाधम कालोपत्रे हुँदैगरेको यो सडक साँघुरो र जोखिमपूर्ण भएपनि यसले जुम्लाबासीको जीवनमा परिवर्तन ल्याएको छ । बोटमै कुहिएर नासिने स्याउ लगायतका फलफूल र जडिबुटीले बजार पाएका छन् भने खाद्यन्न, औषधी लगायतका सामग्री सुलभ र सस्तो भएको छ ।
सुकाएको स्याउका चाना बेच्ने ५२ वर्षीया रुपा रोकाया अहिले सफल उद्यमी भएकी छन् । सडक नआएको भए यो सम्भव नहुने उनी बताउँछिन् । त्यस्तै, औषधिका लागि १५ दिन हिडेर नेपालगन्ज पुगेको सम्झिदै स्थानीय मणि न्यौपाने भन्छन, “यती चाँडै जुम्लामा गाडी–मोटर चल्छ जस्तो लागेकै थिएन ।”
अचेल जुम्लाबाट सुर्खेतका लागि दैनिक पाँचवटा र काठमाडौंका लागि दुईवटाबस छुट्छन् । सस्तो यातायात सेवाले जुम्ला विमानस्थल प्रभावित भएको छ । १० वर्षअघि स्तरोन्नति गरिएको यो विमानस्थलबाट नेपालगन्ज, सुर्खेत, सिमीकोट र पोखरा गरी दैनिक १५ विमान उड्थे, अहिले दैनिक तीन उडान मात्र ।
कर्णाली अञ्चल मानव विकास सूचांकको पुछार तिर भए पनि, सडक सञ्जालसँग जोडिएपछि आउने विकासको प्रमाण बनेको छ खलंगा । जुम्लाका छिमेकी डोल्पा र हुम्ला मात्र सडक सञ्जालमा नजोडिएका कर्णालीका जिल्ला हुन् । मणि न्यौपानेलाई जुम्लाको यो परिवर्तन सपनाजस्तै लाग्छ र उनी आफुलाई भाग्यमानी पनि भएको ठान्छन् ।
जुम्लाका २६ मध्ये २४ गाविसमा पुगेको कच्ची सडकले स्वास्थ्य र शिक्षामा आम मानिसको पहुँच बढाएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम पनि प्रभावकारी भइरहेको छ, जुन अब मेडिकल कलेज शुरु गर्ने तयारीमा छ ।
जुम्ला जिल्ला अस्पताल, कर्णाली टेक्निकल स्कुलका साथै जिल्लाका हेल्थपोष्टहरुको पनि स्तरोन्नति हुँदैछ । “खाद्य अभाव अब विगतको कुरा भयो,” जुम्लाका स्थानीय विकास अधिकारी हरि नारायण बेलबासे भन्छन्, “अब जिल्लाले आफ्नो ध्यान सामाजिक समस्यातर्फ केन्द्रित गरेको छ ।”
अहिले जुम्ला र वरपर १२ वर्षअघि माओवादीले गरेका दुई घातक आक्रमणको संकेत देखिंदैनन् जसमा प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, ३३ प्रहरी जवान र ५५ भन्दा बढी माओवादी लडाकु मारिएका थिए ।
र पनि, जुम्लामा अहिले जुन खालको विकास भएको छ, सबैलाई त्यो मन परेको छैन । माओवादी आक्रमणको अनुभव समेटेर ‘खलंगामा हमला’ पुस्तक, जसले मदन पुरस्कार पायो– लेखेकी राधा पौडेल ढुंगामाटोका घर विस्थापित हुनुलाई विकासको सूचक मान्दिनन् ।
स्वास्थ्यकर्मी समेत रहेकी पौडल भन्छिन्, “निरपेक्ष गरिबीको दर घटेको होला तर अहिले पनि धेरैका लागि स्वास्थ्य सेवा आकासको फल बराबर नै छ ।”
र पनि जुम्ला राम्रो सडक र हवाई यातायातका साथ पर्यटन वृद्धिको प्रतिक्षामा छ । सुविधासम्पन्न होटेलहरु बन्ने हो भने रारा तालको चार दिने हाइकका लागि जुम्ला बिसौनी बन्नसक्छ ।
कागमारा पासदेखि डोल्पो अनि फोक्सुन्डो ताल गजबको टे«किङ रुट बन्न सक्छ । ‘ग्रेट हिमालयन ट्रेल’मा पर्ने जुम्ला अपी र साइपाल हिमाल जाने जाने पैदल यात्रीहरुको बिसौनी बन्ने सम्भावना पनि उत्तिकै छ ।
हिमाली जुम्लालाई हिउँदमा ‘क्रस कन्ट्री स्कीइङ’ गन्तव्यका रुपमा पनि विकास गर्न सकिन्छ । पर्यटकका लागि होटेल र अन्य सुविधा हुने हो भने यहाँ डाउनहिल तथा क्रस कन्ट्री स्कीइङ दुबैको सम्भावना रहेको पर्यटन उद्यमी ललित जंग महत बताउँछन् ।
गर्मीमा यहाँ र्याफ्टिङ र प्याराग्लाइडिङको सम्भावना छ । प्रख्यात चन्दनाथ मन्दिर रहेको जुम्लामा धार्मिक पर्यटन प्रवद्र्धन र तातोपानी क्षेत्र सुधारेर आन्तरिक पर्यटकका लागि प्याकेज उपलब्ध गराउन सकिन्छ ।
तीनहजार मिटर उचाईमा अवस्थित यो उपत्यका धान उत्पादन हुने संसारको सबैभन्दा उच्च क्षेत्र हो । यहाँको मार्सी धानको चामल स्वाद र सुगन्धका लागि प्रख्यात छ ।
सबै तस्वीर: सृजना श्रेष्ठ